समृद्ध नेपाल र सुखी नेपाली बनाउने मुख्य दायित्व एमालेकै काँधमा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मेवारी एमालेकै काँधमा रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि एकतावद्ध भएर काम गर्न पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ ।

एमालेको मनोनित केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्नुहुँदै ओलीले जनदवावबाटै विगतका गल्ती कमजोरी सच्याउन आवश्यक रहेको बताउनुभयो । “समृद्ध नेपाल र सुखी नेपाली बनाउने मुख्य दायित्व एमालेको काँधमा छ, एकतावद्ध भएर काममा लाग्नुस् ।”ओलीको भनाई थियो । 

जनताले संघर्ष नगरेर कुनै उपलब्धी हात पारेको विश्वमा उदाहरण छैन भन्नुहुँदै ओलीले हामी सबैले देश बनाउन संघर्ष गर्न आवश्यक रहेको बताउनुभयो ।  ओलीले भन्नुभयो, “गतिशील संगठन र त्यसको उपयृुक्त शैलीकासाथ परिचालन गर्न सक्यौं भने हामी सफल हुन्छौं ।” पार्टीले तोकिदिएको जिम्मेवारी नमुना ढङ्गले पूरा गर्नुस् त्यले हामीलाई सफल बनाउँछ उहाँले बताउनुभयो ।

देशमा अस्थिरता मच्चाउन खोज्ने शक्तिहरु विद्यमान रहेकाले देशमा राजनीतिक स्थायित्व हुन नसकिरहेको अध्यक्ष ओलीले बताउनुभयो । देशमा अझै नियन्त्रित अस्थिरता कायम रहेकाले विकासको काममा बाधा पुगिरहेको उहाँको भनाई छ । एमाले युद्ध, हिंसाको पक्षमा कहिल्यै नरहेको तर शान्ति र विकासको पक्षमा रहेको उहाँले बताउनुभयो । अशान्तिले देशको विकास सम्भव नरहेको उहाँले बताउनुभयो ।

एमालेको लक्ष्य देश बनाउने भएकाले सोहीअनुरुप अगाडि बढ्न उहाँले पार्टी पङ्तिलाई निर्देश गर्नुभयो । आजको आजै देश बनाउन गाह्रो होला तर लागि रह्यौं भने एकदिन सफल हुन्छौं उहाँले भन्नुभयो । विकास भनेको आर्थिक भौतिक मात्र नभएर सामाजिक विकास पनि हो उहाँले भन्नुभयो, “विकास गर्न अनेक चुनौति छन् तर असम्भव छैन ।”

देश, जनता, आन्दोलन र पार्टीलाई फाइदा नहुनेखालको गतिविधि नगर्न ओलीले केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभयो । ‘जसको विचार उत्तम हुन्छ, जसले विचारलाई सही ढङ्गले कार्यान्वयन गर्छ त्यही सफल हुन्छ’, उहाँले भन्नुभयो, “सफलताको कडी इमान्दारिता हो ।” जो विद्यार्थी इमान्दारपूर्वक बढ्छ, जो खेलाडी इमान्दारितासाथ खेल खेल्छ त्यही जित्छ उहाँले भन्नुभयो ।

एमालेले दुई महिनाको अवधिमा ठूला २ वटा महाधिवेशन सम्पन्न गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “एउटा पार्टीको विधान महाधिवेशन सम्पन्न गर्यौं, अर्को पार्टीको १० औं महाधिवेशन पनि सफलतापूर्वक सम्पन्न गरेका छौं ।” यसले एमालेलाई थप जिवन्त र बलियो बनाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले एमालेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकबाट मनोनित ४४ जना सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ३१ बजे