परिचय
बौद्ध दर्शनमा चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग प्रसिद्ध छन् । चार आर्य सत्यका बारेमा यसअघि नै चर्चा भइसकेको छ । यहाँ अष्टाङ्गिक मार्ग प्रस्तुत छ ।
चार आर्य सत्यमध्ये चौँथो मार्ग सत्य हो । दुःखलाई निर्मूलीकरण गर्नका लागि व्यक्ति आफैले निश्चित मार्गको अनुसरण गर्नुपर्ने हुन्छ । यस्तो मार्ग, जहाँ निश्चितता होस् । यस्तो बाटो, जसले गन्तव्यसम्म पुर्याओस् । बुद्धले तय गरेको मार्गमा निश्चितता छ । त्यहाँ गन्तव्य अर्थात् निर्वाणमा नपुगिने सम्भावना छैन । त्यसैले त्यो आर्य मार्ग हो । यसका आठ विशेष अङ्गहरू छन् । त्यसैले यसलाई आर्य अष्टाङ्गिक मार्ग भनिन्छ । ‘दुःखनिरोधगामिनी प्रतिपद्’ यसको अर्को विशिष्ट नाम हो । कारण, यो दुःख निरोधका लागि अपनाइने ज्ञानको बाटो हो । सबै खाले अतिबाट मुक्त हुनाले यसलाई ‘मध्यम प्रतिपद्’ पनि भनिन्छ ।
आठ अङ्गहरू दुःखको शमन गरी शान्ति लाभ गर्नु संसारका सबै प्राणीको स्वभाव हो । तर, दुःखलाई फेरि उत्पन्न हुन नदिनु चुनौतीपूर्ण विषय हो । बुद्धले दुःख निरोधका आठ अङ्गहरूका बारेमा बताएर सबैलाई सहज बनाइदिनुभएको छ । यी अङ्गहरू नै प्रज्ञाको सोपान हो ।
ती अङ्गहरू यस प्रकार छन्–
सम्यक् दृष्टि, सम्यक् सङ्कल्प (शीलको सोपान), सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीव(समाधिको सोपान), सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि ।
बौद्ध दर्शनका मुख्य आयाम छन् । ती हुन्— शील, समाधि र प्रज्ञा । आर्य अष्टाङ्गिक मार्ग यिनै तीन वटा साधनको विकसित रूप हो । अनुभूतिका लागि स्वयं आचरणमा खरो उत्रिनुपर्ने बुद्धको आशय देखिन्छ । आफ्ना शिष्यहरूलाई सम्झाउँदै बुद्ध भन्नुहुन्छ– ‘हे भिक्षुहरू, तिमीहरूले नै मेहनत गर्नुपर्छ । सुनेर मात्र दुःखबाट कहिल्यै मुक्ति मिल्दैन । त्यसका लागि स्वयं उद्यम गर्नुपर्छ । मार्गमा लागेर ध्यान गर्ने व्यक्ति नै दुःखबाट मुक्त हुन्छ । उद्यम र स्वावलम्बनको योभन्दा उत्तम शिक्षा अर्को के हुन सक्छ ?’ बुद्धले आफ्ना शिष्यहरूलाई भन्नुभएको छ, ‘बाटो बताइदिने मेरो कार्य हो र बाटोमा हिँड्ने तिमीहरूको कार्य हो ।’
सम्यक् दृष्टि
दृष्टिको सामान्य अर्थ हेर्नु वा देख्नु हो । यहाँ दृष्टिको अर्थ हो, ज्ञान, विचार वा सिद्धान्त । सम्यक् शब्दले राम्रो भन्ने अर्थ बुझाउँछ । बौद्ध सन्दर्भमा सम्यक् दृष्टिले धेरै ठुलो अर्थ बोकेको हुन्छ । कारण, बुद्धको समग्र उपदेश नै व्यक्तिलाई गलत बुझाइबाट माथि उठाउनु हो । कुशल—अकुशल कर्मको रहस्य जान्नु सम्यक् दृष्टि हो । अकुशल कर्मको मूल लोभ, द्वेष र मोह हुन् । यसको विपरीत कुशल कर्मको मूल अलोभ, अद्वेष र अमोह हुन् । यसको ज्ञान राख्नु सम्यक् दृष्टि हो । सम्यक् दृष्टिलाई दुई प्रकारले बुझ्न सकिन्छ– लौकिक सम्यक् दृष्टि र लोकोत्तर सम्यक् दृष्टि । लोकका सबैलाई कुशल कर्मद्वारा सुखी र समृद्ध बनाउने दृष्टिकोण लौकिक सम्यक् दृष्टि हो । वस्तुको वास्तविक स्वभाव जस्तो छ त्यस्तै देख्नु लोकोत्तर सम्यक् दृष्टि हो
