‘नेशनल डे कन्सर्ट’ सम्पन्न

लोकतन्त्रप्रति जनताको भरोसा जगाउन भूमिका खेल्नुहोस् : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “त्यतिमात्र होइन भुकम्प, कोरोनाजस्ता विपद्का बेला यी रेडियोहरूको भूमिका विपद्का साथीका रूपमा रहेको थियो, यसका लागि म तपाईंहरूलाई ह्रृदयदेखि धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।

नागरिकलाई सुसूचित गर्न तथा जनताको अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न सामुदायिक रेडियोको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको प्रयोगको तिब्र होडबाजीले तथ्यहिन र भ्रामक सूचना संप्रेषण हुनसक्ने अहिलेको चुनौतिको सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना संप्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोगको वातावरण बनाउन र प्राप्त लोकतन्त्रप्रति जनताको भरोसा जगाउन आगामी दिनमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले साक्षर मात्र होइन सञ्चारका अरु साधनको पहुँच नभएका निरक्षर जनताका लागि पनि रेडियो सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चार माध्यम हो भन्नुभयो । सामुदायिक रेडियो अभियानले विभिन्न भाषामा कार्यक्रम तथा समाचार प्रसारण गरिरहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ११ : ०५ बजे