‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोशी प्रदेशका ७८ सहकारी उच्च जोखिममा

उर्लाबारी। कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन ।

कार्यालयले प्रदेश कार्यक्षेत्र रहेका १०७७ वटा सहकारी मध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेका छन् । यस्तै मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी रहेका छन् । मोरङमा १९ वटा सहकारी उच्च जोखिममा रहेको देखिएको छ । मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा रहेका छन् । सुनसरीमा १५ वटा उच्च जोखिममा,४० वटा मध्यम जोखिममा र ३ वटा न्यून जोखिममा रहेका छन् ।

कोशी प्रदेश रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार रजिस्ट्रार कार्यालयले कोशी प्रदेशका १४ मध्ये भोजपुर बाहेक सबै जिल्लाका सहकारीको वित्तीय विश्लेषण गरेको थियो । उहाँका अनुसार झापाका १८४, मोरङका १६७ र सुनसरीका ५८ वटा सहकारीको विश्लेषण गरिएको हो । यस्तै इलामका १० वटा ,पाँचथरका नौ वटा,धनकुटा र तेह्रथुमका आठ÷आठ वटा सहकारीको वित्तीय विश्लेषण गरिएको हो । यसै गरी उदयपुर र सङ्खुवासभाका पाँच÷पाँच वटा,सोलुखुम्बुका तीन वटा,ओखलढुङ्गा र ताप्लेजुङका दुई दुई वटा र खोटाङको एउटा सहकारीको वित्तीय विश्लेषण गरिएको थियो ।

सहकारी डिभिजन कार्यालय विगठन भएपछि सहकारी विभागले एउटा स्थानीय तहमा मात्र कार्यक्षेत्र रहेका सहकारीलाई सोही पालिकाले अनुगमन, नियमन र निरीक्षण गर्ने कानुनी व्यवस्था गरेको थियो । त्यस्तै एक भन्दा धेरै पालिका कार्यक्षेत्र रहेका सहकारीलाई प्रदेश सरकारले र एक भन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएका सहकारीलाई विभागले अनुगमन गर्ने व्यवस्था गरेको थियो । सोही अनुसार कोशी प्रदेश कार्यक्षेत्र रहेका १०७७ मध्ये ४६२ वटा सहकारीको विश्लेषण गरिएको रजिस्ट्रार हरिबहादुर खत्रीले बताउनु भयो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ३५ बजे