काठमाडौँ । उपत्यकाभरिका लिम्बूहरू यतिबेला बडो उत्साहपूर्वक बुढानीलकण्ठ नगरपालिकाको भङ्गालमा अवस्थित किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको नवनिर्मित भवनमा जम्मा भएका छन् ।
किरात याक्थुङ चुम्लुङ्को केन्द्र, भक्तपुर, ललितपुर र काठमाडौँको संयुक्त आयोजनामा गत पुस १ गतेदेखि सुम्सेम्बा (तीन राते) तङ्सिङ अनुष्ठानमा लिम्बू तथा गैर लिम्बुहरूको समेत बाक्लो जमघट भएको हो ।
तङ्सिङ लिम्बू जातिको सबैभन्दा ठुलो अनुष्ठान हो । यो अनुष्ठान थिक्सेम्बा (एक राते) देखि सुम्सेम्बा (तीन राते) र नुसेम्बा (सात राते) सम्म हुन्छ । नुसेम्बा (सात राते) तङ्सिङमा सात दिन, सात रातसम्म लगातार अनुष्ठान गरिन्छ । आजकल समयानुकूल धेरैजसो एक राते सम्पन्न गरेको पाइन्छ ।
सामूहिक रूपमा गरिने यो अनुष्ठान किरात याक्थुङ चुम्लुङ्ले उपत्यकामा हरेक वर्ष एक राते तङ्सिङ सम्पन्न गर्दै आएकोमा गत वर्ष भने कोभिडको कारण हुन सकेको थिएन ।
यस पटक चुम्लुङ्ले इतिहासमै पहिलो पटक उपत्यकामा सुम्सेम्बा (तीन राते) तङ्सिङ अनुष्ठानको आयोजना गरेको हो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस अनुष्ठानको छायाङ्कन गरिरहेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईको संयोजकत्वमा यस तङ्सिङ अनुष्ठानको सम्पूर्ण छायाङ्कन गरी अभिलेखीकरण गर्ने कार्य भइरहेको छ।
यस अनुष्ठानमा विशेष गरेर लिम्बू जातिमा अत्यन्तै उच्च श्रद्धाले विश्वास गरिएको मुन्धुम वाचन हुन्छ । मुन्धुम लिम्बू जातिमा प्रचलित अनेकौँ मौलिक सङ्गीतहरूको जननी हो । तङ्सिङका अनेकौँ अध्यायहरूमा विभिन्न लय (भाका) हरूमा मुन्धुम वाचन गरिन्छ ।
यस अनुष्ठानमा ससाना कीट—पटङ्गदेखि सम्पूर्ण जीव—जीवात्मा एवं ब्रह्माण्ड उत्पत्तिको कथा साङ्गीतिक लय (भाका) मा वाचन हुनका साथै च्याब्रुङ, थाल, सुसेला, घण्टी, चाप लगायतका बाजाहरू प्रयोग हुन्छन् र यिनीहरूलाई मुन्धुमको लय (भाका) अनुसार समय ताल मिलाएर बजाइन्छ ।
तङ्सिङमा मुन्धुम वाचक साम्बा, येबा, येमा आदि एकल नभई धेरै जना हुने हुनाले यसलाई सामूहिक वाचन र सामूहिक वाद्यवादनको प्रयोग पनि भन्न सकिन्छ ।
यस अनुष्ठानमा जीवित मानव मात्र नभई पशु—पक्षी र मृतात्मासँग पनि विभिन्न लय (भाका) मा वार्ता समेत हुने विश्वास गरिन्छ ।
(तस्बिर : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अशोक राई)
प्रकाशित मिति : ३ पुस २०७८, शनिबार ९ : ५५ बजे
प्रतिक्रिया