देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वेस्ट बैङ्कमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग

वेस्ट बैङ्कमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा टर्की र अमेरिकाको दोहोरो नागरिकता भएकी महिलाको गोली हानी गरिएको हत्याको परिवारले स्वतन्त्र छानबिनको माग गरेको छ ।

परिवारले इजरायली सेनाले एक महिलालाई टाउकोमा गोली हानी हत्या गरेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ ।

वैस्ट बैङ्कको बेइटामा शुक्रबार भएको प्रदर्शनमा भाग लिने क्रममा २६ वर्षीय आइसेनुर एज्जी आइगीको टाउकोमा गोली लागेको थियो ।

“हाम्रो जीवनमा उहाँको उपस्थितिलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा लिएको थियो,” आइगीको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शान्तिपूर्वक न्यायका लागि आवाज उठाएकी आइसेनुरको गोली लागेर मृत्यु भएको थियो।

विज्ञप्तिमा भनिएको छ, “हामी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई एक अमेरिकी नागरिकको गैरकानुनी हत्याको स्वतन्त्र अनुसन्धानको आदेश दिन र दोषी पक्षहरूको पूर्ण जवाफदेहीता सुनिश्चित गर्न आह्वान गर्दछौं।”

इजरायली सेनाले प्रदर्शनका क्रममा सेनामाथि ढुङ्गा प्रहार गर्ने र उनीहरूका लागि खतरा उत्पन्न गर्ने हिंसात्मक गतिविधिका मुख्य उक्साहटकर्तालाई आफ्नो सेनाले गोली चलाएको बताएको छ ।

इन्टरनेसनल सोलिडारिटी मुभमेन्ट (आईएसएम) का अनुसार आइगी आईएसएमकी सदस्य हनुहुन्थ्यो र उहाँ इजरायली बस्ती विस्तारको विरोधमा बेइटा भएको साप्ताहिक प्रदर्शनमा ऐक्यवद्धता प्रकट गर्न शुक्रबार बेइटामा पुग्नुभएको थियो ।

हालैका वर्षहरूमा, प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले बेइटाको छेउछाउमासाप्ताहिक विरोध प्रदर्शनहरू गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालय र राफिडिया अस्पतालका अनुसार शुक्रबारको प्रदर्शनका क्रममा आइगीको टाउकोमा गोली लागेको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई ‘बर्बर’ भन्दै निन्दा गर्नुभएको छ ।
वासिङ्टनले यसलाई ‘दुःखद’ घटना भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ ।

तर उहाँको परिवारले भने स्वतन्त्र छानबिनको लागी माग गरेको छ ।

“आइगीको हत्याको परिस्थितिलाई ध्यानमा राख्दै इजरायली अनुसन्धान पर्याप्त छैन,” मृतक महिलाको परिवारले भनेको छ।

उहाँको परिवारले आइगीले सधैं प्यालेस्टिनीका जनताविरुद्ध हुने हिंसा अन्त्यको वकालत गरेको बताएको छ ।

करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैङ्कमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन् ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएयता इजरायली सेना वा बासीन्दाहरूले वेस्ट बैङ्कमा ६९० भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार सोही अवधिमा प्यालेस्टाइनी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा २३ जना इजरायली मारिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  २ : ०९ बजे