‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दरबारमार्गमा सवारी आवागमन बन्द

काठमाडौं । दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको जानकारी दिएको हो ।

कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिण गेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्दैछ । र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने मन्त्रिपरिषदबाट निर्णय नै भएको थियो ।

काठमाडौंमा नागरिकस्तरमा हुने भनिएको सांगीतिक कार्यक्रमलाई ‘नेशनल डे कन्सर्ट’ भनिएको छ । उक्त कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक–गायिका सहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् ।

उक्त कन्सर्टले नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्ने विश्वास छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो ।

त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । सदाझैं यस वर्ष पनि असोज २, ३ र ४ गते दीपावलीसहित विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउन गृह मन्त्रालयले मातहतका सरकारी कार्यालयहरुमा परिपत्र गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ८ : ३८ बजे