‘नेशनल डे कन्सर्ट’ सम्पन्न

साङ्तावासी सञ्चार सुविधाबाट बञ्चित

म्याग्दी।मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ताका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । सञ्चार सुविधाको अभावमा कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको साङ्ताका बासिन्दालाई समस्या परेको हो ।

बारागुङ मुक्तिक्षेत्र–५ का वडा सदस्य छिरिङ पासाङ गुरुङले सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गरिएको बताउनुभयो । “साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा छैन”, उहाँले भन्नुभयो, “मोबाइलको टावर टिप्ने ठाउँमा पुग्न पैदलयात्राबाट दुई घण्टा र मोटरसाइकलमा ३० मिनेट लाग्छ ।”

सञ्चार सुविधा नहुँदा स्थानीयवासी, व्यापारी र पर्यटकलाई समस्या भएको छ । समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको साङ्तामा १३ परिवारको बसोबास छ । बारागुङ मुक्तिक्षेत्र–५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ । साङ्तालाई मुस्ताङको कान्छो गाउँका रुपमा चिनिन्छ । सबैभन्दा पछि पहिचान भएकाले साङ्तालाई कान्छो बस्ती भनिएको वडा सदस्य गुरुङले उल्लेख गर्नुभयो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले साङ्तामा मोबाइल सेवा विस्तारका लागि नेपाल टेलिकमसँग समन्वय गरेको बताउनुभयो । “केही वर्षअघिसम्म साङ्तामा भिस्याट प्रविधिको फोन थियो । टेलिकमले भिस्याट प्रविधि बन्द गरेपछि साङ्तामा सञ्चार सम्पर्क विच्छेद भएको हो”, उहाँले भन्नुभयो, “बिटिएस टावर स्थापना गरेर मोबाइल सेवा विस्तार गर्न टेलिकमसँग सहकार्य र समन्वय गरिरहेका छौँ ।”

अध्यक्ष गुरुङका अनुसार तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र गाउँपालिकाको करिब रु ४४ लाख लगानीमा हालै १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर विद्युतीकरण गरिएको छ । योसँगै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टिभी हेर्न, ल्यापटप चलाउन सहज भएको छ ।

स्थानीयबासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए । गाउँ नजिकैको डाँडामा सोलारको प्यानल राखिएको छ । सोलार प्यानल नजिकै घर बनाएर ब्याट्रीहरु भण्डारण गरेर राखिएको छ ।

“प्यानल र ब्याट्री भएको घरलाई तारको घेराबार बनाइएको छ । खम्बा गाडेर तारमार्फत घरघरमा विद्युत् आपूर्ति गरिएको छ । दश वर्षअघि सडक सुविधा पुुगेको साङ्तामा यसै वर्ष ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : ३१ बजे