दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कतै श्यया पाउनै मुस्किल, कतै थन्किए

बागलुङ – कोरोना बिरामीले श्यया पाउनै मुस्किल भइरहेका बेला धवलागिरि अस्पताललाई प्राप्त नयाँ श्यया प्रयोगमा नआई थन्किएका छन् । अस्पतालमा ठाउँ नै नभएपछि श्यया जडान हुन नसकेको हो ।

    धवलागिरिलाई जनरल अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको गण्डकी प्रदेश सरकारले सय श्यया पठाएको छ । अस्पताल भवन नबन्दा श्यया व्यवस्थापन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो ।

    विसं २०७० देखि निर्माण थालिएको अस्पतालको ‘सी’ ब्लक भवन अझै पूरा हुन सकेको छैन । “सरकारले श्यया त पठायो तर के गर्नु भवन नै बनेको छैन, यस्तो महामारीका बेला पनि श्यया स्टोरमा थन्काएर राख्नु परेको छ”, अध्यक्ष रानामगरले दुःखेसो व्यक्त गर्नुभयो ।

    उहाँका अनुसार निर्माण कम्पनीले आगामी असार १५ गतेको म्यादभित्र भवन हस्तान्तरण गर्ने बताए पनि अहिले कामको गति सुस्त छ । रु १० करोड छ लाख ६६ हजारमा आशिष मिलिनियम र भीम ज्योति जेभीले ‘सी’ ब्लक निर्माणको जिम्मा लिएको थियो ।

    तोकिएको समयावधिमा भवन नबन्नुमा निर्माण कम्पनीले भूकम्प, नाकाबन्दी, बन्दाबन्दी आदिलाई कारण देखाउँदै आएको अस्पतालले जनाएको छ । तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने भनिए पनि पटक–पटक म्याद थप हुँदै आएको छ । “अहिले निर्माण कम्पनीका प्रतिनिधि पनि यहाँ छैनन्, सम्पर्क पनि हुँदैन, दुई÷चारजना कामदार भवनमा खटेको देखिन्छ”, अध्यक्ष रानामगरले भन्नुभयो, “यही तरिका हो भने चाँडै भवन बन्ने छाँटकाँट छैन ।” 

    राज्यका निकायले पनि श्ययालगायत स्वास्थ्य उपकरण, सामग्री पठाए पनि तिनको सञ्चालन र व्यवस्थापनमा चासो नदिएको उहाँको गुनासो छ । अस्पताल व्यवस्थापनले कोरोना महामारीको स्थितिलाई हेरेर तत्काललाई अस्पतालको छतमा ‘ट्रस्ट’ बनाउने योजना अघि सारेको छ । आइसोलेशनकक्ष विस्तार गर्ने उक्त योजनाका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग बजेट माग गरिएको छ ।

    ‘ट्रस्ट’को संरचना बनेपछि सोही ठाउँमा नयाँ श्यया व्यवस्थापन गरेर कोरोना सङ्क्रमितको उपचार र स्याहार थालिनेछ । दैनिक रुपमा जटिल समस्या लिएर अस्पताल आउने कोरोनाका बिरामी बढ्न थालेपछि श्यया अभाव हुन थालेको छ ।

    अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बिरामीको चाप बढेपछि २५ श्ययाको आइसोलेशनकक्षलाई ३५ श्ययामा पु¥याइएको छ । आइसोलेशनकक्ष कोरोना सङ्क्रमितले भरिएको छ । यसरी नै जटिल प्रकारका बिरामी थपिँदै गए अस्पतालमा श्यया नै नपाउने स्थिति आउने प्रमुख चिकित्सक पोखरेलको भनाइ छ ।

    “आइसोलेशनमा श्यया थप्न संरचनाकै अभाव छ, हामीसँग भएको स्रोत, साधनको अधिकतम उपयोग गरेर बिरामीको सेवामा दिनरात नभनी खटिएका छौँ”, उहाँले भन्नुभयो । प्रदेश सरकाले दुई सय श्ययाको जनरल अस्पताल बनाउने घोषणा गरे पनि त्यस अनुरुप पूर्वाधार तयारी र व्यवस्थापन हुन सकेको छैन । महामारीका बेला चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ । दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र दश नर्स बिरामीको उपचारमा तल्लीन छन् । महामारीसँग जुध्न तत्कालै जनशक्ति, उपकरण र पूर्वाधार थप्नुपर्ने आवश्यकता छ । 

    कोरोनाका गम्भीर बिरामी बढ्दै जान थालेपछि अस्पतालको अक्सिजन प्लान्टले धान्न नसक्ने स्थिति छ । दैनिक पोखराबाट सिलिन्डरमा अक्सिजन भरेर ल्याउनु परिरहेको अस्पतालले जनाएको छ । सङ्क्रमितलाई ‘हाइ फ्लो’ अक्सिजन दिएर उपचार गर्नुपर्ने भएकाले अक्सिजनको खपत बढेको हो ।

    अस्पतालमा तीन श्ययाको सघन उपचार कक्ष (आइसियु) र दुई भेन्टिलेटरसहितका श्यया छन् । गम्भीर प्रकृतिका बिरामी बढ्दै जाँदा ‘आइसियु’को पनि अभाव हुने देखिएको प्रमुख चिकित्सक पोखरेलले बताउनुभयो । अहिले ‘आइसियू’ मा तीन र आइसोलेशनकक्षमा २७ सङ्क्रमितको उपचार भइरहेको छ ।

    जिल्लामा दैनिक कोरोना पुष्टि हुनेको सङ्ख्या बढिरहेको छ । मङ्गलबार मात्र १०६ सङ्क्रमित थपिएका थिए । गाउँगाउँसम्म सङ्क्रमण फैलिएको छ । महामारी बढ्दै जाँदा बिरामीको उपचार र व्यवस्थापनमा चुनौती थपिएको छ ।
 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ३६ बजे