सभामुखले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउँदै संसदलाई नौटंकी बनाए : उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउँदै संसदलाई नौटंकी बनाइरहेको बताउनुभएको छ । 
एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघको महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई बन्धक बनाएर महीनौदेखि अवरुद्ध संसदलाई सञ्चालन गर्न नसकेर नौटंकी बनाएको बताउनुभएको हो ।

उपाध्यक्ष पौडेल भन्नुभयो, ‘हिजोआज न्यायपालिका प्रतिको विश्वास जनतामा गुम्दै गएको छ । सभामुखले संसद सञ्चालन गर्न नसक्नुले नेपाली जनताले सत्ता गठबन्धनमाथि विश्वास गर्ने कुनै आधार छैन ।’उहाँले अघिल्लो सरकारले अर्थतन्त्रलाई बचाउने गरी काम गरेको बताउनुभयो ।  

उहाँले भन्नुभयो नेकपा एमाले नेतृत्वको सरकार भएको समयमा देशको अर्थतन्त्रलाई बचाउन जनताले देख्ने गरी काम गरेको छ । तर वर्तमानको गठबन्धन सरकारले समन्वय समेत गर्न सकेको छैन । अब आगामी निर्वाचनमा नेपाली जनताले मार्क गरिसकेका छन् ।

उहाँले अहिले राज्यका मुख्य तीन अंग व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका भताभुंग भएको समेत आरोप लगाउनुभयो ।

सभामुखले दम्भ त्याग नगरेसम्म व्यवस्थापिका चल्न नसक्ने पौडेलले चेतावनी दिनुभयो। उहाँले सभामुखलाई तटस्थ र निष्पक्ष भूमिकामा रहन समेत सुझाव दिनुभयो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : १० बजे