‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सयौँ बाजा एउटै ताल, सयौँ कलाकार एउटै चाल

काठमाडौँ । केन्द्रीय मानन्धर संघले काठमाडौंको वसन्तपुरमा बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । मौलिक बाजा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले केही वर्षदेखि काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी संघले युवा पुस्तामार्फत बाजा प्रदर्शनी गर्दै आएको छ ।

आइतबार मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौँ कलाकारले एकैपटक, एउटै चालमा सयौँ बाजा बजाए । मानन्धर समुदायको सघन बसोबास रहेका आठ वटा टोलबाट बाजा प्रदर्शनीमा सहभागिता रहेको कार्यक्रम संयोजक सन्देश मानन्धरले बताउनुभयो ।

कार्यक्रममा लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः तथा पाक्व पुखूद्यां सनाः खलःबाट आठआठ जना कलाकार सहभागी गराएको प्रदर्शनीमा १५ जना व्यावसायिक म्युजिकल अर्केस्ट्राका कलाकारले साथ दिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानन्धर समाजले बाजा संरक्षणमा दिँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ११ : ३९ बजे