‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।

इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मङ्गलबार र बुधबार भएको विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो भने करिब ३ हजार जना घाइते भएका थिए ।

’पेजर’ र ’वाकी–टकी’ विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए भने कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देशमा आतङ्क निम्त्याएको थियो ।

“अन्तर्राष्ट्रिय मानवीय कानूनले स्पष्ट रूपमा बुबी–ट्र्याप उपकरणको प्रयोगलाई निषेध गर्दछ”, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपतकालीन सत्रमा सुरक्षा परिषदमा भन्नुभयो ।

“नागरिकहरूमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो”, उहाँले “स्वतन्त्र र पारदर्शी” अनुसन्धानका लागि आफ्नो आह्वान दोहोरÞ्याउँदै भन्नुभयो ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् र लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि बुबी–ट्र्याप जडान गरिएको बताएका छन् ।

हेजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ र विस्फोटको आफ्नै आन्तरिक अनुसन्धान सुरु गरेको छ।

सुरक्षा परिषद्मा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाको रुपमा व्याख्या गर्नुभएको छ ।

“इजरायलले यस आतङ्कवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानूनको आधारभूत सिद्धान्तको उल्लङ्घन गरेको छ”, उहाँले बताउनुभयो ।

इजरायलले उपकरण विस्फोटबारे कुनै टिप्पणी गरेको छैन ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार बेरुतमा इजरायली आक्रमणपछि लेबनान–इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसङ्घ चिन्तित रहेको बताउनुभयो ।

उहाँले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १ : ०६ बजे