‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तीजका गहिरा कुरा : सृष्टि र पालनको पुनः स्मरण

वैदिक दर्शन अनुसार तीज पर्व परम चेतनारूपी शिवको दिव्य ऊर्जारूपी शक्ति पार्वतीबीचको आध्यात्मिक र ब्रह्माण्डीय एकता भएर सृष्टि सम्भव बनेको यथार्थ महसुस गर्दै त्यसको कृतज्ञताका लागि सामाजिक उत्सवका रूपमा स्थापित भएको देखिन्छ ।

परम चेतनाको वीज निर्माण गर्ने बुबाको भूमिकामा देखिने पुरुष शक्ति र उक्त चेतनारूपी वीजलाई प्राप्त गरेर मलजल गरी जीवको रूपमा विकास गर्न सक्षम दिव्य ऊर्जा बोकेकी आमारूपी दैवी नारीबीचको आपसी मिलन, सहकार्य, सन्तुलन तथा  सद्भाव जीवन र सृष्टि दुवैको निरन्तरताका लागि अनिवार्य रहेकाले यस कर्मलाई हरेक नरनारीले आफ्नो अनिवार्य कर्तव्यको रूपमा लिएर स्विकार्न अभिप्रेरित गर्ने चाडबाडको रूपमा तीज मान्ने गरिन्छ ।

पुरुष (भाले) र प्रकृति (पोथी) ऊर्जाबीचको सन्तुलन र सद्भावले मात्र जीव मात्र नभएर ब्रह्माण्डको समेत सृष्टि र पालन पोषणका र नियमितता सम्भव बनेको यथार्थ समाजमा पुनः स्मरण गराउन वैदिक यज्ञका रूपमा पुरुष (आत्मा) र प्रकृतिबीचको अन्तर सम्बन्धको भूमिकालाई हरेक वर्ष तीजलाई उत्सवका रूपमा  मनाउने गरिन्छ ।

व्यावहारिक रूपमा दुई  शब्द शिव र शक्ति (पार्वती) ब्रह्माण्डीय सन्तुलन र एकताको अवधारणा राख्न प्रयोग गरिछ जहाँ दुवैको मिलनमार्फत निर्माण हुने शुद्ध चेतनारूपी अद्वैत दिव्य सत्ता नै जीवको जीवनको, हरेक घटनाको र हरेक कर्मको साक्षी मात्र हुने गर्दैन पुरुष र महिला दुवै ऊर्जाहरू समावेश भएको एक नयाँ जीवनको सारसमेत बनेको हुन्छ ।

वैदिक दर्शन अनुसार तीजलाई पर्वका रूपमा मनाउन ऋषिमुनिहरूले श्वेताश्वतर उपनिषद् अध्याय ४ श्लोक ५ मा भेटिने सन्देश सम्प्रेषण गरेको प्रस्ट हुन्छ ।

एको देवः सर्वभूतेषु गूढः

सर्वव्यापी सर्वभूतान्तरात्मा ।

कर्माध्यक्षः सर्वभूताधिवासः

साक्षी चेता केवलो निर्गुणश्च ।।

(हरेक जीवको अन्तर्मनमा सम्पूर्ण कर्महरूको साक्षीको रूपमा गुणहरूभन्दा परको सर्वव्यापी निर्गुण शुद्ध चेतनारूपी अद्वैत दिव्य सत्ताले वास गरेको हुन्छ ।)

व्याख्या : जीवनको परम सत्यको रूप सबै प्राणीहरूभित्र एक मात्र सर्वव्यापी दिव्य शक्तिको उपस्थिति हुने गर्दछ । अद्वैत प्रकृतिको एक दिव्य (एको देवः) ब्रह्माण्डीय चेतनाको सबै द्वैत गुणहरू जस्तै पुरुष र स्त्री गुणभन्दा परको दिव्य सत्ता हो । ब्रह्माण्डमा सर्वत्र अस्तित्वमा रहेको उक्त दिव्य तत्त्व सबै प्राणीहरूमा आत्माको भूमिकामा उसका सम्पूर्ण कर्महरूको निष्पक्ष साक्षीको निर्गुण भूमिकामा  अस्तित्वमा रहेको हुन्छ । त्यसले सम्पूर्ण अस्तित्वको सन्तुलन गर्दै त्यसलाई एकबद्धता गरेको हुन्छ ।

