साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेपालगञ्जको ऐतिहासिक संस्कृति रामलीला

राँझा (बाँके)। बाँकेको नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सवको संरक्षण गर्दै एक सय ५७औँ संस्करणको तयारी सुरु भएको छ ।

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५७औैँ संस्करणका लागि आवश्यक तयारी सुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि रामलीला महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै अध्यक्ष कनोडियाले यसवर्ष भारतको बृन्दावनबाट कलाकार ल्याउने गरी तयारी गरिएको जानकारी दिनुभयो । “रामलीला मञ्चन गर्न बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याउँछौँ । नेपालमा कलाकार उत्पादन गर्ने प्रयास गरे पनि सफल हुन नसकेपछि भारतबाट ल्याउने गरेका हौँ”, उहाँले भन्नुभयो ।

आगामी वर्षका लागि स्थानीयस्तरमा कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने योजना बनाइएको अध्यक्ष कनोडियाले उल्लेख गर्नुभयो । उहाँका अनुसार एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने गर्दछ ।

“समुदायस्तरबाट एक सय ५० वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिने गरिएकाले यसलाई हामीले पनि निरन्तारता दिँदै आएका छौँ, यो प्रयास चुनौतीपूर्ण भने अवश्य छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार मञ्चनको सतप्रतिशत खर्च समुदायको सहयोगबाट हुने गरेको छ ।

समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउँदै कनोडियाले यसमा स्थानीय सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एकसय ५३ र एकसय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतिकका रुपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन हुन्छ ।

चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा स्थानीयका साथै भारतका दर्शक पनि मध्यरातसम्म सहभागी हुने अध्यक्ष कनोडियाले जानकारी दिनुभयो । उहाँका अनुसार धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको सञ्चालक समितिका अध्यक्ष कानोडियाले बताउनुभयो । उहाँका अनुसार विश्वनाथ टण्डन, बद्रिनाथ टण्डन, पाटनदिन गुप्ता, जगदिशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुवात गर्नुभएको थियो ।

नेपालगञ्जको परम्परालाई जोगाइ राख्न सहयोग सङ्कलन गरेर महोत्सव गर्दै आइएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । उहाँका अनुसार विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीका साथै सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ६ : ४७ बजे