केशव बिहानै ७ बजे लुख्रुक्क हाम्रो घरभित्र हँसिलो अनुहार लिएर प्रवेश गरे । म बैठक कोठामा बसिरहेको थिएँ । म बसेकै सोफामा मलाई नमस्ते गर्दै कोखैमा आएर बसे ! मैले उनलाई नचिनेर अलमलमा थिएँ । भगवती (मेरी श्रीमती) ले तुरुन्तै चिनाउँदै भनिन्, ‘गङ्गा दिदीको कान्छो छोरा के !’ भनेपछि म पनि उत्साहित हुँदै सन्चो—बिसन्चो सोध्न थालेँ । उनी देख्दै माया लाग्दा मृदुभाषी र शिष्ट स्वभावका युवा थिए ।
उनी केही दिन पहिले लण्डनबाट आएका थिए । उनलाई भेट्न म उनको घरमा पनि गएको थिएँ । तर त्यस्तै केही परेर उनीसँग भेट भएको थिएन ।
उनी हाम्रो व्यवसाय भएको घरका घरभेटी, पिता मुक्तिराम भट्टराई र आमा गङ्गादेवीका कान्छा छोरा हुन् । उनी आफ्नो परिवार सहित लण्डनमा बस्छन् । मुक्तिराम भट्टराईका दुई छोरा र बुहारी, दुई छोरी र ज्वाइँहरू सबै आ–आफ्नो परिवार समेत लण्डन र अमेरिकामै बस्ने गर्छन् । केही पर्दा सहयोग गर्ने र मुख बोलाबोलको सहारा नजिकबाट हामी नै भएकोले एउटै परिवार जस्तो हाम्रो आपसी व्यवहार छ ।
केशवलाई झट्ट हेर्दा २० – २५ वर्षको जस्तो मानेँ र मैले सोधेँ, ‘सन्तान भए कि नाइँ ?’ उनले मेरो मुखमा हेरेर मुस्कुराउँदै भने, ‘छोरी ६ वर्षकी भइन्, छोरा १२ वर्षको ।’ अचम्म मान्दै सोधेँ, ‘हैन, कति वर्षको हुनुभयो र ?’ उनले भने, ‘४१ वर्षको ।’
म दङ्ग परेँ । सिर्लिक्कको शरीर, गोरो चट्टको, ४१ वर्षको भनेर नपत्याइने खालको । मुसुमुसु हाँस्दै केशवले भने, ‘त्यहाँको खानपान अलिक फरक छ, त्यसैले म त्यति मोटो छैन ।’
उनले आफ्नो कुरा अघि बढाए, ‘हाम्रो समाजमा खाना खाने कुराको ठुलो तनाव छ । खाना पकाउने, ख्वाउने, परिवारको सदस्य कतै गएको भए पर्खिने, भाँडा माझ्ने, फेरि नास्ता, फेरि खाना आदि । युरोपतिर छिटो—छरितो, सजिलो र स्वास्थ्यकर खाना खाने चलन छ । खानैका लागि बाँचे जस्तो छैन । एक प्रकारले शरीरका लागि खाइदिने मनोविज्ञान छ ।’
केशवसँगको करिब १ घण्टाको गफगाफमा मैले खोतलेर त्यहाँका सिस्टमका बारेमा संक्षिप्तमा मेरो जिज्ञासा मेटाउने प्रयास गरेँ । त्यहाँका बालबालिकाहरूका बारेमा के कस्तो व्यवस्था छ भनेर कुराकानी गरेँ ।
अमेरिकामा बस्ने मेरा एक जना आफन्तले कुनै समय हजुरआमाले नातिलाई एक चड्कन लगाउँदा जेल जानुपरेको घटना सुनाएका थिए । यद्यपि, केशव बस्ने लण्डनमा हो । तर, अमेरिका र युरोपतिरको धेरै सिस्टम मिल्छ भन्ने सुनेकोले जिज्ञासा मेटाउन यी प्रश्नहरू गरेको थिएँ ।
