दलित गाउँका पहिलो शिक्षक

नगरकोट सडक नबनेपछि नगरपालिका नै उत्रियो आन्दोलनमा

भक्तपुर। भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दबाब स्वरूप आन्दोलन गर्ने भएको छ । निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नगरप्रमुख सोमप्रसाद मिश्रले दबाबमूलक कार्यक्रम अन्तर्गत पुस ७ गते सडक निर्माण अलपत्र पर्नुका कारणबारे सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने जानकारी दिनुभयो । त्यस्तै पुस ११ गते जिल्ला प्रशासन कार्यालय घेराउ, पुस १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको नगरप्रमुख मिश्रले बताउनुभयो ।

उहाँले ठेकेदार कम्पनीको कार्यालय र निवास घेराउ, काठमाडौँको माइतीघर मण्डलामा धर्ना र अरनिको राजमार्गमा चक्का जाम जस्ता आन्दोलन कार्यक्रम तय गरेको जानकारी दिनुभयो । पहिलो तीन दिनको कार्यक्रमले पार्ने प्रभाव र प्रतिक्रियालाई विश्लेषण गरी पछिल्ला कार्यक्रमको मिति तय गरिने उहाँले बताउनुभयो ।

नगरप्रमुख मिश्र र उपप्रमुख विणा बास्तोलासहितको टोलीले गत कार्तिक १५ गते ३० दिन भित्र सो सडकको निर्माण कार्य सम्पन्न नभए आन्दोलन गर्ने व्यहोरोको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाएको थियो ।

उहाँले ठेक्का रद्द गरेर सो सडक निर्माणको जिम्मा नगरपालिकालाई दिन माग समेत गर्नुभयो । कमलविनायकदेखी नगरकोटसम्मको करिब १६ किलोमिटर लामो उक्त सडक सुधार एव बिस्तारको लागि भारतीय निर्माण कम्पनी एआईपिएल र नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्स्ट्रक्सनले संयुक्तरुपमा ठेक्का लिएको थियो ।

कुल ५२ करोड ९६ लाख रुपैंया लागतको उक्त सडक एआईपिएल र सैलुङ्गले २०७१ जेठमा ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

भारतीय बैङ्क एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण सुरु भएको उक्त सडकको पटक पटक गरी ७ पटक म्याद थप भइसकेको छ ।
ठेक्का म्याद थपसँगै लागत समेत बढेको छ । ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम रु ३५ करोड ८७ लाख १८ हजार रहेको छ । हाल सो सडकको निर्माण करिब ७८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ५६ बजे