हामी मान्छे बडो जटिल ग्रन्थिका प्राणी छौँ । हामी अरूले देवतातुल्य काम गरोस् भन्ने चाहन्छौँ तर स्वयंले गर्दैनौँ । कुरामा भने हाम्रो सत्यनिष्ठा र आदर्शले आकाशै छुन्छ । जब आफ्नो स्वार्थको ढुंग्रो भरिने बेला आउँछ तब हाम्रा सबै सत्व गुण तमसमा परिणत भइजान्छन् । संस्कृतमा गजबको श्लोक रचेका छन् पण्डितजीहरूले–
जानामि धर्मं न च मे प्रवृत्ति, जानाम्यधर्मं न च मे निवृत्ति ।
यो भनेको के जात हो ? भन्नुहोला । संस्कृतका पारखीलाई थाहा छ, इतरलाई थाहा नहुन सक्छ । तिनलाई अर्थदान गरिदिने मनसुवा राख्दै छु । ‘धर्म (सद्गुण) के हो ? भन्ने मलाई थाहा छ तर त्यतातिर मेरो मन डोरिन्न, अधर्मको मलाई पूरा मर्म थाहा छ तर त्यसबाट मुक्त हुन सक्दिनँ ।’ कति गम्भीर र मनोवैज्ञानिक सत्य छ । लाग्छ यो हाम्रै लागि लेखेको होला । हुन त फ्रायडलाई आधुनिक मनोविज्ञानका पिता भनिन्छ तर उनीभन्दा हजारौँ वर्षअघि हाम्रा पूर्वीय आचार्यहरूले मनोविज्ञानको छेउटुप्पो लगाइसकेका रहेछन् । केवल हामीले भाषा नबुझेको मात्रै रहेछ ।
हाम्रो बुद्धिले सत्असत् सबै थाहा पाउँछ तर भित्रको चित्तले बाटो छेकिदिन्छ । हामीलाई राम बन्ने रहर पनि छ फेरि रावणबाट मुक्त हुन सक्दैनौँ । हामीलाई जयजयकारको गुञ्जन पनि चाहिएको छ फेरि धारे हातले सरापिने काम गर्दै हिँड्छौँ । यसो हेर्छु, आफैँ बक्क पर्छु । कति ठाउँमा जग्गाका मुद्दा छन्, छिमेकीले आँठो मिच्यो भनेर ।
कति ठाउँमा भाइले दाइको अंश मार्यो भन्ने लफडा छ । कतै एउटाले नियुक्ति गरेको अर्काले खोसिदियो भन्ने रुवाइ छ । कोही भन्छ– फलानाले विकास निर्माणको रकम हजम पा र्यो । कोही चिच्याउँछ– मसित सापटी लिएको फिर्ता दिएन । विदेश पठाउँछु भनेर रकम खाएर अर्को भाग्यो रे । फलानो अफिसमा घूस नखुवाई काम बन्दैन । उसले त प्राकृतिक सम्पत्ति (वन, बालुवा, पत्थर) तस्करी गरेर कमायो रे । एनजीओको पैसामा अर्को पल्किएको छ । डाक्टरले सरकारीमा जाँचेर बिरामीलाई आफ्नो क्लिनिकमा ल्याब परीक्षण गर्न बिरामी पठायो रे । जुवा खेलाएर कमाउने यही छन् । मरेका कुखुरालाई जिउँदोको भाउमा बेचेर आर्जन गर्ने यतै छन् । पानी बेच्नेले शुद्ध पानीका नाममा ढल बेचेकै छ । पुलिस–प्रशासनका उस्तै तिकडम छन् । राजनीतिभित्र त्यस्तै अन्धकारको तुवाँलो फैलिएको छ । तरकारीको कुरै नगरौँ, सिधा विष किनेसरह छ । लाग्छ, अब त जहर पनि बजारमा नक्कली छ । यी सबै मान्छेकै क्रियाकलाप हुन् । मान्छे किन हारिरहेको छ ? मान्छेले मूल स्वभाव किन गुमाउँदै छ ? सहज जीवन यापनका अनेकौँ पन्थ छन् । आफैँलाई जितेर विजयी बन्ने कयौँ उपाय छन् । सीधा औँलाले पनि घिउ खान सकिने बाटा छन् तर मान्छे हतारमा छ । उसको धैर्य षोडशीको च्यातिएको नितम्बझैँ भइसक्यो । उसलाई छिट्टै कुबेर बन्नु छ । प्रतिस्पर्धाको जहर पिएर मान्छे यति जहरिलो भइसकेको छ कि अब मान्छेलाई खतरा मान्छेसितै छ । एउटा कवि (सायद दिनेश अधिकारी हुन् कि !) ले लेखेका थिए कविता–