केशवले बालबालिकाहरूका बारेमा साह्रै प्रेरक कुरा बताए । उनका अनुसार बालबालिकाहरूलाई असाध्यै ध्यान दिइन्छ । बालबालिका सम्बन्धी नियम—कानुन पनि निकै कडा छ । बालबालिकाहरूलाई पिट्ने, गाली गर्ने विषयलाई अपराध मानिन्छ । मेरो जिज्ञासा— ‘आफ्नो घरभित्र पिटेको, गाली गरेको प्रशासनलाई कसरी थाहा हुन्छ ?’ उनले भने, ‘बालबालिका स्कुलमा निनौरो देखिएमा वा बच्चाको शरीरमा चोटपटक लागेको देखिएमा उनीहरूसँग सोधिन्छ । उनीहरूले आफ्नो घर—परिवारमा आफूलाई त्यस्तो कुनै व्यवहार भएको सिकायत गरेमा आमा—बाबुलाई बोलाएर सोधपुछ गरिन्छ । बालबालिका र आमा—बाबुको भनाइमा फरक परेमा बालबालिकालाई बालगृहमा पठाइन्छ र सरकारले जिम्मा लिन्छ ।’
बालबालिकालाई ७ वर्षसम्म स्कुलमा फेल गरिन्न र घोकन्ते विद्या पनि पढाइन्न । उसलाई आफ्नै स्वतन्त्र दिमाग लगाएर हल गर्ने पढाइ पढाइन्छ । कति अङ्क ल्यायो भन्नेसँग मतलब हुँदैन । भविष्यको दक्ष जनशक्ति उत्पादन गर्न बच्चा पेटमा भएदेखि नै ज्यादै संवेदनशील हुनुपर्ने बाध्यकारी कानुन पनि छ र कानुनलाई कडाइका साथ पालना गर्ने संस्कार पनि छ ।’
राजनीतिका बारेमा पनि निकै लोभलाग्दो कुरा केशवले बताए । ब्रिटेनमा राजनीति गर्नु भनेको नितान्त समाजसेवा हो ! दलको नेता—कार्यकर्ता जनताबाट चुनिएर जनप्रतिनिधि भई सरकारमा गएपछि उसलाई झनै ऋण लाग्ने खतरा हुन्छ, किनभने ऊ आफ्नो लागि कमाउन भ्याउँदैन ।
राज्यले लिने कर र दिने सुविधाका बारेमा पनि केशवले भने, मैले एक सय कमाएँ भने चालीस रुपैयाँ सरकारलाई कर बुझाउँछु । कर तिर्दा मन कटक्क त हुन्छ, तर राज्यले दिने सुविधा सम्झँदा चित्त बुझ्छ । कर लिए बापत सरकारले छोरा—छोरीलाई निःशुल्क पढाइदिन्छ । रोजगार नभए बेरोजगार भत्ता पनि दिन्छ । १८ वर्ष पुगेपछि छोराछोरी घरबाट निस्केर आफ्नो छुट्टै व्यवस्थामा बाँच्न सिक्नुपर्छ, त्यस्तो कानुन छ । ऊ बाँच्न सक्षम पनि हुन्छ । लालन पालन र शिक्षा—दीक्षाले सुरुदेखि नै उसमा क्षमता विकास गराइरहेको हुन्छ । १८ वर्षको पुगेर आफै खोजेर बस्न थालेपछि, पढ्ने र काम खोजेर कमाउने गर्छ । यस्तो परिपाटीले आमा बाउको सन्तानप्रतिको बोझ कम हुने नै भयो । वृद्ध अवस्थामा वृद्धहरूको सम्पूर्ण स्याहार—सुसारको जिम्मेवारी राज्यले लिन्छ । सन्तानको चिन्ता र दायित्व आमा बाउमा रहेन । मायाले गर्ने कुरा गर्छन् नै । आखिर सिस्टम न हो ! सिस्टम विकास गर्न सके जनताले तिर्ने करले जनताको जीवन कति राज्यले सहज बनाउन सक्छ भन्ने ठुलो उदाहरण पनि हो ।
केशवले भने, ‘हामीकहाँ पुस्तौँसम्मलाई कमाइदिने जुन संस्कार छ, त्यसले गर्दा पनि मान्छेहरूले दुःख पाएका छन् । राज्यले राम्रो नीतिगत व्यवस्थापन गरिदिने हो भने त्यस्तो सोच अन्त्य हुँदै जान्छ र भ्रष्टाचार पनि बन्द हुन्छ । नेपालमा दलहरूले समाजवादको कुरा गरेका छन्, त्यो समाजवाद अघि गर्न सकिने कामका सन्दर्भमा युरोपबाट सिक्न सकिने कुरा धेरै छ । राजनीति गर्नेले जनताप्रति सेवा भावले राजनीति गर्छ । समाजवाद भएन त ? नेपालका दलहरूले कस्तो समाजवाद ल्याउन खोजेका हुन्, थाहा भएन खै ! ?’
