‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गृहसचिव बन्न आधा दर्जन सचिवको दौडधुप

काठमाडौँ । मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएपछि रिक्त गृहसचिव पदमा कसले बाजी मार्ला भन्ने विषयले मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबारमा बहस भइरहेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव रहनुभएका अर्याललाई मुख्य सचिवमा बढुवा गरेपछि गृहसचिव रिक्त छ । रिक्त सचिवमा सरुवाका लागि करिब आधा दर्जन सचिवले देउवा निवास बूढानीलकण्ठदेखि गृहमन्त्री रमेश लेखक निवाससम्म घनचक्कर लगाइरहेको स्रोतले बताएको छ ।

केही सचिवले प्रधानमन्त्री केपी शर्माओली समक्ष गृहमा जाने इच्छा जाहेर गरे पनि कांग्रेसका भागमा परेको मन्त्रालयमा फलानालाई लैजाने भनेर धारणा बनाइनसक्नुभएको बुझिएको छ ।

गृहसचिवमा जानका लागि नारायण शर्मा दुवाडी, विनोदप्रकाश सिंह, हरिप्रसाद मैनाली, कृष्णहरि पुष्कार, मुकुन्द निरौला, मधु मरासिनी, अर्जुन पोख्रेल लगायतले कम्मर कसेको बताइएको छ ।

गृहमन्त्री लेखकको रोजाइमा पश्चिमकै विनोदप्रकाश सिंह परे पनि सरुवाको टुंगो भने लागिसकेको छैन । परराष्ट्रमन्त्री आरजु राणाले कृष्णहरि पुष्करलाई लिफ्ट दिएका कारण मन्त्रीको रोजाइमा परे पनि सिंहको सरुवा धर्मराएको बताइन्छ ।

उता कांग्रेस निकट कर्मचारीहरूले गठन गरेको कामाद भन्ने संस्थाका पदाधिकारीहरूले मोर्चा कसेरै मैनालीलाई गृह मन्त्रालयमा सरुवा गर्न दबाब दिएका छन् । मैनालीको सरुवामा लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीदेखि पूर्वसचिव श्यामप्रसाद मैनालीसम्मले कांग्रेस वृत्तमा सिफारिस गरेको चर्चा छ ।

त्यसो त उपराष्ट्रपति कार्यालयमा थन्किएर बसेका र प्रचण्ड सरकारका बेला प्रधानमन्त्री ओलीले उद्धार गरिदिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर हाल श्रम सचिवमा सरुवा भएका मुकुन्द निरौलाले कांग्रेसहरुलाई विगत सम्झाउँदै ‘म हुनुपर्ने होइन र गृहसचिव’ भन्न थालेका छन् । यसले गर्दा गृहसचिव सरुवामा खिचातानी चलिरहे पनि आगामी मन्त्रीपरिषदले यसबारेमा टुंगो लगाउने नै छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १ : २० बजे