आफ्नो जीवनको उद्देश्य प्राप्त गरी आनन्दित बन्नका लागि भक्ति मार्ग अर्थात् समर्पण नै व्यक्तिलाई उपलब्ध सबैभन्दा उत्तम सशक्तीकरणको उपाय हो भन्ने कुरा वैदिक ग्रन्थहरू जस्तै भगवतगीता र भक्ति सूत्रहरूमा भेटिने गर्दछ । जुन ऋग्वेदको ऋग्वेदको मण्डल १ सूक्त १ ऋचा १ मा आधारित रहेको देखिन्छ ।

ॐ अग्निमीकके पुरोहितं यज्ञस्य देवमृत्विजम् ।

होतारं रत्नधातमम् ।।

(ॐ म यज्ञको (हरेक कर्मको) नेतृत्व गर्ने पुरोहित (प्रमुख सञ्चालक) का रूपमा अग्निको प्रशंसा गर्दछु । उहाँ यज्ञका ऋत्विज पुरोहित (सही समयमा सही कर्म सम्पन्न गर्न सहजीकरण गर्ने मुख्य उत्प्रेरक दिव्य शक्ति) पनि हुनुहुन्छ । साथै उहाँ  होतार (दिव्य शक्ति लाई एकरूप वाट अर्को रूपमा परिवर्तन सम्भव गरी) रत्न (जरुरतको भौतिक, मानसिक र आध्यात्मिक ऊर्जा) आह्वान गर्ने पुरोहित (उपलब्धताको सम्भव गरिदिने मुख्य कारक) समेत हुनुहुन्छ ।

व्याख्या : ऋग्वेदको यो श्लोकमा अग्नि ऊर्जा (प्राकृतिक शक्ति देवता) लाई मानव ऊर्जा (जीवन्त ऊर्जा) र देवताहरू (प्रकृतिको सम्पूर्ण शक्ति) बिचको मध्यस्थकर्ताको रूपमा मानिन्छ र त्यसका लागि अग्निप्रति धन्य रहेर प्रार्थना गरिन्छ । आफू अनुग्रहित बनेको चिजको पूजा र त्यसमाथि जनाइने समर्पण भाव उल्लेख गर्न वैदिक साहित्यमा भक्ति शब्द प्रयोग हुन्छ । अग्निलाई जैविक ऊर्जा र प्राकृतिक ऊर्जाबीचको समन्वय गर्ने सर्वोत्तम रत्नको रूपमा लिइन्छ ।

विज्ञानले पनि अग्नि अर्थात् ऊर्जा एक रूपबाट अर्को रूपमा परिवर्तन हुने प्रकृतिको हुने र त्यसो हुँदा के चिज अर्को चिज बन्ने स्विकार्दछ । ब्रह्माण्ड ऊर्जाको रूप अग्नि आफैँ दिव्य जीव ऊर्जा र दिव्य प्रकृति ऊर्जाबीचको  मध्यस्थकर्ता (करेन्सी) हुने गर्दछ । जीवको भौतिक अस्तित्व कायम गर्नका लागि पुरुष वीज र नारी डिम्बबीचको संयोजनकारी भूमिका आपसी आकर्षण,  प्रेम र समर्पण भाव पैदा गर्ने सम्पूर्ण जैविक केमिकल, हर्मोन, इन्जाइम आदिलाई आयुर्वेदले अग्नि अन्तर्गत नै राख्दछ ।

उनीहरूबीचको आपसी भक्ति (माया, प्रेम, समर्पण र त्याग भावना) र आपसी स्तुति अर्थात् पवित्र पूजा कर्मको दिव्य कृपा संसारमा जीवको अस्तित्वलाई निरन्तरता दिने कार्यलाई सशक्तीकरण दिन भूमिका खेल्दछ । जसले भक्तिको सारको निरन्तर अभिव्यक्त कायम गर्ने आध्यात्मिक तथा भौतिक सशक्तीकरण तथा समर्पणको थप बाटो पैदा गरी सन्तान सुखानुभूतिको अनुभव समेत दिलाउने गर्दछ ।

वैदिक परम्पराको तीज पर्व आध्यात्मिक अनुशासन र भक्तिद्वारा सशक्तीकरण सम्भव हुन्छ भन्ने कुरा समाजलाई प्रस्ट गर्ने चाडसमेत हो । तीजको समयमा व्रत बस्नु केवल शारीरिक उपवास मात्र होइन त्यो एक तपस्यारूपी संयम समेत हो । यो कार्यले मन र शरीरलाई शुद्ध बनाउँछ ।

