राष्ट्रिय सभा चुनावका लागि आजदेखि दल दर्ता गर्न सकिनेः यस्तो छ रिक्त पदको कार्यतालिका

​​​​​​​काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आजदेखि दल दर्ता गर्न सक्ने भएका छन् ।

निर्वाचन आयोगका अनुसार आउँदो फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने चुनावमा भाग लिन चाहने राजनीतिक दलहरुले आगामी १० गतेसम्म दल दर्ता गर्न सक्नेछन् ।


राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने चुनावको तयारी अगाडि बढाएको पनि आयोगको जिकिर छ । 

राष्ट्रिय सभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् । यही पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम पुस २० गते हुनेछ । चुनावमा भाग लिने उम्मेदवारलाई पुस २५ गते चुनाव चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा सदस्य चुनावमा मतदाता प्रदेश सभा सदस्य, पालिका प्रमुखरउपप्रमुख रहनेछन् । चुनावका लागि आयोगलाई अर्थ मन्त्रालयले पाँच करोड ९० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : २४ बजे