नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” मा कलाकारद्वय मदनकृष्ण र हरिबंश नियुक्त

काठमाडौँ – महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” मा नियुक्त गरेको छ ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” मा नियुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गर्नुभएको छ  ।

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य  राख्नु भएको थियो ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनु भयो । उहाँले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा  सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका  सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठुलो सञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको “ब्राण्ड एम्बेसडर” हुन पाएकोमा आफूहरुले गौरवान्वित महसुस गरिरहेको बताउनु भएको थियो ।

यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नहुनेछ । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

​​​​​​​

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : ०६ बजे