बुद्धकालीन कपिलवस्तु राज्यको पतनपछि त्यस राज्यको वैभवशाली राजधानी लुम्बिनी नगरको पनि बिस्तारै अवसान सुरु भयो । सम्भवतः कौशल नरेश विडड्भको प्रतिशोधपूर्ण आक्रमणपछि कपिलवस्तुको अवसान सुरु भएको थियो । यो आक्रमण बुद्धको जीवनकालमा नै भएको थियो र उनले यो आक्रमण रोक्न पटक—पटक प्रयास गरेका पनि थिए । तर, सफल भएनन् । यो असफल प्रयासलाई बौद्ध साहित्यमा फरक ढङ्गबाट प्रष्ट पार्ने प्रयास गरिएको पाइन्छ ।
कपिलवस्तु प्रसेनजितपुत्र विड्डभको मावली राज्य थियो । कौशल नरेश प्रसेनजितले बुद्धसँग प्रभावित भएर बुद्धकुलसँग वैवाहिक सम्बन्ध राख्न चाहेको हुनाले शाक्य कुमारी माग्न गए । शक्तिशाली छिमेकी राज्यको राजाले राखेको यो प्रस्ताव शाक्यहरूले अस्वीकार गर्ने अवस्था थिएन । उनीहरू प्रसेनजितलाई बिहेवारीका निम्ति अनुपयुक्त कुलको मान्दथे । सम्भवतः यसो गरेर उनीहरूले शाक्यरक्त चोखो राखेकोमा गर्व गर्दर्थे ।
त्यसैले आफ्नो राजदरबारकी एउटी दासी पुत्रीलाई शाक्य कन्या हुन् भन्दै राजा प्रसेनजितसँग विवाह गरिदिएका थिए । विड्डभ तिनै कन्याबाट जन्मिएका थिए । वयस्क उमेरमा हुँदा उनले राजपाट चलाइरहेका आफ्ना बाबुलाई बन्दी बनाएर उनी आफै राजा भए । शाक्यहरूबाट आफ्नो कुललाई धोका दिएको पहिल्यै भेद पाएका विड्डभ भित्रभित्रै रिसले आगो भएका थिए । यो भेद नखुलोस् भनेर उनकी आमाले उनलाई सधैँ मावल जानबाट रोक्दै आएकी थिइन् ।
यसैको प्रतिशोध लुम्बिनीमाथि भयानक आक्रमण गरेर उनले लिएका थिए । अहिलेको सगरहवामा कोशल सेनाले ठुलो सङ्ख्यामा शाक्यहरूको संहार गरेको थियो । त्यस समयमा युद्धको यस्तो घटना नौलो थिएन । नाता सम्बन्धबीच भयानक युद्धहरू भएका प्रशस्तै उदाहरण इतिहासमा छन् ।
त्यस बेलाका शक्तिशाली राजतन्त्र कौशल र मगधबीच वैवाहिक सम्बन्ध भएर पनि सम्बन्ध तनावपूर्ण थियो । सत्ता पाउन कौशल नरेश प्रसेनजितपुत्र विड्डभ र मगध नरेश बिम्बिसारपुत्र अजातशत्रुले आफ्नै पितालाई अपदस्त गरेका थिए । यी दुई राज्यका वरपर रहेका वैशाली, कपिलवस्तु, कोल जस्ता साना गणराज्यहरूमाथि सधैँ वक्रदृष्टि थियो । धेरै सम्भव छ, कि कपिलवस्तुमाथि विड्डभको आक्रमणका पछाडि दुवै कारणहरू थिए ।
ई.पू. २७३ मा राजा बिन्दुसारको मृत्युपछि मगधको राजगद्दीमा अशोक बसे । सिंहली जनश्रुतिमा आफू राजा बन्न अशोकले आफ्ना ९९ दाजुभाइको हत्या गरेको पाइन्छ । राजा भएको ८ वर्षमा अर्थात् ई.पू. २६१ मा अशोकले कलिङ्गमाथि भयानक आक्रमण गरे र युद्ध जिते पनि । युद्ध सकिएको रात आफ्नो शिविरबाट उनले युद्ध मैदानमा योद्धाका अङ्गभङ्ग भएका शव देखे र कहराइरहेका घाइतेहरूका क्रन्दन सुने । रण मैदानको यो भयावह दृश्य देखेर उनमा वैराग्य उत्पन्न भयो ।
