‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काभ्रेमा डेङ्गी फैलिँदै

काभ्रेपलाञ्चोक, १५ भदौ : डेढमहिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । शुक्रबार एकै दिन छ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक/एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुुसार गत साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २७ पुरुष र ३० महिला छन् । “शुक्रबार एकै दिन छ जनामा डेङ्गी देखिएको छ, सचेतना कार्यक्रम बढाइँदै लैजान्छौँ, व्यक्ति आफैँं पनि सचेत बन्नुपर्दछ”, श्रेष्ठले भन्नुभयो ।

बनेपा, पनौती र धुलिखेल नगरमा बढी सङ्क्रमित छन् । बनेपा र पनौतीमा १३/१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा तीन÷तीन, पाँचखाल, मण्डनदेउपुरमा दुई/दुई र तेमाल गाउँपालिकामा एक डेङ्गी सङ्क्रमित रहेका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

गत आवमा जिल्लामा चार सय ८७ जनामा डेङ्गी सङ्क्रमण भएको थियो । सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको श्रेष्ठले बताउनुभयो । सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’, ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आइएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख श्रेष्ठका अनुसार डेङ्गीको उच्च जोखिममा नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि रहेको छ । लामखुट्टेको टोकाइबाट डेङ्गी लाग्ने भएकाले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उहाँले बताउनुभयो ।

डेङ्गी भएका एक्कासि उच्च ज्वरो आउने, पाँचदेखि सात दिनसम्म ज्वरो रहिरहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेशी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ ।

समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने भएकाले डेङ्गीको शङ्का लागेमा तत्काल स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्ने जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ४ : ०९ बजे