‘नेशनल डे कन्सर्ट’ सम्पन्न

युद्ध भड्किन सक्ने भन्दै राष्ट्रपति बाइडनद्वारा किएभको प्रस्ताव अस्वीकार

काठमाडौं । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले वाशिङटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्तापछि युक्रेनलाई रुसभित्र प्रहार गर्न लामो दुरीका मिसाइल प्रयोगको अनुमति दिने विषयमा कुनै निर्णय नभएको बताउनुभएको छ ।

दुई नेताबीचको भेटवार्ता युक्रेनलाई रुस भित्र प्रहार गर्न पश्चिमी मिसाइल प्रयोग गर्न अनुमति दिने कि नदिने विषयमा केन्द्रित रहे पनि कुनै औपचारिक निर्णय नभएको ह्वाइट हाउसले जनाएको छ । युक्रेनी राष्ट्रपति भ्ल्यादिमिर जेलेन्स्कीले मस्कोको आक्रमण गर्ने क्षमतालाई सीमित गर्न युक्रेनलाई लामो दुरीको मिसाइल र प्रयोगको अनुमति दिन पश्चिमा राष्ट्रहरुलाई लोमो समयदेखि आग्रह गर्दै आउनुभएको थियो ।

बेलायती र अमेरिकी विदेशमन्त्रीले युक्रेन भ्रमणको बेला सो विषयबारे सकारात्मक रहे पनि बाइडन र स्टार्मरले अनुमति नदिएको बताइएको छ । स्टार्मरसँगको भेटमा बाइडनले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्धमा विजयी नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई नेताहरूबीच युक्रेनलाई समर्थन गर्ने नयाँ चरणहरूबारे समेत छलफल भएको बताइएको छ ।

पश्चिमा राष्ट्रहरुले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति दिने बारे छलफल भइरँदा पुटिनले यदि युक्रेनले रुसविरुद्ध पश्चिमी निर्मित लामो दूरीको क्षेप्यास्त्रले रुसी भूभागमा प्रहार गर्न अनुमति पाए पश्चिमा र नेटोसँग रुसको प्रत्यक्ष लडाइँ हुने चेतावनी दिनुभएको थियो । युद्ध भड्किन सक्ने भन्दै बाइडनले युक्रेनी प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।

दुई नेताबीच इन्डो प्यासिफिक र मध्य पूर्वबारे पनि छलफल भएको बताइएको छ । साथै रुसलाई इरान र उत्तर कोरियाले घातक हतियार उपलब्ध गराएकोमा दुई नेताले गहिरो चिन्ता व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाले यसै वर्ष युक्रेनलाई लामो दूरीका मिसाइल उपलब्ध गराएपनि रुसभित्र आक्रमण गर्न अनुमति दिएको थिएन् ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १० : ०६ बजे