विश्वको इतिहासले देखाएको छ, निरङ्कुश शासनभित्रका सबै किसिमका अन्याय र अत्याचारको अन्त्य र नागरिक अधिकारको सुनिश्चितताको पक्षमा लाग्ने हजारौँ हजार योद्धाहरू जेल, सेल, नेल, हतकडी लगायतका क्रूर यातनाको सामना गर्न बाध्य बनाइए । अन्यायका विरुद्ध जीवनको बाजी लगाएर लड्ने योद्धाहरूको लागि न्यायको आन्दोलनमा जसरी पनि जनताको बीचमा पुग्ने कुरा सधैँ प्राथमिकतामा पर्नु स्वाभाविक थियो, जसका लागि न्यायका पक्षमा क्रियाशील रहन शत्रुको जेलको घेरा तोडेर न्यायको पक्षमा लाग्ने सोच आम मान्यताकै रूपमा रहेको पाइन्छ ।
अमेरिकामा जनजीविका, नागरिक अधिकार र राष्ट्रियताका अभियन्ताहरूले १८६४ फेब्रुअरी ९ मा रिचर्ड भर्जिनियामा गरेको लिवी प्रिजन एस्केप दक्षिण अफ्रिकामा रङ्गभेद विरोधी अभियन्ताहरूले डिसेम्बर ११, १९७९ मा गरेको प्रिटोरिया प्रिजन ब्रेक, १९८३ सेप्टेम्बर २५ को नर्थ आयरल्याण्डको मेज प्रिजन ब्रेक विश्व इतिहासमा महत्त्व राख्ने राजनीतिक जेल ब्रेकका घटनाहरू हुन् ।
नेपालको इतिहास पनि यस सन्दर्भमा अछुतो छैन । नेपालमा राजनीतिक जेल ब्रेकको सुरुआत १९९५ मा योगमाया न्यौपानेको नेतृत्वमा अग्नि दाह गर्न तयार हुँदा राणा शासकले घेरा हाली पक्राउ गरेर धनकुटा जेलमा राखिएका टेकबहादुर बस्नेतले पाँच महिनाको जेल जीवनपछि जेल फोडेर आसाम पुगेको घटनाबाट सुरु भएको मान्न सकिन्छ, यद्यपि, त्यतिखेरको आन्दोलन “धर्म भिक्षा“को नामबाट चर्चित छ । राणा शासन विरुद्ध प्रजातान्त्रिक क्रान्तिमा लागेका गणेशमान सिंह २००१ असार ७ गते जेलको पर्खाल नाघेर जेलमुक्त भएका थिए । त्यसपछि २००८ माघ १८ गते राती एकदेव आलेको नेतृत्वको रक्षा दलले बाहिरबाट विद्रोह गरी डा. केआइ सिंह लगायतलाई जेलमुक्त गरी २४ घण्टाका लागि सत्ता नै कब्जा गरेको इतिहास छ । पञ्चायतको सुरुआतसँगै यो क्रम अरू बढेको पाइन्छ ।
वि.स.२०३३ चैत्र १२ गते भएको ऐतिहासिक नख्खु जेल ब्रेकले चार दशक पार गरेको छ । यस इतिहासलाई सम्झना गर्दै विगतलाई फर्किएर हेर्ने क्रममा नेपालमा हालसम्म भएका प्रमुख राजनीतिक जेल ब्रेकका घटनाहरूलाई सङ्क्षिप्तमा तल उल्लेख गरिएको छ । नेपालको राजनीतिक परिवर्तन, खासगरी कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुग्नुको पछाडि यी घटनाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरामा सायद कसैको फरक मत छैन ।