त्यसपछि उनले हिंसा त्याग्ने अठोट गर्दै बुद्धको अहिंसाको पथ अवलम्बन गरे । उनी राज्यारोहणको २० वर्ष अर्थात् ई.पू २५३ मा बुद्ध जन्मेको लुम्बिनी आई बुद्धको अर्चना गरे । त्यहाँ केही स्मारक स्तम्भहरू समेत खडा गरे । अशोकले गरेको यो सत्कार्यका कारण नेपालीले बुद्ध जन्मेको लुम्बिनी हाम्रो भनेर अहिले गौरव गर्न पाएका छन् ।
बुद्धको स्तम्भमा लुम्बिनीका जनतालाई अशोकले कर छुट गरेको उल्लेख हुनुले लुम्बिनी त्यस बेला मगधको शासनमा थियो कि मगधलाई कर तिर्ने राज्य थियो भन्ने पनि देखिन्छ । यसको अर्थ त्यसबेलासम्म लुम्बिनीमा बौद्ध जनमानसको उल्लेखनीय बसोबास थियो भन्ने बुझिन्छ । आफ्नो शासनकालमा उनले बुद्ध धर्मको उत्थानमा ठुलो योगदान पुर्याए । सम्भवतः उनी नभएको भए बुद्ध धर्मले विस्तार कायम राख्न सहज थिएन ।
त्यसपछि सन् ३५० तिर यहाँ आएका चिनियाँ सेङ सी सम्भवतः पहिलो तीर्थयात्री थिए, जसले आफ्नो वृत्तान्तमा मायादेवी मन्दिर, बुद्धको पाइला भएको ढुङ्गा आदिको उल्लेख गरेका छन् । ई.स. ४०३ तिर वर्तमान भारतका विभिन्न बौद्ध तीर्थहरू भ्रमण गर्दै लुम्बिनी आएका चिनियाँ भिक्षु फाहियानले कपिलवस्तु नगरको पूर्वतिर लुम्बिनी नामको बगैँचा रहेको र त्यहाँको तलाउमा मायादेवीले बुद्धलाई जन्म दिनुअघि स्नान गरेको उल्लेख गर्दै उनले कसरी बुद्धलाई जन्माएकी थिइन् भन्ने उल्लेख गरेका छन् ।
उनले ती संरचना अवलोकन गर्दै यो कल्पना गरेको हुनुपर्दछ । ई.स. ६३६ को दिसम्बरतिर आएका अर्का चिनियाँ यात्री ह्वेनसांगले अशोक स्तम्भ र अन्य संरचनाहरू भग्न अवस्थामा देखेको उल्लेख गरेका छन् । उनको आगमनसम्म कमजोर भए पनि लुम्बिनीको चिनारी हराइसकेको थिएन । पछि यिनै चिनियाँ धर्मयात्रीहरूका वर्णन लुम्बिनी पत्ता लगाउन मार्गदर्शक बने ।
सन् १३१२ (वि.सं. १३६९ अर्थात् शाके १२३४) मा पश्चिमको खस राज्यका दसौँ खस राजा रिपु मल्ल काठमाडौँमा १८ दिन बसेर लुम्बिनी झरेको र त्यहाँको अशोक स्तम्भमा उनले लेखेको कुराबाट पुष्टि भएको योगी नरहरीनाथले इतिहास प्रकाशमा उल्लेख गरेका छन् (कर्णाली प्रदेशको मध्यकालीन इतिहास–डा. राजाराम सुवेदी ) । स्तम्भमा “उनले ओम मणी पद्मे हुँ । श्री रिपुमल्ल चिरम् जायेतु । संग्राम मल्ल ” लेखेका छन् । रिपुमल्लले अशोक स्तम्भमा बुद्धको जन्मस्थलको महत्वबोध गरेर नै आफ्नो उपस्थिति अङ्कन गरेका होलान् भन्न सकिन्छ । त्यसपछिका झन्डै तीन सय वर्ष बुद्धको जन्मस्थलका रूपमा लुम्बिनी अँध्यारोमा हरायो । बुद्धबारे जानकार दुनियाँ उनको जन्मस्थल कहाँ थियो भन्ने कौतुहलतामा रुमलिन पर्ने अवस्था समेत आयो ।
त्यस्तो आबाद नगर तीन शतकभित्र एक्कासि गुमनाम कसरी हुन पुग्यो भन्नेबारे जिज्ञासा स्वाभाविक भए पनि यसै हो भन्ने अवस्था छैन । खास गरी त्यो ठाउँलाई प्रभावित गर्ने गरी कुनै उल्लेखनीय घटनाहरू भएको ठोस जानकारी नभए पनि भारतमा बाह्रौँ शताब्दीदेखि प्रारम्भ भएको मुसलमानहरूको बढ्दो प्रभाव र लगभग दसौँ शताब्दीतिरबाट भारतीय प्रायद्वीपमा बौद्ध धर्मको घट्दो प्रभावलाई अघि सार्ने गरिए पनि यो नै पूर्ण सत्य नहुन सक्छ । यसबारे अनुसन्धान आवश्यक देखिन्छ ।
