साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

पर्वत।दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार अभावमा ओझेलमा परेको हो ।

नेपाल एकीकरणपूर्व चौबीसे राज्यकालमा शक्तिशाली मानिने लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालका रूपमा प्रयोग हुने सामग्री रहेका छन् । ती ऐतिहासिक तथा पुरातात्विक सामग्री संरक्षण अभावमा हराउने खतरा बढेको छ ।

भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबीसेकालमा शक्तिशाली मानिन्थ्यो । यहाँ अहिले मन्दिर र सत्तल रहेको छ । सत्तलको एउटा दराजमा युद्धमा प्रयोग भएका दरबार, खुँडा, गैँडाको छालाबाट बनेका ढाल रहेका छन् । तर यी सामग्री रङरोगन गरिएकाले तिनको ऐतिहासिकता हराएको छ ।

कुनै–कुनै हतियारमा सन् १७३४ एडी लेखेको समेत भेटिएको स्थानीय अगुवा धनबहादुर थापाले बताउनुभो । पुरातात्विक महत्त्व बोकेका यस्ता सामग्री हराउन थालेपछि स्थानीयस्तरबाट संरक्षणको प्रयास थालिएको उहाँको भनाइ छ ।

तत्कालीन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निकै पराक्रमी थिए । उनका छोरा चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन नसकेको इतिहास छ । पैंयुकोटे राजाले जासुसी गरेर चन्द्र सिंहका छोरा विहादीको फाँटमा रोपाइँ गर्न गएको मौकामा लुमरेङकोटमा आक्रमण गरेका थिए ।

आक्रमणमा परेर चन्द्रसिंहको कोटमै मृत्यु भएको थियो भने एकजना छोराको बीच भागमा र अर्का एक जनाको रोपाइँ गर्ने स्थानमा मृत्यु भएको इतिहास भएको थापाले जानकारी दिनुभयो । रोपाइँका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानीय दमाई जातिको घरमा अझै भेटिन्छन् । त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैँयुकोटमा सरेको थियो ।

पर्वतको बिहादी, पैँयु गाउँपालिकाको अग्लो भूभागमा रहेको कोटबाट टाढा टाढाका दृश्य हेर्न सकिन्छ । यहाँ वनभोज खान विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन् । गत वर्ष यहाँबाट प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ । यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताउनुभयो । वनभोज र प्याराग्लाइडिङको गन्तव्य बनाउन गाउँपालिकाले प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

यहाँ रहेका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीको संरक्षण गर्न पालिकाले काम गरिरहेको जनाएको छ । यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४० बजे