‘आजभोलि मान्छे अनिकालले मर्दैन
आजभोलि मान्छे बाढीपहिराले मर्दैन
आजभोलि मान्छे असाध्य रोगले पनि मर्दैन
गुहार ! गुहार ! म मेरो सिमानाले मिचिएर मर्न लागेँ’
यो कवितामा मलाई थोरै कैँची चलाउन मन लाग्यो–
‘गुहार ! गुहार ! म मान्छेको व्यवहारले मर्न लागेँ ।’
साँच्चै ! मान्छेको व्यवहार ऐरेलुजस्तै तितो भइसक्यो । उसलाई निहुँ खोज्ने बानी परिसक्यो । अरूलाई मारेर आफू जीवित हुने महत्त्वाकांक्षा चढिसक्यो । कुनै युग थियो– मान्छे अज्ञानताले मरेको थियो । अर्को युगमा मान्छे हतियारले सिद्धिएको थियो । यतिखेर मान्छे आन्तरिक रुग्णताले जिउँदै मरेको छ । उसभित्र ठूलो मानसिक रोग पसेको छ । ‘म खाऊँ र मै लाऊँ’ को हन्तकालीले उसलाई सदाचारको बाटो पछ्याउनै दिँदैन । मान्छे शिक्षित छ तर मुक्त छैन, डिग्री छ तर सन्तुष्टि छैन, बुद्धि बढेको छ तर आत्मा टुटेको छ । सभ्यताको विकास भएको छ तर पागलपन बढिरहेको छ । निर्मला पन्तको बलात्कार र हत्याको घटना भएको वर्षौं भइसक्यो । अपराधीको पत्तो छैन । साँच्चै पत्ता नलागेको होइन । केवल मनुष्यता हराएको हो । संसारमा सियो चोर पनि पक्रिन्छन् । यहाँ ज्यानमाराको पत्तो लाग्दैन । भ्रष्टाचारी–दुराचारीलाई सजाय हुँदैन । यसका पछाडिको गुप्त कुरो त्यही हो– शिक्षित अपराधी । अज्ञानीले स्वयंलाई घाटा पुर्याउँछ, शिक्षितले समाजलाई । पन्तको अपराधी नभेटिएको होइन बरु नबोलिएको मात्रै हो । समाजमा ठुलै मान्छेबाट दमन र अत्याचारको बीउ रोपिन्छ । ठुलो मान्छेसित सम्बन्ध र समृद्धि छ । साना मान्छेसित अथाह लोभ छ । लोभ सत्यको निकट बस्नै सक्दैन । आखिर कहाँ त्रुटि भइरहेको छ ? कुन तत्त्वले हाम्रो चेतनामा पर्दा हालिदिएको छ ? कुन संस्कारले हाम्रो हृदयलाई पत्थर बनाइरहेको छ ? हामी सहरको चकमन्नतामा बाँचेर पनि किन काला करतुतमा रमाइरहेका छौँ ? गु खाने काला कौवा पनि स्वजातिको पीडामा विक्षिप्त हुन्छन्, वनका बाँदरमा पनि जातीय सञ्चेतना छ, कीटपतंगमा समेत स्वाभाविक चरित्रको निर्वाह देखिन्छ तर हामी आधुनिकताको युगमा प्रवेश गरेका मान्छे दिनहुँ गिर्दै छौँ– स्वार्थले –अभिमानले– धुर्त्याइँले र भित्री ग्रन्थीय रोगले । के हाम्रो उपचार छ ???
प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार २ : ५९ बजे
प्रतिक्रिया