दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोरोनाबाट रुपन्देही र बाँके बढी प्रभावित

रुपन्देही – कोरोना भाइरस सङ्क्रमणबाट लुम्बिनी प्रदेशका रुपन्देही र बाँके सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाको प्रभाव बढेसँगै प्रदेशका अन्य जिल्लाका तुलनामा यी दुई जिल्लामा कोरोना सङ्क्रमित र मत्यु हुनेको सङ्ख्या बढी छ । मङ्गलबार साँझ ६ बजेदेखि अहिलेसम्म रुपन्देहीमा छ जना र बाँकेमा ११ गरी १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देहीको तिलोत्तमाका दुई जना, बुटवल उपमहानगरपालिकाका दुई जना, सैनामैना नगरपालिका र पाल्पाको तानसेनका एक÷एक जना सङ्क्रमितको मृत्यु भएको हो । मृतहरुमध्ये एक महिला र अन्य पुरुष हुन् । 
उनीहरुमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा मङ्गलबार मात्रै ४६ जनाको मृत्यु भएको थियो । यो सँगै प्रदेशमा मृतकको सङ्ख्या ९०२ पुगेको छ । लुम्बिनी प्रदेशमा १८ हजार ६३ जना कोरोना सङ्क्रमित छन् भने ३७ हजार २७३ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु

​​​​​​​बाँकेका अस्पतालमा भर्ना भएका थप ११ जना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ जना र शिक्षण अस्पताल कोहलपुरमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका­९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका­५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका­१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका­६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका­१ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका­२ निवासी ३० वर्षीया महिला, कोहलपुर नगरपालिका­१० निवासी ४५ वर्षीया महिला, कोहलपुर नगरपालिका­११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर नगरपालिका­१४ निवासी ६४ वर्षीय महिलाको पनि गएराति मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्ला भित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ पुगेको छ ।

आइसोलेशन ‘रिफर सेन्टर’ मात्रै

कोरोना सङ्क्रमितको उपचारका लागि दाङमा पालिकाले निर्माण गरेका आइसोलेशन कक्षमा उपकरण र जनशक्ति नहुँदा सदरमुकामका अस्पतालमा बिरामीको चाप धेरै भएको देखिन्छ । कतिपय पलिकामा अक्सिजनको व्यवस्था समेत छैन । स्थानीय पालिकाले १५ देखि २० शय्यासम्मको आइसोलेशन कक्ष निर्माण गरेका छन्  तर ती ‘रिफर सेन्टर’ मात्रै भएका छन् ।  

लमहीका एक महिलालाई एक्कासी अक्सिजन तह घटेको महसुश भयो । अघिल्लो दिनसम्म ठिकठाक भएको मान्छेलाई एक्कासी श्वासप्रश्वासमा समस्या आयो त्यसपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगियो । एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । बिरामीलाई व्यथाले च्याप्दै गयो,  जिल्लामा कोरोनाको उपचारका लागि सघन उपचार कक्षमा शय्या पाइएन । त्यसपछि परिवारका सदस्यले रु पाँच लाख ९४ हजार हेलिकप्टर भाडा तिरेर पोखरा लगे । त्यहाँ पु¥याएको अर्को दिन ती महिलाको मृत्यु भयो । देउखुरी क्षेत्रका चार स्थानीय तह मिलेर लमहीमा २५ शय्याको कोरोना अस्पताल बनाएका छन् । पर्याप्त मात्रामा अक्सिजन नभएका कारण त्यहाँ आउने बिरामीलाई उपचार गर्न नसकिएको लमहीका नगरप्रमुख कुलबहादुर केसीले बताउनुभयो । 

बङ्गलाचुली गाउँपालिकाले २५ शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा जम्मा नौ सङ्क्रमितमध्ये दुई जना पालिका बाहिर उपचारका लागि जानुपर्ने अवस्था आयो । अन्य घरमै आइसोलेसनमा रहेका गाउँपालिका उपाध्यक्ष यमुना थापाले जानकारी दिनुभयो । अक्सिजनको अभावका कारण कोभिडका बिरामीलाई रिफर सेन्टर मात्रै भएको छ ।  

गढवा गाउँपालिकाले पुरानो गाउँपालिकाको भवनमा निर्माण गरेको २० शय्याकोे आइसोलेशनमा पनि अक्सिजन र दक्ष जनशक्तिको अभाव छ । सेवा दिन सक्ने अवस्था नभएपछि सामान्य बाहेकका बिरामीलाई पठाउने गरेको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले बताउनुभयो । राजपुर बबई दङ्गीशरण पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले निर्माण गरेको आइसोलेशनमा पनि पर्याप्त अक्सिजन र जनशक्ति छैन । तुलसीपुर र घोराही उपमहानगरपालिकाले बनाएका अन्य आइसोलेशनमा पनि अक्सिजन अभावका कारण बिरामीकोे उपचारमा समस्या भएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : १७ बजे