साफ यू–१७ च्याम्पियनसिप आजदेखि

च्यासलमा एमाले पोलिटब्युरो बैठक

काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । 

ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा निर्धारित समयभन्दा एक घण्टा ढिलो बैठक सुरु भएको हो । 

बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उहाँका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन् ।

यस्तै, एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय यसअघिकै केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ । 

यस्तैगरी, बैठकमा सरकारको एक महिने कामको समीक्षा, स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

त्यस्तै सदस्यता नवीकरण उत्साहजनक नभएको भन्दै यसलाई अभियानकै रूपमा लैजाने एमालेको तयारी छ । एमालेका साढे पाँच लाख सदस्यमध्ये ६० प्रतिशतले मात्रै नवीकरण गरेको जिल्लाहरूले रिपोर्ट दिएका छन्।

पार्टीको केन्द्रमा एक वटा र सातै प्रदेशमा पार्टी स्कुलका स्थायी संरचना खडा गर्ने समेत कार्ययोजनामा समेटिएको छ । सबै पार्टी सदस्यले वर्षको एक पटक अनिवार्य रूपमा पार्टी स्कुलबाट दीक्षित हुने गरी ढाँचा तयार गरिएको छ । 

कार्ययोजनामा प्रचार कार्यलाई थप बनाउने, कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने, कुरा उल्लेख गरिएका छन् । 

यस्तै हरेक कमिटीले नेता तथा कार्यकर्ताको मूल्याङ्कन गर्ने कुरा समेत समेटिएको छ । 

त्यस्तै, पार्टीको हीरक वर्षका लागि तय भएका र बाँकी रहेका कामहरू पार्टीको इतिहास लेखन, ‘सेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने लगायत महत्त्वपूर्ण कार्यहरू कार्ययोजनामा समेटिएको छ । 

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : १३ बजे