‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विचार

नेमकिपाका एक कार्यकर्तासँग म्यासेन्जर सम्वाद

केही महिना यता भक्तपुर नगरपालिकाभित्र नेकपा(एमाले) घनीभूत रूपमा संगठन विस्तार गरिरहेको छ । साथसाथै भनपाभित्र लामो समयदेखि नेमकिपाले भक्तपुर नगरमा गरिरहेको नीतिगत भ्रष्टाचार गरेको, शिक्षण संस्थालाई आफ्नो पार्टीको अखडा बनाउने कार्य र जग्गा प्लटिङ गर्दा धेरै जनतालाई दु:ख दिएको, नगरपालिकामा तीस करोडभन्दा बढी बेरूजु खडा गरेको र पालिकाभित्र गरिबी र बेरोजगारी भयावह बनाएको लगायतका विषयमा एमालेले बुलन्द आवाज उठाउँदै आएको छ । नेमकिपाले बोकेका खोटा विचारको खण्डनलाई समेत एमालेले प्राथमिकतामा राखेको छ ।

भन्न परोइन, नेपाल मजदुर किसान पार्टी नेपालका साना वाम पार्टीमध्ये सबभन्दा अनौठो विचार र व्यवहार बोक्ने पार्टी हो । माओ विचारधारा कम, जुछे विचारधारा बढी बोक्ने नेमकिपा भने पञ्चायतकालदेखि निर्वाचन लड्दै आएको छ। एमाले, कांग्रेसजस्ता ठूला पार्टीलाई संसदवादी पार्टी भनेर गाली गरेर नथाक्ने नेमकिपा ०४८ सालदेखि हरेक संसदीय चुनाव लड्दै आएको छ । स्थानीय सत्ताका हरेक पद नछोडे पनि संघीय र प्रदेशको सत्तामा ‘पूँजीवादी सत्तामा नजाने’ भनेर सधैं अलग बस्दै आएको छ । संघीय र प्रदेशमा जितेका नेमकिपाका प्रतिनिधिको काम नै विरोध गर्नु हो । आफ्नो प्रभाव क्षेत्र भक्तपुरका जनतालाई नकारात्मकता र भ्रम छर्नु हो । सर्वविदितै छ, करिव आठ दशक अघि विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेका दुई विचारहरू-माओ विचारधारा र जुछे विचारधारा-एक्काइसौं शताब्दीमा संसारको कुनै पनि कुनामा लागू हुन नसक्ने हालतमा छन् । तर नेमकिपा ती विचारलाई भक्तपुर नगरमा लागू गर्ने बताइरहेको छ । विगतमा भक्तपुर नगरको विकासमा ठूलै लगानी गरेको जिटिजड जर्मन संस्थालगायतलाई भगाएको नेमकिपाले भक्तपुर नगरमा कुनै सामाजिक संस्था छिर्न दिएको छैन । नेमकिपाले भक्तपुर नगरका विविध संस्कृति र संस्कारलाई अन्तराष्ट्रियकरण गर्न चाहने National Geography च्यानललाई त्यसो गर्न अनुमति मात्र दिएको छैन , पाँच कक्षा पढ्ने अबोध वालवालिकालाई नेमकिपाको झण्डा बोक्न लगाएर, विद्यालय र कलेजका कक्षा कोठा, सभाहल, कम्पाउन्ड नेमकिपाका बैठक र भेला स्थल बनाएर, ख्वप कलेज र भक्तपुर नगरका विध्यालयमा कार्यरत शिक्षक-कर्मचारी, नगरपालिकाका कर्मचारीबाट चर्को पार्टी लेवी उठाएर उत्तर कोरियाकै शासन शैली भक्तपुरमा सुरू गरेको छ ।

नेमकिपा भक्तपुर नगरका विद्यार्थी भक्तपुर नगरभित्रै रहेका आफूले ब्रेन वास गरेका शिक्षक र प्राध्यापकबाट पढुन् भन्ने मान्यता राख्दछ । उसले गर्ने ख्वप विश्वविद्यालयको रोड्याईं पनि यही राजनीतिक स्वार्थको आधारमा अगाडि आएको हो । भक्तपुर नगरलाई संसारबाट अलग बनाएर आफ्नो राजनीतिको रोटी सेक्ने दाउमा छ नेमकिपा । भक्तपुर नगरबाट शिक्षा, राजनीति,उद्योग, व्यापार-व्यवसाय आदिमा कसैले पनि राष्ट्रियस्तरको हैसियत कायम नगरोस् भन्ने मनसाय बोकेको नेमकिपाले जनताको हितमा कुनै उल्लेख्य काम गर्न सकेको छैन्।

नेमकिपाले आफ्ना नेता-कार्यकर्तालाई अरू पार्टीका नेता-कार्यकर्तासँग घुलमिल हुन दिदैन । खुल्ला राजनीतिक छलफल बहस गर्न दिदैन । यतिसम्म कि पार्टीको अनुमति नलिइ योग साधना समूहमा सामेल भएको आरोपमा पार्टीबाट कार्बाही गरिएका मानिस समेत भेटिन थालेका छन् । कोही कार्यकर्ता अलिकतिमात्र आलोचक निस्केमा उसले ‘ह्योजु बन्लास्’ भन्ने धम्कीको सामना गर्नु पर्छ । आश्चार्य त के छ भने, उनीहरूका गलत चिन्तन, प्रवृत्ति र व्यवहारको विरोध गरिएका मेरा भाषणका केही भिडिओ क्लिप भक्तपुर नगरमा भाइरल भएपछि नेमकिपाले ‘ह्योजु हत्याकाण्ड किन ठीक थियो?’ भन्ने विषयमा एक महिने अभियान नै सञ्चालन गर्‍यो !

