सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ सम्म महोत्सव हुने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ । 

होटल व्यवसायी सङ्घ नवलपुरको आयोजनामा हुने सो महोत्सव  यही पुस ८ देखि १७ गतेसम्म जारी रहने छ ।  

सङ्घ अध्यक्ष सन्तोष रानाले महोत्सवमा नवलपुरमा रहेका जनजातिको खानाका साथै प्याराग्लाइडिङ, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी र नारायणी नदीमा डुङ्गा सफारी लगायतका कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो । 

कावासोती–८ स्थित खेल मैदानमा हुने महोत्सवमा प्रदर्शनी स्थल  निर्माण सुरु गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवमा करिब २०० प्रदर्शनी  कक्ष रहने छ । 

महोत्सवको तयारीसँगै स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार तथा माइकिङ गर्नेदेखि ब्यानर, स्वागत द्वार निर्माणसहितका काम अगाडि बढाइएको छ । 

यसैबीच महोत्सवमा आकर्षणका रूपमा प्याराग्लाइडिङ राखिने भएको छ । प्याराग्लाइडिङ गर्न इच्छुक व्यक्तिलाई कावासोतीको बालुवा डाँडामा लगेर प्याराग्लाइडिङ गराइनेछ । केही समय अगाडि सफल परीक्षण गरिएको प्याराग्लाइडिङ कावासोतीको बालुवा डाँडाबाट हात्ती खोरसम्म गराइनेछ । 

बालुवा डाँडाबाट गराइने प्याराग्लाइडिङमा एक जना व्यक्तिले करिब २५ मिनेट समय बिताउने बताइएको छ । दैनिक १० देखि ३५ वटासम्म फ्लाइट गर्न सकिने गरी तयारी भएको र त्यसका लागि पाँच जना पाइलटसमेत निश्चित गरिएको आयोजकले जनाएको छ । महोत्सवमा थप आकर्षणका रूपमा बाल उद्यानसहित विभिन्न सांस्कृतिक कार्यक्रम छन् ।

जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको खाना महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने आयोजक जनाएको छ । जनजातिको खाना तथा संस्कृति संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको अध्यक्ष रानाले बताउनुभयो । रासस

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ११ : १२ बजे