साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड

काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । आज देशभरका शिवालयहरूमा व्रत बस्ने महिलाहरूको भीड लाग्ने गर्दछ । 

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरूको भीड छ । अविवाहित महिलाले राम्रो श्रीमान् पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ । निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदान विपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरित भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाउनु भयो । पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तिज० को व्रत लिने प्रचलन सुरु भएको शास्त्रीय कथन छ । 

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १२ : ३५ बजे