राज्यसत्ता कब्जा गर्नु प्रत्येक सामाजिक क्रान्तिको केन्द्रीय कार्यभार हो । प्रतिक्रियावादी वर्गले सामाजिक मूल्य, मान्यता, परम्परा, कानुन र शान्ति सुरक्षा तथा अमनचैनका खोक्रा शब्दावलीहरू प्रयोग गरेर आम जनतालाई धोका दिइरहेको बेला वास्तविक राज्यसत्ता कसको हातमा छ र कसले सञ्चालन गरिरहेको छ भन्ने निर्क्योल गर्नु सम्पूर्ण क्रान्तिकारी गतिविधिलाई निर्देशित गर्ने मुख्य कडी हुन्छ ।
राज्यसत्ता कब्जा नगरी राजनीतिक, आर्थिक,सामाजिक सांस्कृतिक कुनै पनि क्षेत्रमा वास्तविक सुधार गर्न र जनता र राष्ट्रका समस्याहरू क्रान्तिकारी ढङ्गले समाधान गर्न सकिन्न । यस कुरालाई ठिक ढङ्गले चिन्न नसक्दा वा चिनेर पनि बलियो गरी समाउन नसक्दा बितेका दिनमा हाम्रो क्रान्तिले धेरै धोखा पाएको छ । आफ्नै इतिहास र अनुभवबाट पनि शिक्षा लिन नसक्ने हो भने बारम्बार धोखा खान र पराजित हुनुबाहेक अर्को विकल्प बाँकी रहँदैन ।
प्रतिगामी पुरानो उत्पादन सम्बन्धलाई तोडेर प्रगतिशील नयाँ उत्पादन सम्बन्ध कायम गर्नु सामाजिक क्रान्तिको आधारभूत सारतत्व हो । यो काम जसरी घनिष्ठ र अभिन्न रूपमा राज्यसत्ताको विषयसँग गाँसिएको हुन्छ, त्यसरी नै उत्पादन सम्बन्ध फेर्नुभन्दा पहिले नै राज्यसत्ताको समस्या समाधान गरिसक्नु पनि अनिवार्य हुन्छ । यसरी क्रान्तिको सामान्य मूल लक्ष्य उत्पादन सम्बन्ध फेर्नु र त्यसका निम्ति पहिलो मूल काम राज्यसत्ता कब्जा गर्नु हो भन्ने कुरा प्रष्ट हुन्छ । क्रान्तिको सिङ्गो चरणभरि यिनै आधारभूत कुराहरूले क्रान्तिकारी पार्टीलाई निर्देशित गरिरहेका हुन्छन् ।
हामी नयाँ जनवादी व्यवस्था र राज्यसत्ताको पक्षमा छौँ । यो सर्वहारा वर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्व भएको राजनीतिक व्यवस्था हो । निरङ्कुश राजतन्त्र, सैनिक तानाशाही, साफीवाद वा संसदीय पुँजीवाद जुनसुकै प्रकारको भए पनि प्रतिक्रियावादी राज्यसत्ताको निषेध नगरी नयाँ जनवादी सत्ताको स्थापना हुन सक्दैन । यो सैद्धान्तिक मान्यताले नयाँ जनवादी क्रान्तिको चरणमा हाम्रा सबै क्रान्तिकारी चिन्तन तथा कार्यहरूलाई सामान्य रूपमा दिशा दिने र निर्देशन गर्ने काम गरिरहेको छ ।
क्रान्ति पूरा नभएसम्म सामान्य मूल लक्ष्य, सामान्य मूल काम र आधारभूत शत्रु तथा मित्रहरू उनै भए पनि प्रत्येक विशिष्ट स्थितिमा मुख्य शत्रु र त्यसको आधारमा मित्र शक्तिमा समेत आउने फेरबदलअनुसार क्रान्तिका विशिष्ट लक्ष्य र कामहरू निर्धारित हुन्छन् । राजसत्ताको कुनै निश्चित एउटा स्वरूप हुन्छ र त्यसलाई सञ्चालन गर्ने पनि कुनै निश्चित शक्ति हुन्छ ।
