रविलाई भोलि काठमाडौं ल्याइने

मानव बेचबिखन मानवसभ्यताकै कलङ्क र जघन्य अपराध : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराध  भएको बताउनुभएको छ ।

बिहीबार मानव बेचबिखन विरुद्धको १८ औँ राष्ट्रिय  दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले  सरकारले मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरूको कडाइका साथ  कार्यान्वयन गर्ने बताउनुभएको छ ।

उहाँले समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन भइरहेको भन्नुहुँदै  गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका आपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएकाे छ ।

मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसको सन्दर्भमा प्रधानमन्त्रीको शुभकामना (पूर्णपाठ) 

“तीनै तहका सरकारको प्रतिबद्धता ः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराध हो । समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको छ । नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरूमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिलाहरू बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरू समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेका छन् । बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको छ । गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका आपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध छ ।  मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरूको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको छ ।

अन्त्यमा, मानव बेचबिखन विरुद्धको अभियानलाई सफल बनाउन सबैलाई  यस दिवसले अझ क्रियाशील भएर अगाडि बढ्न थप प्रेरणा दिन सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ११ : ३८ बजे