वैदिक तपस्याको अभ्याससँग मेल खाने तीजको व्रत व्यक्तिमा आत्माअनुशासन र भक्ति, आध्यात्मिक पूर्णता थप्न सहयोग गर्दछ । वैज्ञानिक रूपमा समेत तीजजस्ता चाडमा गरिने उपवास, प्रार्थना क्रियाले कोशिकाको स्तरमा शरीरको सफाइ गर्ने, आत्म नियन्त्रणको दिव्य अभ्यास मार्फत आशीर्वादका रूपमा आध्यात्मिक प्रतिबद्धता र वृद्धिको आकांक्षा लाई पुरा गरिदिने पुष्टि गरिदिएको छ ।

जीव अनुशासन विज्ञानको अनुभवमार्फत पुष्टि भएको यथार्थ के हो भने भक्ति वा समर्पण एक शक्तिशाली आध्यात्मिक मार्ग मात्र होइन आफ्नो भित्री मनैदेखि अर्को प्रतिसम्मान र विश्वास भाव जागृत गर्ने र आफ्नो जीवनमा आफ्नो प्रेमीको उपस्थितिले थपेको सहजताको पक्षमा मात्र केन्द्रित रहेर मनमा  नकारात्मकता हटाएर धन्यता अभिव्यक्त गर्ने सुन्दर उपाय समेत हो । जहाँ महिलाहरूले देवी पार्वतीको पतिभक्ति र त्यसले दिएको मानसिक समृद्धता र प्रकृतिमैत्री सुन्दर पारिवारिक जीवनको स्मरण गर्दै आफूमा रहेको कपटविहीन माया, करुणा, दृढता र शालीनताको शक्ति र सत्कर्ममार्फत सम्भव हुने आशीर्वादको अवसरको  महसुस गर्दछन् ।

यो पर्वले महिलाहरूलाई सामूहिक र आध्यात्मिक अनुभवमार्फत सशक्त बनाउँदै समाजमा निष्ठा, बलिदान र आध्यात्मिक शक्तिका मूल्यहरूलाई सुदृढ गर्न सहयोग गर्दछ । साथै सृष्टिको निरन्तरता कायम राख्न आफ्नो जिम्मेवारी पुरा गर्न आफूमा निहित माया, दया, करुणा, मातृवासल्य र धैर्यरूपी देवीशक्तिको तागत समेतको  महसुस गराउने गर्दछ ।

मानव रहेर सदैव मानवीय कर्ममा रहनुलाई मानव धर्म भन्ने गरिन्छ । वैदिक मान्यता अनुरूप तीज पर्व मानव कर्तव्य र धार्मिकताबारे सम्झाउने पर्वसमेत हो । विशेषगरी गृहस्थी धर्ममा रहन, सफल र सुखी अनि खुसी परिवारको निर्माणमा महिलाहरूमा आफ्नो भूमिका पुनः स्मरण गर्ने अवसरका रूपमा समेत तीजलाई लिने गरिन्छ । आफ्नो परिवार र पतिप्रतिको कर्तव्य र जिम्मेवारी आफूले कसरी सकारात्मक रूपमा पालन गर्न सकिन्छ र त्यसले अन्ततः आफैँलाई कसरी असल प्रतिफल दिने वातावरण निर्माण गर्दछ भन्ने आध्यात्मिक मनोवैज्ञानिक गहनता तीज चाड मनाउने प्रक्रियासँग सोसल इन्जिनियरिङ गरिएको छ ।

वैदिक सिद्धान्तहरू अनुसार अहिंसा युक्त, नैतिक र प्रकृतिमैत्री आयुर्वेदिक प्रेम नै  धार्मिक रूपको पारिवारिक जीवन हो भन्ने मान्यता छ । यसभित्र परिवार र समाजप्रतिको आफ्नो कर्तव्य पूरा गर्न सुझाइएको पारिवारिक, व्यावहारिक र आध्यात्मिक उपायप्रति विश्वास जागृत र सुदृढ गर्ने गरिन्छ । एक उत्साहपूर्ण र अर्थपूर्ण पर्व तीजका सांस्कृतिक अभ्यासहरू वैदिक परम्पराका गहिरा आध्यात्मिक र दार्शनिक शिक्षासँग जोडिएको छ । यसअन्तर्गत पृष्ठभूमिमा रहेको व्यक्तिगत र ब्रह्माण्डीय स्तरको भक्ति, सन्तुलन र सद्भावको महत्त्वको स्मरण गराउँदै पारिवारिक र आध्यात्मिक सुखको पक्ष स्मरण गराउने सुन्दर नियत निहित रहेको भेटिन्छ ।

