साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नीतिगत नेतृत्वले मात्र समाज परिवर्तन गर्न सक्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका हरेक क्षेत्र माथि अविश्वास र चुनौती सिर्जना गरिएको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित अन्य ट्रेड युनियन तथा संघ संगठनबाट एकीकृत र सामूहिक संगठन प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हरेक व्यक्ति र संस्था माथि मानिसले प्रश्न उठाउने गरेका बताउनुभयो । ‘कोही यस्तो छैन कि मानिसहरूले गर्व गरुन्’ उहाँले भन्नुभयो ।

अहिले राष्ट्रले भरोसा नै गर्न नसक्ने मानिसहरू समाजको चर्चामा रहेका पोखरेलले बताउनुभयो । निराशा र कुण्ठाका बिचमा त्यस्ता मानिसहरूले खेल्ने गरेका पोखरेलको भनाइ छ । त्यस्ता मानिसहरूको कारण देश थप संकटमा परेको पोखरेलको धारणा छ ।

पोखरेलले नीतिगत नेतृत्वले मात्र समाज परिवर्तन गर्न सक्ने बताउँदै नीतिगत नेतृत्वबिना समाजलाई सही बाटो दिन तथा विकास र समृद्धिको बाटोमा लैजान नसकिने बताउनुभयो । नेपालकै छिमेकीले यस बिचमा ठुलो प्रगति गर्नुको पछाडि स्थायी सरकार भएको पोखरेलले स्पष्ट पार्नुभयो । ‘राजनीति अस्थिरताको कारण नेपाल बन्न नसकेको हो भन्ने कुराको सच्चाइ हामीले बुझ्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।

एउटा बलियो शक्ति नहुनुको परिणाम नेपालमा आवश्यक कानुन समेत बन्न नसकेका पोखरेलले बताउनुभयो । त्यसैले मुलुकलाई सही हिसाबले अघि बढाउने हो भने बलियो र निर्णायक राष्ट्रिय शक्ति आवश्यक पर्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
सामाजिक मूल्यको विगठन गरेर राष्ट्रलाई कमजोर बनाउने एक खालका शक्ति लागेका बताउँदै पोखरेलले मौलिक संस्कृतिको संरक्षण महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि मौलिक संस्कृति संरक्षण आवश्यक रहेको पोखरेलले बताउनुभयो । नेपालको संस्कृति माथि जातीय अतिवाद, धार्मिक अतिवाद र धार्मान्तरणले आक्रमण गरिरहेको पोखरेलको भनाई छ ।

आज मुलुक चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउँदै पोखरेलले यसको अन्त्यका लागि उत्पादन अभिवृद्धिको काममा लाग्नु पर्नेमा जोड दिनुभयो । राजनीतिक दललाई कमजोर गराएर समृद्धिको यात्रा सम्भव हुँदैन भन्ने कुरा बिर्सन नहुने पोखरेलको भनाइ छ ।

समृद्ध नेपाल सुखी नेपाली परिकल्पनाकार केपी शर्मा ओली माथि अहिले पनि चौतर्फी घेराबन्दी रहेको पोखरेलले बताउनुभयो । त्यसैले उहाँको अभियानको पक्षमा एक भएर नेपाली जनता लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । राज्य र जनतालाई जोडेर यो अभियान अघि बढाउनु पर्ने पोखरेलले बताउनुभयो । यो काम निजामती प्रशासनले गर्न सक्ने पोखरेलको धारणा छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ५ : २६ बजे