केशवका कुरा सुनेर असाध्यै रमाइलो लाग्यो । युरोप—अमेरिकाले विकास गरेको राजनीतिक प्रणाली उच्च छ र सिक्ने लायक छ । राज्यद्वारा त्यहाँ विकसित गरिएका प्रणालीहरू कतिपय हामीकहाँ पनि लागू गर्न सम्भव होला । त्यहाँको राम्रा विषयलाई पूर्वीय सांस्कृतिक ढाँचामा ढालेर लागू गर्नु पर्ने हुन्छ ।
अमेरिकामा बस्ने केशवकी दिदी मिनासँग पनि मैले अमेरिकाका केही कुरा जान्ने जिज्ञासा राखेको थिएँ । मिनासँग मैले सोधेको थिएँ— ‘हाम्रो जस्तो नातापाता आफन्तहरूमा माया मुलाहिजा के हुन्छ ?’ उनले भनेकी थिइन्, ‘अमेरिका र युरोपका कतिपय कुरा हाम्रो संस्कार संस्कृतिसँग पटक्कै मेल नखाने खालका पनि छन् । अमेरिका, युरोपमा बिहे गरेको दुई वर्षपछि दम्पतिबीच मन मिलेन भने सम्बन्ध विच्छेद गर्ने हुन्छ । सम्बन्धविच्छेदरू र नयाँ वैवाहिक सम्बन्ध धेरै हुने हुनाले नाता—गोताको टुङ्गो हुँदैन । हामीकहाँ जस्तो आफन्तहरूको स्वाद र आनन्द छैन ।’
अमेरिका र युरोपका देशहरूले विकास गरेको प्रणालीमा आत्मिकभन्दा भौतिक सुखको मात्रा धेरै छ । पूर्वीय सांस्कृतिक परिवेशमा हुर्केको हाम्रो समाजले आत्मिक र भौतिक दुवै सुख र आनन्द खोज्दछ । त्यहाँ विकास गरिएका व्यवस्थापनका नीति—विधिहरू हाम्रो सामाजिक मौलिकतामा ढालेर विकास गर्न कसरी सकिन्छ ? भनेर खोज गर्न सकेमा संसारकै उच्च कोटीको प्रणाली विकसित हुन सक्दछ, यो असम्भव छैन । यसको खोज हाम्रै दर्शनहरूमा आधारित भएर गर्नुपर्छ र उपाय पनि भेटिन्छ । हरेक समाजको मौलिक संस्कृति फरक—फरक हुन्छ र त्यसको स्वाद पनि भिन्नाभिन्नै हुन्छ । अमेरिका र युरोपमा बस्ने नेपालीहरूले त्यहाँको भौतिक सुख सुविधा उपभोग गरे तापनि त्यसबाट मात्र सन्तुष्ट हुन नसकेको देखिन्छ ।
माछा पानीमै रमाउँछ, आकाशमा उड्ने पक्षी आकासमै उड्न पाउँदा रमाउँछ, ठिक त्यस्तै मानिस पनि आफ्नो मौलिकताभन्दा बाहिर रमाएर बाँच्न सहज हुँदैन ।
पश्चिमी भौतिकवादी समाज व्यवस्थापन र पूर्वीय संस्कृतिको सम्मिश्रित पद्धति विकास गर्न सकेमा संसारकै सुन्दर र सुख आनन्द भएको नेपाली समाज निर्माण हुनसक्छ ।
यसका लागि नेपालका युवाहरू युरोप, अमेरिका जान लालायित हुनुभन्दा, आफ्नै देशलाई माया गरेर सुन्दर, सुखी, आत्मिक र भौतिक सुख र आनन्द भएको नेपाल निर्माण गर्न प्रयत्नशील रहनुपर्दछ । विदेश बस्ने नेपालीहरूले त्यहाँका अनुभवहरू र आर्थिक, नैतिक हिसाबले सघाउनुपर्छ ।
केशवले १० दिनको विपश्यना ध्यान अभ्यास पनि गरेका रहेछन् । कुराकानीको प्रसङ्गमा उनले बौद्ध दर्शनका कुरा पनि गर्न भ्याए । यस क्रममा उनले ‘मानिसले अति धेरै इच्छा आकाङ्क्षा नराख्नु पनि दुःखबाट मुक्ति पाउनु हो भनेर बुद्धको उपदेश उद्धृत गरे । बुद्ध शिक्षाको सादा जीवन र उच्च विचारले जीवनमा तनाव हुँदैन’ भने ।
विदेशमा बस्ने नेपाली युवाको तन जहाँ भए पनि मन नेपालमा हुनु साह्रै सकारात्मक कुरा हो । भौतिक विकास र प्रविधिमा पश्चिमको उच्चतासँग हाम्रा पुर्खा ऋषिमुनि र बुद्धका ज्ञान अनुसरण गर्न सक्दा नेपाल र नेपालीको उच्चता अझ बढ्न सक्दछ ।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।)
प्रकाशित मिति : ३ पुस २०७८, शनिबार ९ : ४४ बजे
प्रतिक्रिया