देउवा सरकारले पुस ६ गते संसद्मा एमसीसी लाँदै : एमाले सर्वदलीय बैठकमासमेत नजाने

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको  सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नजाने भएको छ ।

संघीय संसद्मा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । 

एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताउनुभयो ।  

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताउनुभयो । 

प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त दिनको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी छ । अर्कोतिर एमालेले संसद्मा अवरोध जारी राखेको छ । आफूबाट विभाजित भएर नेकपा (एस) गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो । 

उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ । एमाले यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भइरहेको छैन । एमालेलेसरकारले ल्याउने प्रस्ताव वा विधेयक पारित गर्नु सत्तारुढ दलहरुको काम भएकाले यसमा एमाले अनावश्यक रुपमा प्रोभोक नहुने बताउदै आइरहेको छ । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : ४४ बजे