सधैं अरूको विरोध गरेर नथाक्ने नेमकिपा मैले र एमालेका अरू नेताले उनीहरूले गरेका भ्रष्टाचार, वेथिति र विभेदलाई सतहमा ल्याएपछि हैरान भएको छ । यही क्रममा नेमकिपाका धेरै नेता-कार्यकर्ताहरू मसँग सामाजिक सञ्जालमा जोडिन आइपुगे । सामाजिक सञ्जालमा उनीहरूसँग लामा-लामा वैचारिक र राजनीतिक बहस भए । तीमध्ये नेमकिपाका एक जागरूक, राजनीतिलाई विचारसँग जोड्ने युवा नेता (नाम उल्लेख गर्दा उहाँलाई अप्ठ्यारो पर्ने भएकोले) सँग भएको म्यासेन्जर सम्बादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

“नेमकिपा काल्पनिक समाजवादमा विश्वास गर्दैन ।बाघ र बाख्रा एउटै खोरमा बस्न सक्दैन । त्यस्तै गरिब र धनी । यो संसारमा दुई वर्गमात्र छ ।यो संसारमा अल्पमतले बहुमतलाई अत्याचारपूर्वक शासन चलाएको छ”।

“त्यो त मार्क्सको पालाको कुरा भयो । त्यतिबेलाको सम्पत्ति र अहिलेको सम्पत्तिको प्रकार नै फरक छ । फेसबुकका मालिक मार्क जुकरवर्गसँग जमिन र कलकारखाना छैन तर एउटा ल्यापटपको सहायताले उ संसारको धनि व्यक्ति बनेको छ ।हिजोको वर्ग विश्लेषण र आजको वर्ग विश्लेषण नै फरक छ । रोहितले पढेका पुराना किताबको आधारमा अबको कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन कमरेड”।

“मार्क्सवाद सार्वभौम सिध्दान्त हो । संसारमा आ-आफ्नो देशको परिस्थिति अनुसार कम्युनिष्टहरूले लागू गर्ने हो।चीन, रुस,उत्तर कोरिया, भियतनाम,क्युबा,भेनेजुयला,लाओस ।तर नेपालका ठूला कम्युनिष्ट पार्टी हजुरहरू बुझ्नुहुन्न ।हजुरहरूलाई त अहिले नै समाजवाद आएजस्तो छ”। हजुरहरू पटक-पटक सत्तामा पुग्दा के भयो र ? गरिबलाई के भयो ?”

“नेकपा(एमाले)ले सत्तामा रहँदा जनताको मुहार फेर्ने काम गरेको छ । ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमले स्थानीय विकासको परिपाटी बदलिदियो, एमालेले सुरू गरेको सामाजिक सुरक्षा कार्यक्रमले सामाजिक समानता र जेष्ठ नागरिक, महिला, दलित, अपाङ्ग, एकल महिला र अन्य सिमान्तकृत जातजाति र समुदायलाई राष्ट्रिय मूलधारमा ल्याएको छ । अघिल्लो ओली सरकार जसले नेपालको नक्सा बढाउने काम गर्‍यो । देशलाई एमालेले समाजवादी मार्गमा डोहोर्‍याउन भगीरथ प्रयत्न गरिरहेको छ। तपाईंले देख्नुभएको छैन ? यति गर्ने एमालेलाई तपाईं किन आलोचनामात्र गर्नुहुन्छ?”

“एमाले मार्क्सवादबाट विचलित भयो । जनताको बहुदलीय जनवादले एमालेलाई संसदवादी पार्टी बनायो । संसदवादमा मलाई विश्वास छैन”।

“विचलन सबैतिर छ । माओ र किम इल सुङले कहिल्यै संसदीय चुनाव लड्नु भएन । उहाँहरूलाई आफ्नो आदर्श मान्ने नेमकिपा यहाँ सधैं संसदीय चुनाव लडिरहेको छ”।

“नेमकिपा सशस्त्र क्रान्तिबाट मात्र राज्यसत्ता कब्जा गर्नुपर्छ भन्नेमा विश्वास राख्छ”।

“विश्वास त गर्न सकिने भो । तर अबको युगमा त्यस्तो कहिल्यै संभव हुदैन । संसदीय चुनाव नछोड्ने,सशस्त्र क्रान्तिको माला जपेर हुन्छ के ? यस्ता विषयबारे नारायणमानजीलाई सोध्नुहुन्न कहिल्यै ? उहाँको अगाडि पर्दै तपाईंको खुट्टा लगलग होला ! सशस्त्र क्रान्ति र संसदीय चुनाव कसरी सँगै जान्छन् भनेर सोध्नुस् न नारायणमानजीलाई एकपटक । उहाँले लेनिनले पनि संसदीय चुनाव लड्नु भएको थियो भनेर तपाईलाई भ्रम छर्नु होला । त्यो अर्कै प्रसङ्ग र अवस्था थियो।”

हाम्रो बहस भर्खर सुरू भएको छ । गहन बहस हुनै बाँकी छ । यसैको माध्यमबाट भक्तपुरको मुहार फेर्नुछ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १ : ४३ बजे