सम्यक् सङ्कल्प
दृष्टि स्पष्ट भएपछि अठोट पनि स्पष्ट हुन्छ । अतः अष्टाङ्गिक मार्गको दोस्रो क्रममा सम्यक् सङ्कल्पलाई राखिएको छ । इन्द्रियद्वारा विषयको असीमित सेवन नगर्ने दृढ निश्चय गर्नु सम्यक् सङ्कल्प हो । त्यस्तै, कसैप्रति क्रोध र हिंसा नगर्ने अठोट गर्नु पनि सम्यक् सङ्कल्प हो ।
सम्यक् सङ्कल्पलाई चार किसिमबाट बुझ्न सकिन्छ । ती यस प्रकार छन् —
१.नैष्क्रम्य सङ्कल्प
२.अव्यापाद सङ्कल्प
३.अविहिंसा सङ्कल्प
४.बोधिचित्त सङ्कल्प ।
संसारको छटपटी र तनावबाट निराश नबनी दुःखबाट बाहिर निस्कने अठोट नै नैष्क्रम्य सङ्कल्प हो । अरूलाई सुख दिने चाहना गर्नु अव्यापाद सङ्कल्प हो । प्राणीहरू दुःखबाट मुक्त होउन् भन्ने करुणापूर्ण चाहना अविहिंसा सङ्कल्प हो । सबै प्राणीलाई दुःखबाट मुक्त गर्ने उदार आशयका साथ आफू बौद्ध मार्गमा लाग्ने निश्चय गर्नु बोधिचित्त सङ्कल्प हो ।
सम्यक् वचन
अरूलाई पीडा, पश्चात्ताप र कष्ट नपुर्याउने बोली नै सम्यक् वचन हो । दोस्रो व्यक्तिलाई हानी हुने तथा खराब मार्गमा लाने वचन नबोल्नु सम्यक् वचनको अभ्यास गर्नु हो । यस्तो वचन नबोलियोस्, जुन अरूको मनमा बिझाउँछ । यस्तो वाणी मुखबाट ननिस्कोस्, जसले अरूलाई गलत सूचना दिन्छ । अरूको चुग्ली लगाउने काम पनि नहोस् र अनावश्यक बकबक गरेर अरूलाई झिजो नलगाइयोस् । यी सबै सम्यक् वचनभित्र पर्छन् ।
सम्यक् कर्मान्त
कामको निष्कर्षलाई कर्मान्त भनिन्छ । गरिएको कर्मले आफ्नो तथा अरूको पनि हित ग¥यो भने त्यो सम्यक् कर्मान्त हुन्छ । तर, यसो भन्दैमा खराब आशय राखेर मिलेमतोमा गरिएको भ्रष्टाचार आदि कृत्य पनि सम्यक् कर्मान्त हुँदैन । आशयका आधारमा कुनै कर्म राम्रो या नराम्रो हुन्छ । अतः सधैँ सदाशयताका साथ कुशल कर्म गर्ने प्रयास गर्नु सम्यक् कर्मान्तको अभ्यास हो । हामीले मन, वचन र शरीरद्वारा कर्म गरिरहेका हुन्छौँ ।
त्यसको सूची तल तालिकामा दिइएको छः–
सम्यक् आजीव
सुकर्म गरी जीविका चलाउनु सम्यक् आजीव हो । दैनिक व्यवहारमा शुद्धि आयो भने जीविका पनि राम्रो बन्छ । अतः जुनसुकै व्यक्तिको पनि जीविकाको शुद्धि अत्यन्त महत्त्वपूर्ण हुन्छ । बुद्धले प्रव्रजित तथा गृहस्थ समेतका लागि सम्यक् आजीवका सिमाना निर्धारण गरिदिनुभएको पाइन्छ । बुद्धका अनुसार प्रव्रजितले आफूबाट निम्न कुरा नहोस् भनेर सचेत रहनुपर्छ:–
कुहनाः कसैले दान देला भनेर बाटो—घाटो या एकान्तमा पलेँटी कसेर बस्ने वा त्यो आशयले सूत्र पाठ गर्ने,
लपनाः दान र सम्मानको आशाले अनावश्यक नाता जोडेर बोल्ने,
