साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

हीरापाटाका एक सय ५० घरमा धारा जडान

वालिङ (स्याङ्जा) ।पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो । दरौँखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो ।

“सङ्घीय सरकारअन्तर्गत आव २०७४/७५ मा निर्माण सुरु भएको उक्त आयोजना कार्यान्वयनका लागि गण्डकी प्रदेशमा हस्तान्तरण भई आएको थियो”, उहाँले भन्नुभयो, “निर्माण सुरु भएदेखि क्रमिक रूपमा निर्माण सम्पन्न हुँदाको समयसम्म झण्डै रु चार करोड खर्च भएको छ ।” सङ्घीय सरकारबाट विनियोजन भएको रु तीन करोड ५४ लाख र स्थानीयको जनश्रमदान रु ४१ लाख गरी रु तीन करोड ९५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

“सञ्चालनमा आएको खानेपानी आयोजना गुणस्तर तथा शुद्धीकरणको नमूनाका रूपमा रहेको छ”, उहाँले भन्नुभयो, “पानी शुद्धीकरणका लागि फिल्टरलगायत उपकरण जडान गरिएको छ ।” निर्माण सुरु भएको सात वर्षपछि धारामा पानी आउँदा स्थानीयमा खुसी छाएको छ । योजना सम्पन्न भई सञ्चालनमा आएसँगै हीरापाटा, न्यौपाने थर, जामुने, देउराली, लौके, बगैँचा, मान्केस्वाँरा, भैरवथानका एक सय ५० घरका सात सय ९५ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ९ : ०७ बजे