साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सुरक्षित यात्रा र महँगी नियन्त्रणका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ।सांसदहरुले नजिकिँदै गएको चाडपर्वमा सुरक्षित यातायात सेवा र महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद बिजुला रायमाझीले आउँदै गरेको चाड दसँैमा काठमाडौँ उपत्यकाबाट लाखाँैको सङ्ख्यामा नागरिक बाहिरिने भन्दै लामो दूरीको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सवारी दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सडक मर्मत र सम्भार गर्न माग गर्नुभयो । “मनसुनका कारण पहाडका सडक क्षतविक्षत् छन । लामा दूरीका सडक जस्तै मुग्लिन–नारायणगढ, नारायणगढ–बुटवल खण्ड अत्यन्त जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ”, सांसद रायमाझीले भन्नुभयो, “उक्त सडक खण्डमा सामान्य समयमा पनि लामो समय जाममा बस्नुपर्ने बाध्यता छ । अब दसँैका समयमा काठमाडौँबाट बाहिरने यात्रु यही सडकमा हिँड्दा अवस्था के होला ?”

यस्तै, अर्का सांसद रामकृष्ण यादवले चाडपर्व नजिकिँदै गर्दा अहिल्यै दैनिक उपभोग्य खाद्यन्नको मूल्य वृद्धि हुन राम्रो सङ्केत नभएको बताउनुभयो । उहाँले अत्यावश्यक सेवा तथा उपभोग्य वस्तुको महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । “चाडपर्व लक्षित कालोबजारी र कृत्रिम अभावको नियन्त्रण गर्न आग्रह गर्छु”, सांसद यादवले भन्नुभयो ।

शून्य समयमा बोल्दै सांसद रेखा शर्माले पनि चाडपर्वको समयमा सडकको स्तरोउन्नति नहुँदा सडक दुर्घटना बढनेप्रति सचेत गराउनुभयो । उहाँले बुटवल–नारायणगढ सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै चाडपर्व लक्षित गरेर उक्त सडक तत्काल मर्मतसम्भार गर्न माग गर्नुभयो ।

सांसदहरु रोशन कार्की र रुक्मणी राना बराइलीले दसँैको मुखमा खाद्यान्नको मूल्यवृद्धि र अभावले आम नागरिकलाई चाडपर्वप्रतिको मनोविज्ञानमा डर पैदा गरेको गुनासो गर्नुभयो । उहाँहरुले बजारको अनुगमनसँगै सडक सुरक्षाका लागि आवश्यक सबै प्रकारको तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सभाको शून्य समयमा सांसदहरुले सर्वोच्च अदातले काठमाडौँ उपत्यकाको बागमतीसहितका नदी किनारामा निर्माण निषेधित क्षेत्र तोक्ने मापदण्डसम्बन्धी फैसलाप्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभएको छ ।

बागमतीसहितका नदी किनारामा २० मिटर खाली छाड्नुपर्ने फैसलाले धेरै घरपरिवार प्रभावित हुने भन्दै सांसद रामहरि खतिवडाले उक्त फैसलामाथि सरकारले छिट्टै पुनरावलोकन (भ्याकेट) को मा जान माग गर्नुभयो । “सर्वोच्च अदालतको फैसलाका कारण उपत्यकावासी जो नदी किनारामा बसोबास गरिरहेका छन्, उनीहरुको उठिबास हुने भएको छ । सरकारले भ्याकेटमा भएर जनतालाई सहज हुने काम गर्नुपर्छ”, सांसद खतिवडाले भन्नुभयो । सांसद खतिवडासँगै अर्का सांसद मेटमणि चौधरीले पनि उक्त फैसलाको भ्याकेटमा जान माग गर्नुभयो ।

शून्य समयमा सांसद लालप्रसाद सावा लिम्बूले लालपुर्जा वितरणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको लक्ष्यका बाबजुद पनि ठोस उपलब्धि हासिल नभएको भन्दै अधिकार सम्पन्न आयोग गठन गर्न माग गर्नुभयो । “१८ वटा भूमि आयोग गठन र विघटन भए तापनि १३ लाख भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले लालपुर्जा प्राप्त गर्न सकेका छैनन्”, सांसद लिम्बूले भन्नुभयो ।

सांसद भगवती चौधरीले मोरङ, सुनसरीस्थित बूढीखोला करिडोर योजना निर्माण अलपत्र परेको बताउनुभयो । यस्तै, सांसद भीमप्रसाद आचार्यले इनरुवा क्षेत्रको सडक निर्माणलाई तीव्रता दिन ध्यानाकर्षण गराउनुभयो । सांसद मनिष झाले धनुषा जिल्लामा पर्यटनको सम्भावनाका विषय उल्लेख गर्दै अध्यागमन कार्यालय र इलाका प्रशासन कार्यालयको यथाशीघ्र व्यवस्थापनको माग गर्नुभयो ।

सांसद माधव सापकोटाले दोलालघाटदेखि तातोपानीको सडक मर्मत एवं स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा सदनमा उठेको कुराप्रति सरकार जवाफादेही हुनुपर्ने सुझाब दिनुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले भारतीय पर्यटकको सवारी साधानमाथि लाग्ने कर वृद्धिले पर्यटकलाई हतोत्साहित गरेको बताउनुभयो । सांसद रणकुमारी बलम्पाकी मगरले मुलुकको समृद्धिका लागि सकारात्मक प्रयास र उदाहरण छायाँमा परेको गुनासो गर्नुभयो । सांसद रणेन्द्र बरालीले सत्तापक्ष र प्रतिपक्षबीच मुलुक निर्माणका लागि एक हुन सुझाव दिनुभयो । सांसद रेखा यादवले खेलाडीप्रति सरकारले लगानी बढाउन जोड दिनुभयो । सांसद लक्ष्मी तिवरीले मङ्की पक्सबारे सतर्कता अपनाउन देशका विभिन्न सीमामा विशेष सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन सचेत गराउनुभयो ।

सांसद मुक्ताकुमारी यादव, सांसद मेनकाकुमारी पोखरेल, रमा कोइराला पौडेल र राजेन्द्र बजगाइँले मुलुकको समग्र विकास एवं समृद्धिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । शून्य समयमा नेपाली कांग्रेसका सांसदहरुले बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा उहाँको स्मरणसमेत गर्नुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ३६ बजे