साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

केरा खेती मासेर व्यवसायीक मकै खेती

बेलबारी (मोरङ)। कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । प्रदेशमा गतवर्ष नौ लाख ७२ हजार ७३ मेट्रिकटन मकै उत्पादन भएकामा यस वर्ष ११ लाख ३४ हजार ८२६ दशमलव ९५ मेट्रिकटन उत्पादन भएको हो ।

गत आर्थिक वर्ष २०७९÷८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार तीन सय ४० हेक्टरमा मकैखेती गरिएको थियो भने आव २०८०÷८१ मा दुई लाख ७५ हजार नौ सय ५१ हेक्टरमा मकैखेती गरिएको निर्देशनालयले जनाएको छ । क्षेत्रफल घट्दा पनि उत्पादनमा भने वृद्धि भएको देखिन्छ । अघिल्लो आवमा प्रति हेक्टर ३ दशमलव ४२ मेट्रिकटन मकै उत्पादन भएकोमा पछिल्लो वर्ष प्रति हेक्टर ४ दशमलव ११ मेट्रिकटन मकै उत्पादन भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम खोटाङमा प्रति हेक्टर १ दशमलव ८३ मेट्रिकटन र सबैभन्दा धेरै झापामा प्रति हेक्टर ७ दशमलव ८७ मेट्रिकटन मकै उत्पादन भएकोे छ ।

मकैको उत्पादन बढेसँगै किसान खुसी छन् । मोरङ बेलबारी १० भाउन्नेकी हिरा अधिकारीले केरा खेती मासेर व्यवसायीक मकै खेती गर्दै आएको बताउनुभयो । उहाँले मौसममा डेड बिघा जमिनमा मकै खेती गरेता पनि बेमौसममा आठदेखि १० कठ्ठा जमिनमा छवर्षदेखि मकै खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “गत वर्ष सात कठ्ठा जमिनमा लगाएको मकै ९० हजारमा विक्री भयो ।”

किसान अधिकारी जस्तै बेलबारी–८ राधानगरका महेन्द्र तामाङले १४ कठ्ठा जमिनमा मकै लगाउने गर्नुभएको छ । किसानको घरदैलोमै आएर व्यापारीले आकर्षक मूल्यमा मकै खरिद गर्न थालेपछि खुसी भएको उहाँ बताउनुहुन्छ । खाद्यान्न बालीका रुपमा लिइने मकै बाली पछिल्लो समय तराईका जिल्लामा बाहै्र महिना उत्पादन गर्न थालेसँगै नगदे बालीको रुपमा परिणत हुँदै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी बताउनुहुन्छ ।

सुकेको मकैभन्दा हरियो मकै बेच्न सक्दा राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो । मकैको माग अत्यधिक रहेको छ, यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने प्रमुख डाँगी बताउनुहुन्छ । परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुुन थालेपछि तराई क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रुपमा हाइब्रिड जातको मकैखेती गर्न थाल्नुभएको छ ।

तराइमा विशेषगरी हाइब्रिडअन्तर्गत पर्ने पाइजियर एक्स टि, रामपुर र पहाडमा विशेषगरी उन्नत जातमा रामपुर कम्पोजिट, मनकामना, गणेश साथै स्थानीय जातका मकै रोप्ने चलन रहेको निर्देशनालयका योजना शाखा अधिकृत काजिमान प्रधानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ४ : १२ बजे