ई.सन् १७५७ को पलासीको युद्ध जितेपछि भारतमा अङ्ग्रेजहरूको उपनिवेशी शासन फराकिलो र बलियो हुँदै गयो । अङ्ग्रेजहरूले यहाँको पुरातात्त्विक महत्वतिर पनि चासो लिए । यस दिशामा अलेक्जेण्डर कनिङ्घमको योगदान महत्त्वपूर्ण मानिन्छ । ई. सन् १८४१ तिर भारतमा अङ्ग्रेजी सेनामा ईन्जियिरका रूपमा नियुक्त भएर आएका थिए । उनी पुरातात्त्विक खोजमा रूची भएका व्यक्ति थिए ।
उनलाई भारतीय पुरातात्त्विक खोजीका पिता नै मान्ने गरिएको छ । ई. सन् १८३६ देखि १८४० सम्म उनी गभर्नर अकलेण्डरका एडिसी बने । ई. सन् १८६१ मा सेवानिवृत्तिपश्चात् उनलाई तत्कालीन वायसराय लर्ड केनिङले भारत सरकारको पुरातात्त्विक सर्भेयरको पदमा नियुक्त गरे । तर, आर्थिक अभावका कारण चार वर्षमा यो बन्द गरियो । ई. सन् १८७१ मा लर्ड मियोले आर्कोलोजिकल सर्भे अफ इण्डियालाई पुनः सञ्चालनमा ल्याएपछि त्यसको डायरेक्टर जनरल पदमा नियुक्त भए ।
अहिलेसम्म लुम्बिनीको पुनः खोजको यश जर्मन पुरातत्त्वविद् ए. ए. फ्यूरहरलाई दिने गरिन्छ । ई. सन् १८९५ मा उनले नै बुद्धको जन्मस्थान पत्ता लगाएको भनिँदै आएको पाइन्छ । उनलाई त्यस बेला उत्तर—पश्चिमी अवधमा शिला स्तम्भको प्रिन्ट लिने कार्यका लागि नियुक्त गरिएको थियो । तर, वर्ल्ड हिस्टोरी एन्साइक्लोपेडियामा जोसुआ जे. मार्कले फ्युरहरले लुम्बिनी पत्ता लगाएको भन्ने कुरालाई उपयुक्त कारण सहित चुनौती दिइएको लेखेका छन् । उनका अनुसार बुद्ध जन्मस्थानको पहिचान गर्ने काम नेपालका पूर्व सैन्य कमाण्डर तथा तत्कालीन पाल्पाका बडाहाकिम खड्ग शमशेरले ई.स. १८९६ मा गरेका थिए ।
यो खबर उनले नजिकको भारतीय क्षेत्रका प्रशासक विसेन्ट अर्थरलाई दिएका थिए । त्यसपछि नेपाली मजदुरहरूलाई त्यहाँ खनन् गर्न पठाइएको थियो । फ्यूरहर यसभन्दा पहिले यो क्षेत्रमा आएका भए पनि अशोक स्तम्भको खबर पाएपछि अन्यत्रै कार्यक्षेत्र रहेका उनी त्यहाँ आइपुग्दा खड्ग शमशेरका कामदारहरूले सो स्तम्भको सरसफाइ गरिसकेका थिए ।
जोसआ मार्क लेख्छन्— उनको अशोक स्तम्भ पत्ता लगाएको दाबी कपोलकल्पित रहेको आरोप विसेन्ट अर्थरले कनिङ्घम समक्ष उजुरी गरेपछि फ्युरहरले आफ्नो अपराध स्वीकार गर्दै ई. सन् १८९८ मा पदबाट राजीनामा दिई भारत छोडेका थिए । स्वयं खड्ग शमशेरले लुम्बिनीका बारेमा भारतबाट प्रकाशित समाचार पत्र पायोनियरमा लेख पनि लेखेका थिए । उनले फ्युरहरलाई पत्रहरू पनि लेखेका थिए । हरिहरराज जोशीले ती पत्रहरू सङ्कलन गरेको भन्ने पनि कतै उल्लेख भएको पाइन्छ ।
(लेखक साहित्य र इतिहासका अध्येता हुनुहुन्छ ।)
प्रकाशित मिति : ३ पुस २०७८, शनिबार ९ : १७ बजे
प्रतिक्रिया