यसलाई ध्यानमा राखेर क्रान्तिको लक्ष्यलाई विशिष्ट रूपमा निर्धारण गरिन्छ, ठोस रूपमा मूल काम तोकिन्छ र प्रहारको निशाना निश्चित गरिन्छ । पार्टीको मूल नारा वा केन्द्रीय नारा भनेको यही विशिष्ट लक्ष्य, मूल काम र प्रहारको निशानालाई संक्षिप्त रूपमा स्पष्ट पार्ने राजनीतिक नारा हो । यी कुराहरूले पार्टीको केन्द्रीय मूल नारा सामाजिक क्रान्तिको समयमा सधैँभरि क्रान्तिकारी नै हुन्छ र हुनुपर्छ भन्ने कुरा प्रष्ट पार्छन् ।
‘प्रतिक्रियावादी सत्तालाई ध्वस्त गरौँ र नयाँ जनवादी राज्यव्यवस्थाको निर्माण गरौँ !’ भन्ने नारा हाम्रो पार्टीको सामान्य नारा हो । यसले पार्टीको सामान्य कार्यदिशा के हो भन्ने कुरा प्रष्ट पार्छ र सबै कामहरूलाई सामान्य रूपमा मार्गदर्शन गर्छ । हामी कुनै पनि प्रतिक्रियावादी व्यवस्थालाई अस्वीकार गर्छौँ र वर्तमान नेपाली क्रान्तिका आधारभूत शत्रुहरूलाई पूर्णरुपमा समाप्त पार्न चाहन्छौँ भन्ने कुरा प्रष्ट पार्छ । नयाँ जनवादी क्रान्तिको सिङ्गो चरणभरिको रणनीतिक योजनालाई यही नाराले निर्देशित गर्दछ । नयाँ जनवादी क्रान्तिमा विभिन्न वर्ग र सामाजिक तहहरूको के भूमिका रहनेछ भन्ने निष्कर्ष पनि यसैबाट निकालिन्छ ।
देशको वर्तमान विशिष्ट परिस्थितिमा पञ्चायतका शब्दजाल र प्रपञ्चहरूका बाबजुद यथार्थमा विद्यमान राज्यसत्ता जमिन्दारवर्ग र दलाल नोकरशाही पुँजीपति वर्गको हातमा छ । त्यसको स्वरूप निरङ्कुश नोकरशाही राजतन्त्रात्मक छ र सञ्चालन शाही राजपरिवारले गरिरहेको छ ।
यस्तो विशिष्ट स्थिति भएको हुनाले निरङ्कुश राजतन्त्रलाई उन्मूलन गरेर जनवादी गणतन्त्र कायम गर्नुपर्छ र सामन्त वर्ग र दलाल नोकरशाही पुँजीपति वर्गलाई ध्वस्त पारी वैदेशिक एकाधिकार पुँजीवाद र साम्राज्यवादको शोषण उत्पीडन समाप्त पार्नुपर्छ भन्ने निर्क्योल र नाराले अहिलेको विशिष्ट स्थितिमा हाम्रो सम्पूर्ण कार्यनीतिक क्रियाकलापलाई बाटो देखाइरहेको छ । यसैले ठोस रूपमा निर्देशन गरेको छ ।
आज प्रतिक्रियावादी सत्तालाई ध्वस्त गरी नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्नुपर्ने क्रान्तिकारी अभिभारालाई हामी राजतन्त्रलाई अन्त्य गरी जनवादी गणतन्त्र कायम गर्ने ठोस व्यवहारमा जुट्दै त्यसको अन्त्यपछि पनि अरू कुनै खाले प्रतिक्रियावादी व्यवस्थाले ठाउँ लिन नपाओस् भन्ने कुरालाई पनि राजनीतिक रूपमा यथासम्भव सुनिश्चित पार्न चाहन्छौँ ।
यसरी ‘निरङ्कुश राजतन्त्रको अन्त्य गरौँ र जनवादी गणतन्त्रको स्थापना गरौँ !’ भन्ने पार्टीको विशिष्ट केन्द्रीय नारा निर्धारित भएको छ ।’ यसले पार्टीको विशिष्ट कार्यदिशा र वर्तमान स्थितिका सम्पूर्ण व्यवहारिक कामहरूलाई मार्गदर्शन गरिरहेको छ। आजको क्रान्तिकारी राजनीतिको ठोस स्वरूप के हो र प्रहारको मुख्य निशाना कुन हो भन्ने कुरा प्रष्ट पारेको छ । यही नै आजको विशिष्ट केन्द्रीय र प्रमुख राजनीतिक नारा भएको हुनाले हाम्रा वर्तमान सम्पूर्ण कार्यनीतिक योजना र नीतिहरू तथा चिन्तन र कामहरू यही मूल कार्यनीतिको आधारमा निर्माण गर्नु र ठोस रूपमा केन्द्रित गर्नुपर्छ ।