अहिले मुलुकमा राजतन्त्रात्मक प्रणालीकै अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको अवस्थामा राजनीतिक जेल नेलका कुरा इतिहासको विषय मात्र बन्नुपर्दछ र लोकतान्त्रिक मूल्य—मान्यताका आधारमा शान्तिपूर्ण रूपान्तरणको बाटोबाट मुलुक अगाडि बढ्नु पर्दछ । यही अपेक्षाका साथ विगतलाई दस्तावेजीकरण गर्ने सन्दर्भमा यी घटनाको स्मरण गर्दै भावी पुस्ताको अनुभूति र इतिहासप्रतिको सम्मान तथा सिकाइका लागि यी घटनाहरूलाई दस्ताबेजका रूपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको हो ।
नेपालमा राजनीतिक जेल ब्रेकका केही घटनाहरू
योगमायाको नेतृत्वमा भएको भक्ति आन्दोलनका क्रममा १९९५ जेलबाट निस्केर भारतको आसाम गएका टेकबहादुर बस्नेत १९९८ असार तेस्रो हप्तामा नेपाल आई असार २२ गते योगमायासँगै जल समाधि लिए । राणा शासनको विरुद्धमा क्रान्ति बोल्ने क्रममा जेल पर्नुभएका गणेशमान सिंह पनि सन् १९४४ जुन २० (वि.सं. २००१) मा जेल ब्रेकपछि भारत प्रवासबाटै नेपाली क्रान्तिको पक्षमा क्रियाशील रहनुभयो । यी घटनाहरूले त्यसपछिका दिनमा धेरै क्रान्तिकारीलाई जेलभित्र चुपचाप बन्दी जीवन जिउनुभन्दा क्रान्तिका लागि जीवन जोखिममा राखेर बाहिर निस्कने प्रयास गर्न प्रेरणा प्रदान गरेको हुनुपर्छ । जसले २०५८ सालसम्म नै निरन्तरता पाइरह्यो ।
एकदेव आलेको चतुर्याइँ र पाल्पा जेल ब्रेक तनहुँको मानुङकोटको अर्चलेमा वि.सं. १९८० जन्मिएका एकदेव आले स्वभावैले क्रान्तिकारी र अन्याय विरुद्धका योद्धा हुनुहुन्थ्यो । गरिब किसान परिवारमा जन्मिएर १३ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भइरहँदा नेपालको राजनीतिक सामाजिक एवं आर्थिक अवस्थाका बारेमा बुझाइलाई परिपक्व पार्ने अवसर पाउनुभएका आले द्वितीय विश्वयुद्धको समाप्तिसँगै सेवामुक्त हुनुभयो । वि.सं. १९९७ सालमा राणा शासकले आफ्नो विरोध गरे बापत चार सहिदलाई गोली ठोकेर मारेको हृदय विदारक घटनाले ठुलो चोट महसुस गरेका आले पेसाको खोजीमा पुनः कोलकाता गएर रिक्सा चलाउन लाग्नुभयो । यसै क्रममा भारतीय स्वतन्त्रता सङ्ग्राममा नेताजी सुभाषचन्द्र बोसको नेतृत्वको “आजाद हिन्द फौज” मा संलग्न हुनुभयो ।
नेपालमा राणा शासनको विरुद्धमा आन्दोलन सुरु भएपछि ब्रिटिस गोर्खा र आजाद हिन्द फौजको अनुभव लिएर एकदेव आले नेपाल फर्किएर रक्षा दलमा संलग्न भई वीरगन्ज कब्जाको नेतृत्व गर्नुभयो । त्यसपछि तनहुँको बन्दीपुर कब्जा गर्न पठाइएका आलेले २००७ साल फागुन ४ गते बन्दीपुर कब्जा गरी त्यहाँ बनेको जनसरकारको रक्षा मन्त्रालयको डिपुटी चिफको जिम्मेवारी सम्हाल्नुभयो । नेपाल कम्युनिष्ट पार्टीप्रति आस्थावान् आले २००७ को दिल्ली सम्झौतापछि डा.केआई सिंह, चित्रबहादुर गुरुङ, भीमदत्त पन्त र रामप्रसाद राईहरूसँगै त्यसको विरोधमा उत्रनुभयो ।
