ब्रह्ममुहूर्त म टहल्न निस्केँ
अर्धजून ज्योति बनाई
बाधक प्रकृति आफै
गन्तव्य म स्वयं ।
माघको शीतले मेरो तालु भिजाइरहेछ
हात मेरा कठ्याङ्ग्रिएका छन्
मेरा पैताला ती माटोमा छरिएका ढुङ्गाको डोबले तताइरहेछन्
म हिँडिरहेछु दिशा पछ्याउँदै ।
म रगड्छु हात
शरीरमै कणहरूको कम्पन हुन्छ
बिस्तारै शरीरको ताप बढ्दै गएपछि
मेरो तालुबाट पस्ने अमृत र भित्र बढिरहेको ताप मिल्दा
उत्पन्न हुने झिल्काले मेरो चेतना बदल्छ होला कि नाइँ
खैर
निकै सानो स्वरले ऊँ पुकार्दै
जागेका घरहरूका ज्योति नियालेँ
अनि अडिएँ म अलिक अगाडि
बाटै ढाक्ने अँधेरो ।
हेर
यी कृत्रिम संरचनाले प्रकृति छेकेका छन्
तर चालेपछि अँध्यारोमा पाइला
घरसँगैको रुखको पनि छायाँ
सोचे जस्तो अँध्यारो पनि थिएन
अँध्यारो त केवल टाढाको प्रतीक
मुस्काएँ म अनि मनैले भन्यो
यी घर कसरी कृत्रिम
अस्तित्वमा रहेका सबै प्रकृति हैनन् र ?
प्रकाशित मिति : ३ पुस २०७८, शनिबार ८ : ११ बजे
प्रतिक्रिया