पार्टीको सामान्य नाराले नयाँ जनवादी क्रान्तिको सिङ्गो चरणभरिका रणनीतिक योजनालाई प्रभावित र निर्देशित गर्छ, राजतन्त्र विरोधी जनक्रान्तिको परिणामलाई नयाँ जनवादसँग शत्रुता राख्ने अर्को कनै पनि वर्गीय वा राष्ट्रिय शत्रुले उछिट्ट्याउन नपाओस् र नयाँ जनवादको यथासम्भव ग्यारेन्टी होस् भन्ने कुरामा ध्यान दिन्छ । पार्टीको विशिष्ट केन्द्रीय राजनीतिक नाराले वर्तमान विशिष्ट स्थितिको प्रमुख शत्रु राजतन्त्र र उसको निर्दलीय पञ्चायती व्यवस्थालाई उन्मुलन गर्न र जनवादी गणतन्त्रको स्थापना गर्नका निम्ति आवश्यक पर्ने, पार्टीले हाल गरिरहेको वा गर्नुपर्ने प्रचार, सङ्गठन र सङ्घर्षका सबै रूप तरिका र कामहरूलाई तथा कार्ययोजनाहरुलाई प्रभावित र निर्देशित गर्छ ।
राजतन्त्रका विरुद्ध वर्गीय मित्रहरू मात्र होइन, राजनीतिक मित्रहरूसमेत खोज्ने, तिनीहरूलाई एकताबद्ध पार्ने र संयुक्त रूपमा सङ्घर्ष गर्ने कुरालाई निर्देशित गर्छ । पार्टीको सामान्य नारा नहुने हो भने राजतन्त्रको अन्त्य गर्नु नै हाम्रो वर्तमान क्रान्तिको परिणामलाई नयाँ जनवादी बनाउने पक्षमा जोड शिथिल हुनसक्छ ।
यसो गर्नु रणनीतिक रूपमा एउटा गम्भीर गल्ती हुन्छ । अर्कोतिर विशिष्ट केन्द्रीय राजनीतिक नारा नहुने हो भने राजतन्त्रको अन्त्यपछि नयाँ जनवाद आउने पूर्ण ग्यारेन्टी नहुन्जेल राजतन्त्रलाई अन्त्य गर्ने आन्दोलन सञ्चालन गर्नुहुँदैन भन्ने भ्रम पर्न सक्छ र अहिलेका सम्पूर्ण पार्टी क्रियाकलापहरू पथ भ्रष्ट हुने तथा दिशाविहीन नभई गति र लक्ष्यविहीन प्रहारको अवस्थामा पुग्ने खतरा उत्पन्न हुन्छ । यसो गर्नु पनि एउटा उत्तिकै गम्भीर गल्ती हुन्छ । कुनै कुरालाई सामान्य र विशेषमा विभाजित गर्नुको तात्पर्य त्यो सामान्यका एकभन्दा बढी विशेष रूप हुन्छन् भन्ने स्वीकार गर्नु हो ।
त्यसकारण कुनै निश्चित विशिष्ट रूप समाधान भए पनि त्यसको ठाउँ लिन अर्को आउन सक्छ भन्ने स्वीकार गर्नैपर्छ । अर्कोतिर कुनै विशिष्ट पक्षलाई समाधान गर्दा सकेसम्म त्यसबाट सामान्य पक्षलाई पनि समाधान गर्न सकियोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । यसरी सामान्य नारा र विशिष्ट नाराबीचको द्वन्द्वात्मक अन्तरसम्बन्ध र फरक थाहा पाउन सकिन्छ, तिनीहरूको निर्णायक महत्त्व प्रष्ट हुन्छ र हाम्रा सबै कामहरूलाई मार्गदर्शन र नेतृत्व गर्ने तिनीहरूको सामान्य र विशिष्ट भूमिका बुझ्न सकिन्छ ।
(बहुदलीय जनवादबारे केही कुरा)
प्रकाशित मिति : ४ पुस २०७८, आइतबार ९ : ५४ बजे
प्रतिक्रिया