एनपीएलको ट्रफी सार्वजनिक

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुँदै

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ । समितिका सभापति सूर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने भएका हुन् ।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । सुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।

समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग गरी ६३ वटा बैठक गरेको थियो । समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रूपमा काम गरिरहेका छन् ।


प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : ३२ बजे