साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जलवायु परिवर्तनका मुद्दाको अगुवाइ  वामपन्थीहरूले गर्नुपर्छ : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाइ  वामपन्थीहरूले गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपालमा समाजवाद चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यी मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गरेको बताउनु भयो । उहाँले जलवायु सङ्कटका एक मात्र कारकहरू दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्थाहरू रहेको बताउनु भयो । उहाँले अहिले श्रमिकहरू झनै संकटमा परिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही नयाँ इस्युहरु आएका छन् । जुन इस्युहरुको लिड वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ । जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौँ । त्यसले ढोका ढकढक्याउन थालेको छ । त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ । किनभने जलवायु सङ्कटका एक मात्र कारकहरू भनेका दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्थाहरू हुन् । श्रमिकहरू झनझन संकटमा पर्न थालेका छन् । जुन हिसाबले उत्पादनका ढाँचाहरू बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको संगठित श्रम कमजोर हुँदै गएर मान्छेका आउटसोर्समाध्यमबाट, अरू विभिन्न ढंगले, प्रविधिमा लिड गर्ने कुराहरू छन् ।’

उपमहासचिव ज्ञवालीले २०६२/०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताउनु भयो । २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरूले लिनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताउनु भयो । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  २ : ५० बजे