त्यही क्रममा गिरफ्तार गरी बन्दी बनाइएका केआइ सिंह, रामप्रसाद राई र अग्निप्रसाद खरेल लगायतलाई मुक्त गर्न २००८ साल माघ १८ गते राती १२ बजे आलेको नेतृत्वमा रक्षा दलले विद्रोह गरी केन्द्रीय सचिवालय सिंहदरबार कब्जा गरेर २४ घण्टासम्म सत्ता हातमा लिएको थियो । त्यसपछि वरपरका जिल्लाहरू कब्जा गरी काठमाडौँलाई घेरा हाल्ने योजना सहित धादिङ कब्जा गर्न गएका आले बाटैमा गिरफ्तार भई केन्द्रीय कारागारमा थुनिएको समय वामपन्थी नेता क. शम्भुराम श्रेष्ठ लगायतसँग सम्पर्कमा आएपछि परिवर्तन एक्लै सम्भव छैन भन्ने अनुभूति गर्न थाल्नु भयो । क.एकदेव आले जेलबाट छुटेपछि क. पुष्पलालसँग भेट गरी नेकपामा विधिवत् प्रवेश गर्नुभयो र किसान आन्दोलनमा होमिनु भयो ।
वि.स.२०१४ सालमा सम्पन्न नेकपाको दोस्रो महाधिवेशन प्रतिनिधि रहनुभएका आले २०१५ सालको निर्वाचनमा क्षेत्र नं. १०३ क्षेत्रबाट निर्वाचन लड्नु भयो । २०१७ पौष १ गतेको काण्डपछि पौष २ गते प्रहरीको घेरा तोडी भूमिगत बाटो हुँदै क. पुष्पलाललाई भेट्न दरभङ्गा पुग्नुभयो ।
वि.स.२०१८ सालमा रिसिङमा एउटा पार्टी बैठक सकेर परिवार भेटघाटमा घर गएका आलेलाई बिहान घर घेरेर गिरफ्तार गरी जेल सरुवा गर्दै पाल्पा जेल पुर्याइएको थियो । त्यसै समयमा जोतिषशास्त्र अनुसार २०१८ माघ २२ गते प्रलय हुने हल्ला देशभरि चल्यो । सबै बन्दी र प्रहरी प्रशासन पनि परिवारबाट टाढै रहेर मरिने हल्लाबाट चिन्तित थिए । यही मौका छोपेर ‘मर्नुअघि भोज खाएर रमाइलो गरौँ’ भन्ने प्रस्ताव राख्नु भयो । भोज खान सबैसँग पैसा उठाएर खसी किन्न लगाइयो । माघ २१ गते जेलको ढोकाबाहिर खसी काट्ने, सबैले भाग लगाएर खाने योजना बन्यो । यसै क्रममा साँझ ४ बजेतिर सबै मासु लिन भित्र–बाहिर गरिरहेको अवस्थामा प्रेमप्रकाश नेपाल र सूर्यनाथको सहयोगमा प्रहरीको बन्दुक खोसेर फाइरिङ् गर्दै तीनै जना जेलबाट भाग्न सफल हुनुभयो । यसपछि कमरेड आले सिधै बनारस पुग्नु भयो । यहीँबाट २०१९ सालमा भएको नेकपाको तेस्रो महाधिवेशनमा सहभागी भई केन्द्रीय सदस्यमा नै छानिनुभयो ।
कमरेड एकदेव आले २०२५ सालमा कमरेड पुष्पलालको नेतृत्वमा पुनर्गठित पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । कमरेड पुष्पलालको सल्लाहमा कमरेड आलेले नै सन् १९६६ मा भारतमा रहेका नेपालीबीच प्रवासी सङ्गठनको सुरुआत गर्नुभयो, जुन आज प्रवासी नेपाली सङ्घ भारतको नाममा क्रियाशील रहेको छ ।
(‘राजनीतिक जेल ब्रेकको दस्तावेजीकरण : भावी पुस्ताको इतिहासप्रतिको अनुभूति र अनुभवका लागि’ शीर्षकको लेखको सानो अंश साभार गरिएको हो ।)
(लेखक नेकपा एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)
प्रकाशित मिति : ४ पुस २०७८, आइतबार ९ : १० बजे
प्रतिक्रिया