साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार जनगायक रामकृष्णलाई

काठमाडौं  । यस वर्षको  ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित हुने हुनुभएको छ । मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको यो पुरस्कार यस वर्ष दुवाललाई प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ  ।  १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने यो पुरस्कार दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पु¥याउनु भएको योगदान स्वरूप प्रदान गर्न लागिएको फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो । फाउन्डेसनले  आफ्नो २५ औँ स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा यो पुरस्कार प्रदान गर्ने जनाएको छ । फाउन्डेसनको रजत जयन्ती असोज ५ गते स्टाफ कलेज जाउलाखेलमा १ः ३० बजे मनाउने तयारी छ ।  

दुवालले ५ दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि जनताका हक अधिकार प्राप्तिका लागि संगितका माध्यमबाट जागरणको आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ । 

२०३६ सालको पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन होस वा २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापनाको लागि भएको जनआन्दोलनमा दुवालले गीत संगितको माध्यमबाट जनताको आवाजमा परिवर्तन र संघर्षको उत्प्रेरणा भर्ने काम गर्नुभएको थियो । दुवाल  एक संघर्षशील, प्रगतिशीलताको पक्षधर, अथक साधक, जनगायकको रूपमा निरन्तर क्रियाशील रहनुभएको छ । दुवालका यी नै कामका कारण गोरखा दक्षिणबाहु लगायत दर्जनौँ पुरस्कारबाट पुरस्कृत र अभिनन्दित हुनु भइसक्नुभएको छ ।

निरंकुशता विरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाको लागि जनआन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि भएको प्रत्येक जनसंघर्षमा दुवालको संलग्नता रहेकोले यो पुरस्कार यहाँलाई प्रदान गर्न लागिएको अध्यक्ष पाण्डेले बताउनुभयो । 

फाउण्डेशनको रजत जयन्ती समारोहमा फाउण्डेशनको २५ बर्षे इतिहासलाई प्रकाशनको माध्यमबाटसमेत  जानकारी गराउन खोजिएको पाण्डेले जानकारी दिनुभयो । फाउन्डेसनले रजत जयन्तीका अवशरमा ‘मिडियामा मदन भण्डारी’ नामक पुस्तकको  विमोचनसमेत गर्ने तयारी भइरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । ‘जवजः नविन विचारको निरन्तरता’ भन्ने मूल नाराका साथ फाउन्डेसनले रजत जयन्तीको भव्य तयारी गरिरहेको उहाँले बताउनुभयो ।   पत्रकार सम्मेलनमा फाउन्डेसनका सचिव सन्तोष रावल र सचिवालय सदस्य शुशिल प्याकुरेल संञ्चारकर्मीको जिज्ञासाको उत्तर दिनुभएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : २८ बजे