नैमित्तिकत्वः कसैले केही दियो वा खुवायो भने आगामी दिनमा पनि पाउने आशाले चाहिनेभन्दा बढी प्रशंसा गर्ने,
नैष्पेशिकत्वः कसैले आफूलाई भोजन, दान आदि दिएन भने पाप—धर्म र स्वर्ग—नर्कको उपदेश दिएर तर्साउने,
लाभप्रतिकाङ्क्षाः व्यक्तिगत लगानीमा राम्रा उपभोग्य वस्तु किनी अरूलाई प्रदर्शन गर्नु ताकि अरूले लाजले पनि राम्रो चीवर आदि दान गरून् ।
बुद्धका अनुसार गृहस्थले निम्न माध्यमबाट जीविकोपार्जन गर्न हुँदैन:–
- विषको व्यापार
- हातहतियारको व्यापार
- प्राणीको व्यापार
- मादक पदार्थको व्यापार
- मासुको व्यापार
सम्यक् व्यायाम
सामान्य अर्थमा व्यायाम भन्नाले अभ्यास वा मेहनत भन्ने बुझिन्छ । इन्द्रियहरूलाई संयम राख्नु, गलत भावनाहरूको निरोध गर्नु, असल भावनाको विकासका लागि प्रयत्न गर्नु सम्यक् व्यायाम हो । राग, द्वेष र मोहबाट अलग हुनका लागि गरिने प्रयत्न पनि सम्यक् व्यायाम हो ।
सारांशमा सम्यक् व्यायामभित्र–
- उत्पन्न नभएको अकुशल चित्त उत्पन्न हुन नदिने,
- उत्पन्न भएको अकुशल चित्तलाई त्याग्ने,
- उत्पन्न नभएको कुशल चित्तलाई उत्पन्न गर्ने,
- उत्पन्न भएको कुशल चित्तको संरक्षण गर्ने कुराहरू पर्दछन् ।
सम्यक् स्मृति
स्मृतिको अर्थ हो, सम्झिनु । कुशल कर्मको सम्झना सम्यक् स्मृति हो । मनलाई अकुशलतर्फ ढल्किन नदिनका लागि कुशल कुराको स्मृति गरिराख्न आवश्यक हुन्छ । यसका लागि चार स्मृति उपस्थापनहरू प्रयोग गरिन्छ । ती हुन्–
- कायानुस्मृति– शरीरको वास्तविक स्वभावलाई याद गरिरहने,
- वेदनानुस्मृति– उदय र व्यय हुने वेदनाको स्वभावलाई याद गर्ने,
- चित्तानुस्मृति– चित्तको विविध अवस्थालाई स्मृतिमा राख्ने,
- धर्मानुस्मृति– वस्तुको स्वभावलाई ठिकसँग सम्झने,
आशक्ति र क्लेश बढाउने स्मृतिको अवलम्बन गर्न हुँदैन । अतः क्लेशरहित हुनका लागि बुद्धानुस्मृति, धर्मानुस्मृति, संघानुस्मृति, त्यागानुस्मृति, देवानुस्मृति र उपशमानुस्मृति पनि सम्यक् स्मृतिका रूपमा अभ्यास गर्न सकिन्छ ।
सम्यक् समाधि
चित्तको एकाग्र अवस्था शमथ(शान्ति)को अवस्था हो । चित्तलाई एकाग्र बनाउनका लागि उपयोग गरिएको वस्तुलाई आलम्बन भनिन्छ । आलम्बनमा एकाग्र मनलाई अड्याएपछि समाधि फलित हुन्छ । मनलाई क्लेशरहित बनाउने समाधि नै सम्यक् समाधि हो । त्यस्तो समाधिले साधकलाई मुक्तितर्फ लान्छ । सम्यक् समाधिमा चार शमथ ध्यानहरू पर्छन् । ती हुन्–
- प्रथम ध्यानः वितर्क विचार, प्रीति, सुख र एकाग्रता सहितको
- द्वितीय ध्यानः प्रीति, सुख र एकाग्रता सहितको
- तृतीय ध्यानः सुख र एकाग्रता सहितको
- चतुर्थ ध्यानः होस र उपेक्षा सहितको
यो चार तहको समाधिको समष्टि नै सम्यक् समाधि हो ।
(लेखक अध्येता तथा अभियन्ता हुनुहुन्छ, पत्रकारिता गर्नुहुन्छ ।)
प्रकाशित मिति : १ पुस २०७८, बिहिबार ९ : १४ बजे
प्रतिक्रिया