हाम्रो समाजमा जाति प्रथा विद्यमान छ । जाति प्रथा विभेदकारी छ । यस्तो विभेदकारी प्रथा उन्मूलन गर्न आवश्यक छ । तर, कतिपय मानिसहरू यस प्रथालाई सनातनसँग जोडेर हेर्दछन् । यस्तो विभेदकारी प्रथालाई वेदसम्मत सनातन प्रथासँग जोडेर हेरिनु किमार्थ सही होइन । वेद, पुराण, महाभारत आदि ग्रन्थहरू अध्ययन गर्दा पहिले जातजाति बनाएर त्यसपछि काम विभाजन गरेको देखिँदैन, बरु कामका आधारमा वर्ण वा जाति निर्धारण भएको स्पष्ट हुन्छ ।
जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हुँदैन र हुनुहुँदैन । व्यक्ति जन्मेको पुर्खाको जाति, धर्म, वर्ण र रङको आधारमा उसलाई त्यस्तो परिचय नदिनुपर्ने हो, अपितु उसको कार्य, आदर्श, चिन्तन, विद्वता र उसमा विकसित संस्कार र व्यवहारले उसको श्रेणी तय गर्नुपर्ने हो । वैदिक कालमा कर्मको आधारमा वर्ण कायम गर्ने व्यवस्था थियो । वेदमा यसका अनगिन्ती उदाहरणहरू छन् ।
विश्वकै विशालतम महाकाव्य महाभारतका प्रमुख पात्रहरूमध्येका एक दानवीर कर्ण रानी कुन्तीका कानीन (अविवाहिता स्त्रीबाट जन्मेको सन्तान) पुत्र हुन् । लोकोपवादको भयले उनले छोरालाई त्यागिदिएकी थिइन् । बेवारिसे बालकलाई रथ चालक अधिरथ र उनकी पत्नी राधाले वात्सल्य दिएर हुर्काएका थिए । ती बालक (कर्ण)ले पनि अधिरथलाई बाबु र उनकी पत्नी राधालाई नै भनेर आमा जाने । त्यसैले उनलाई कौरव र पाण्डवहरूले उपेक्षा भावले राधेय (राधाको सन्तान) भन्दथे ।
शासनको उच्च तहमा रहेकाहरू विभिन्न बहानामा अरूलाई होच्याउने गर्दथे, अहिले पनि त्यस्ता सन्दर्भ नभेटिने होइन । असल मानिसको तेजोवध गर्न उसलाई होच्याउन गरिने विविध प्रपञ्चमध्ये एउटा प्रपञ्च बाबुआमाको पेसासँग सन्तानलाई जोडेर होच्याउने गरिन्थ्यो । यस्तो किन गरिन्थ्यो त भन्दा उसमा होच्याउनेहरूमा भन्दा बढ्ता क्षमता हुन्थ्यो । यस्तो विषय शासकीय विषय हो । जसबाट कुनै प्रकारको डर छ, उसलाई होच्याउने र उठ्नै नदिने । यस्तो प्रपञ्चको सिकार कर्ण पनि भएका थिए । रथ चलाउनेको सन्तानका रूपमा कर्णले धेरै पटक अपमान सहनुपरेको थियो । रथ चलाउनेका सन्तानलाई उपेक्षित रूपमा गरिएका व्यवहारको उतीबेलै प्रतिवाद गरिएको प्रसङ्ग रहेको छ । कर्णले यस्तो विभेद र उपेक्षाको प्रतिवाद गरेका थिए ।
विभेद हरेक शक्तिशालीले कम शक्तिशालीलाई दबाउने प्रपञ्च हो । जन्मको आधारमा गरिने विभेद सभ्य समाजको कलङ्क हो ।
कर्णलाई आफ्नो शौर्य र दानशीलताप्रति गर्व थियो । जातको आधारमा अपमान गर्नेहरूलाई लक्षित गरेर उनले आक्रोशपूर्ण तर अत्यन्त मार्मिक अभिव्यक्ति दिएका थिए –
सूतो वा सूतपुत्रो वा यो वा को वा भवाम्यहम् । देवायत्तं कुले जन्म मया यत्तं तु पौरुषम् ।।
म सूत (रथ चलाउने) हुँ वा सूतपुत्र हुँ वा जोसुकै हुँ, त्यो मेरो वशको विषय होइन । कुन वंश वा कुलमा जन्मिने भन्ने कुरो व्यक्तिको वशमा हुँदैन, उसको वशको कुरो होइन र इच्छा पनि होइन । कुन कुलमा जन्मिने भन्ने कुरा प्रारब्धले निर्णय गर्दछ । त्यसमा व्यक्तिको कत्ति पनि हात हुँदैन । परन्तु मेरो कार्य, मेरो आदर्श, मेरो चिन्तन मनन, मेरो वीरता र मेरो शौर्य आदि सबै मैले आर्जन गरेको हुँ । त्यसैले ती सबै मेरा आफ्ना हुन् । तिनीहरूमा मेरो पूर्ण स्वामित्व छ ।
यसरी बाबुआमाको पेसाको आधारमा सन्तानको जाति(वर्ण) निर्धारण गरिने प्रयासको प्रतिवाद महाभारतमा भएको देखिन्छ ।
मान्छेको जात कर्मका आधारमा तय गरिनुपर्दछ । आज नेपाली समाज जाति, लिङ्ग, धर्म, वर्ण आदिको नाउँमा विनाशकारी सङ्घर्षबाट आतङ्कित छ । यो विभेद हरेक शक्तिशालीले कम शक्तिशालीलाई दबाउने प्रपञ्च हो । जन्मको आधारमा गरिने विभेद सभ्य समाजको कलङ्क हो । यसको मूलच्छेदन नगरेसम्म देशको चौतर्फी उन्नयनको कल्पना गर्न सकिन्न ।
(लेखक पूर्वीय वाङ्मयका अध्येता हुनुहुन्छ ।)
प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार ८ : ३६ बजे
प्रतिक्रिया