साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मितेरी सहकारी प्रकरण : धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडी तिरेका थिए ऋण

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानबिन विशेष समितिले काँग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ ।

समितिका सभापति सूर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिनुभएको छ । त्यस क्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको थियो ।

श्रीमतीसँग डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज गुरुङ आफैँले पटक पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले समितिलाई बताउनुभएको थियो । एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको बताउँदै कुम्भराजले कागजी रूपमा मात्र डिभोर्स भएको बताउनुभएको छ ।

यसअघि समितमै बोलाएर पनि कुम्भराजको बयान लिइएको थियो । त्यस क्रममा उनले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैँ सञ्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको समितिलाई जानकारी गराउनुभएको थियो । 

धनराज गुरुङले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध विच्छेद्य भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आउनुभएको छ ।

आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले बिहीबार कार्यविधिबमोजिम निर्णय गरी ३ वटा सरकारी  निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत  निरीक्षण गरेको सभापति थापाले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ४० बजे