साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एउटा फरक अदालत : जहाँ न्यायाधीश, अभियुक्त सक्कली थिएनन्

ललितपुर । आइतबार दिउसोको समय । अदालतको  एउटा अलगै इजलास ।  बादी र प्रतिवादी तर्फका अधिवक्ताहरू बहसका लागि तम्तयार अवस्थामा देखिन्छन् । कोही न्यायको पक्षमा त कोही निर्दोष नफसोस् भन्दै अधिवक्ताको बहस सुन्न र माननीय न्यायायधीसबाट न्याय हुने विश्वास सहित इजलास खचाखच देखिन्छ । 

सम्मानित अदालतमा तीनजना श्रीमान्हरुको आगमन हुन्छ । पुरै इजलास उहाँहरूको सम्मानमा उठ्छ ।इजलास अधिकृतले अदालतको कार्य प्रारम्भ गर्दै सरिता पाण्डेको जाहेरीले बादी नेपाल सरकार विरुद्ध रमेश न्यौपाने र शिरिष न्यौपाने भएको कर्तव्य ज्यान मुद्दामा अदालती कारबाही प्रारम्भ भएको जानकारी दिन्छन्। बादी तर्फको सरकारी वकिलले नेपाल सरकारको तर्फबाट २ जना जिल्ला सहन्यायधिवक्ताले बहसको सुरुवात गर्छन् । प्रतिवादी रमेश न्यौपाने र शिरिष न्यौपाने निर्दोष रहेको भनी प्रतिवादी तर्फका कानुन व्यवसायीलाई आफ्नो जिकिर पेस गर्न एक जना विद्वान अधिवक्ता रोष्ट्रम समक्ष उपस्थित हुन्छन्।

 एक जना विद्वान अधिवक्ताले विषयवस्तुको उठान सहित बहस गरिसके पश्चात् बाँकी रहेको जिकिर अर्को वरिष्ठ अधिवक्ताले राख्ने भन्दै आफ्नो स्थानमा गएर बस्छन्। मुद्दाको विधिशस्त्रिय दृष्टिकोण तथा फौजदारी न्यायको सिद्धान्त माथि केन्द्रीत रहेर वरिष्ठ अधिवक्ताले प्रतिवादी शिरिष न्यौपाने र रमेश न्यौपाने निर्दोष रहेको भन्ने दलिल प्रस्तुत गर्छन्।

तत्पश्चात् बादी नेपाल सरकारको तर्फबाट १ जना सरकारी वकिलले पुन बहस गर्छन्।

झट्ट हेर्दा अदालतको दैनिक जीवनमा देखिने यो कार्यविधिको दृश्य  कुनै वास्तविक अदालत भित्रको नभई अनेरास्ववियु केन्द्रीय कानुन तथा सङ्घीय मामिला विभागद्वारा आयोजना गरिएको “सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रीय अभ्यास अदालत प्रतियोगिता”को दृश्य हो।संविधान सभाका अध्यक्ष, वरिष्ठ अधिवक्ता, नेपाल ल क्याम्पसका फौजदारी कानुनका प्राध्यापक, बार एशोसिएसनका पूर्व महासचिव तथा नेकपा एमालेका तत्कालीन उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस को सन्दर्भ पारेर उक्त प्रतियोगिता आयोजना गरिएको हो ।भदौ २६ देखि भदौ २८ गतेसम्म ललितपुरको के।एम।सी कलेजमा सात वटै प्रदेशका विभिन्न कलेजबाट १५ वटा समूहका ६० जना विद्यार्थी सहभागी थिए ।

कार्यक्रमको निर्णायक श्रीमान् मानानीय न्यायाधीशको भूमिकामा महान्यायधिवक्ता एवम् सर्वोच्च अदालतको पूर्वन्यायधिश प्रा।डा। भरत बहादुर कार्की , वरिष्ठ अधिवक्ता एवम् फौजदारी कानूको विज्ञ श्री महेश नेपाल र वरिष्ठ अधिवक्ता एवम् संवैधानिक कानुनका विज्ञ टिकाराम भट्टराई हुनुहुन्थ्यो । बादी र प्रतिवादीको तर्फबाट अधिवक्ता र सरकारी अधिवक्ताको भूमिकामा रहनु हुने प्रतियोगीहरू कानुन विषय लिएर विभिन्न क्याम्पसमा अध्ययन गर्ने विद्यार्थिहरु थिए ।कर्तव्य ज्यानको उपरोक्त मुद्दाको पात्र, विषयवस्तु र बारदत स्थल सबै काल्पनिक थिए ।

विद्यार्थिहरुको बहस कला सुनेर तिनै जना विद्वानहरूले उनीहरूको राम्रो प्रस्तुति भएको साथै भविष्यको कानुनी न्याय क्षेत्रको उज्वल नक्षेत्रहरुको बहस सुन्न पाएकोमा खुसी व्यक्त गरे ।दुबै समूहको प्रस्तुति उत्कृष्ट रहेको भन्दै विजेता उपविजेताको लागी समापन समारोह कुर्नु पर्ने बताए ।

कार्यक्रमको उद्घाटन समारोहमा पूर्वकानुन मन्त्री संविधान सभा सदस्य अग्नि खरेलको उपस्थिति रहेको थियो भने समापन समारोहमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता मा। पृथ्वी सुब्बा गुरुङको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् प्रवक्ता गुरुङले विजेता घोषणा गर्दै ३ जना न्यायधिसहरु मध्ये २र१ को राय बमोजिम नेपाल ल क्याम्पस विजेता र ब्राईट भिजन कलेज विराटनगर उपविजेता भएको घोषणा गर्नुभयो ।प्रथम ,द्वितीय , उत्कृष्ट बहसनोट र उत्कृष्ट बहस कर्तालाई संचारमन्त्री गुरुङ लगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभएका थिए । 

 पुरस्कारमा प्रथम पुरस्कार वापत् रु, पचास हजार नगद,ट्रफि, मेडल प्रमाण पत्र र द्वितीय पुरस्कारमा रू पच्चिस हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र रहेको अनेरास्ववियु कानुन विभागका प्रमुख गोपाल नेपालले बताए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले उक्त कार्यक्रमलाई अनेरास्ववियुको नियमित कार्यक्रमको रूपमा लिएर जाने भन्दै कार्यक्रमको निरन्तरताको प्रतिवद्धता व्यक्त गरे ।  

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : ५५ बजे