काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सह-अस्तित्व र आपसी सद्भाव एवं पारस्पारिक सहयोग नै सबै जात जाति, भाषा भाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको बताउनुभएको छ ।
संविधान दिवसको मूल समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले महिला, दलित, आदिवासी, जनजाति, थारू, मुसलमान, मधेशी, पहाडी हिमाली अल्पसंख्यक, उत्पीडित र सम्पूर्ण पिछडिएका वर्ग तथा क्षेत्रका नेपालीको सपना संविधानमा उल्लेख भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधानले प्रत्येक नागरिकलाई अधिकार दिलाएको तथा कर्तव्य र मर्यादा पनि सिकाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधानले नागरिकका मौलिक अधिकारलाई प्रत्याभूत गरेको र ती अधिकार कार्यान्वयनका लागि सरकारले आवश्यक नीति र कानुन तर्जुमा गर्न जोड दिएको बताउनुभयो ।
प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार ११ : ०७ बजे
प्रतिक्रिया