समग्रमा वेदको आधारमा सामाजिक कल्चरको रूपमा सोसल इन्जिनियरिङ भएको तीज पर्वले समाजमा दिन खोजेको सन्देश ऋग्वेदको मण्डल १० सूक्त ८५ ऋचा ४७ को सन्देश हो ।

समञ्जन्तु विश्वे देवाः समापो ह्रदः समतिः ।

सम्यञ्चो अग्निमिन्द्रिया वचसामसि वि द्युम्नमुत्तमम् ।।

(व्यक्तिगत र ब्रह्माण्डीय स्तरको भक्ति, सन्तुलन र सद्भाव कायम गर्न सक्रिय रहने सम्पूर्ण ऊर्जाहरू (सबै देवताहरू) हाम्रो दुवैको इच्छा, आकांक्षा र रहरहरूलाई (मनलाई) प्रकृतिमैत्री हुने गरी एक अर्कोसँग परिपूरक हुने विचारमार्फत एकत्रित गर्ने दिशामा सक्रिय गर्न सकियोस् ताकि त्यसले दिन सक्ने पारिवारिक सम्बन्धमैत्री तरलताले हामीलाई एकताको सूत्रमा बाँध्न सकोस् । हामीले विकास गर्न सकिएको आकाशले (अहंकारविहीन आपसी प्रिय समझदारीको परिस्थिति) हामीलाई सहकार्यमैत्री वातावरण देओस् । प्रभामय अग्निदेवले (आपसी आशा, विश्वास, भरोसाको किरणले पैदा समर्पण र त्यागको आत्मबलरूपी शक्ति) हाम्रो सम्बन्धलाई पवित्र राखुन् । हाम्रा मनहरूलाई हामी आफूबीचको विकास भएको सर्वोच्च समझदारीको अवस्थाले एकत्रित गरून् । एकलाई अर्कोप्रति समर्पित गर्न सहयोगी बनोस् )

व्याख्या : ऋग्वेदको यो भनाइले आपसी एकता र सद्भावबारे सुझाव दिन्छ । जुन श्रीमान् र श्रीमतीबीच बिनाभेदभाव निष्पक्ष र सन्तुलित सम्बन्धको आधारमा मात्र निर्माण हुनेछ भनी प्रस्ट समेत गर्दछ । जीवनसाथीको सम्बन्धमा बाँधिन चाहने दुवै व्यक्तिहरू आफ्नो मन र आत्मालाई एकजुट गराउनका लागि दुवैले आफ्नो व्यवहार अर्कोप्रति सम्मानपूर्वक समर्पित गर्ने र जीवनको सहअस्तित्व मूल्य र आवश्यकताबारे महसुस गर्न र त्यसलाई व्यवहारमा लागु गर्न भन्दछ ।

मानसिक तथा मनोवैज्ञानिक (पानी) र आध्यात्मिक, नैतिक र अहिंसारूपी (आकाश)  जस्ता प्राकृतिक रूपमै अनिवार्य मानवीय वृत्तिरूपी तत्त्वहरू पहिचान गर्ने, आफ्नो जीवनसाथीको सुख र आनन्द आफ्नो सुख र आनन्दको जग रहेको गहिरो मनन (अग्निदेव शक्ति) सफल वैवाहिक सम्बन्ध निर्माणमा जिम्मेवार रहेको पक्ष हो भन्ने प्रस्टाउने गर्दछ ।

एकता केवल शारीरिक मात्र होइन, बौद्धिक र आध्यात्मिक पनि हो भन्दै त्यसका लागि दुवै पक्षको समान र सन्तुलित साझेदारीको समझदारी अनिवार्य जरुरी हुने स्मरण गराउँछ । यस श्लोकले निष्पक्ष सम्बन्ध भनेको त्यस्तो सम्बन्ध हो । जहाँ दुवै साथीहरूले पारस्परिक सम्मान र एकीकृत उद्देश्य आपसमा समझदारीमा बाँडिएको हुन्छ । एकले अर्कालाई सबै कार्यमा एक अर्काको परिपूरक रहेर साथ र समर्थन दिने गर्दछ ।

(लेखक अथर्ववेदाचार्य हुनुहुन्छ)

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १ : ५५ बजे