सुनको मूल्यमा नयाँ कीर्तिमान

देशमा लगानीयोग्य पुँजीको अभाव बढ्दै; समाधान खोज्न छलफलमा सहकारीहरू 

काठमाडौं – लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेपछि समाधानको उपाय खोज्नका लागि सहकारीकर्मीहरू छलफलमा जुटेका छन् । मंगलबार ललितपुर सहकारी अभियानको आयोजनामा तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका विषयमा छलफल हुँदै छ । छलफलमा सहकारीको नियामक निकाय संघीय सहकारी विभागका साथै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून), राष्ट्रिय सहकारी बैंकलगायत निकायका उच्च अधिकारीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ । 

ललितपुरका जिल्लास्तरिय सहकारी संघ र प्रादेशिक सहकारी संघको संयुक्त आयोजनामा छलफल हुन लागेको हो । 

उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्सलगायतका कारण चालु आर्थिक वर्ष २०७८ /०७९ सुरु भएलगतै बजारमा तरलता अभाव भइरहेको छ । बैंक तथा वित्तीय संस्था हुँदै तरलताको अभावले सहकारी संघसंस्थाहरुलाई पनि समस्या पर्न थालेको छ । 

तरलता अभाव बढेसँगै सहकारीहरुले अत्यावश्यक अवस्थामा बाहेक कर्जा लगानी रोकेका छन् । सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघले मंसिर अन्तिम साता सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा १५ प्रतिशत तरलता राख्न र तरलता व्यवस्थापनका लागि योजना बनाउन आग्रह गरिसकेको छ । 

बैंकहरुमा तरलता अभाव कम गर्नका लागि नेपाल राष्ट्र बैंकले रिपो, एसएलएफलगायका मौद्रिक उपकरणबाट बजारमा रकम पठाउँदै आएको छ । तर, सहकारी संघसंस्थाहरू राष्ट्र बैंकको प्रत्यक्ष नियमनका नभएकाले यो सुविधा पाउँदैनन् । देशभर दर्ता भएको ३० हजार सहकारीहरुले सर्वसाधारणको १० खर्व निक्षेप परिचालन गरिरहेका छन् । 

​​​​​​​

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ०२ बजे