साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

टान निर्वाचनले पर्यटन क्षेत्रमा चुनावी रन्को

नेपालको अर्थतन्त्रमा ठुलो हिस्सा ओगट्ने पर्यटन क्षेत्रमा चुनावी रन्को सुरु भएको छ । आगामी आइतबार हुन लागेको ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) को ४६ औँ अधिवेशनले पर्यटन क्षेत्रमा चुनावी रन्को सुरु भएको हो ।

विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण हिस्सा ओगट्ने ट्रेकिङ क्षेत्र जनताका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत र मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको सेतु समेत हो । नेपालको पर्यटन क्षेत्रमा करिब पाँच लाख जनता प्रत्यक्ष अप्रत्यक्ष ढंगले ट्रेकिङमार्फत संलग्न रहेको टानका पूर्व अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजालले बताउनुभयो ।

नेपाल पर्वतारोहण संघको महत्त्वपूर्ण हिस्सा भएकाले पनि टानको निर्वाचनप्रति व्यवसायीको मात्र होइन धेरै राजनीतिक दलको चासो छ । त्यसैले सत्तारूढ कांग्रेस मुख्यालय सानेपा, एमाले मुख्यालय च्यासल र भर्खरै विपक्षमा पुगेको माओवादी मुख्यालय पेरिसडाँडामा समेत यो निर्वाचनको बतास चलिरहेको छ ।

राजनीतिक दलको आडभरोसा बोकेर टान निर्वाचनमा दुई समूह प्यानलै बनाएर मैदानमा उत्रिएका छन् । २५ सदस्यीय कार्यसमिति चयनका लागि १५ सयभन्दा बढी सदस्यले मतदान गर्दै छन् । त्यसमध्ये १७ पदका लागि निर्वाचन हुँदै छ भने बाँकी सदस्य मनोनीत हुनेछन् । निर्वाचनमा एक पक्षको नेतृत्व राजेन्द्र सापकोटाले गरेको र उहाँलाई प्रधानमन्त्रीको दल नेकपा (एमाले) ले र सत्तारूढ दल नेपाली कांग्रेसले समर्थन गरेका छन् ।

अर्का उम्मेदवार सागर पाण्डेलाई माओवादी केन्द्रको समर्थन छ । पाण्डे नौ वर्षअघि एमाले समर्थक चन्द्र रिजालसँग अध्यक्षमा पराजित हुनुभएको थियो । नेपाल पर्यटन बोर्डको सदस्य रहेर कार्य अनुभव सँगालिसकेका सापकोटा पर्यटन क्षेत्रमा चर्चित अनुहार हुनुहुन्छ । सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्र सुवेदी मैदानमा हुनुहुन्छ । त्यस्तै सापकोटा समूहबाट रिन्जी जाङबु शेर्पा सचिव, गौतम राज वाग्ले कोषाध्यक्ष, लाक्पा टेम्बा शेर्पा सहसचिव तथा सदस्यमा सागर राई, सुमन अर्याल, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन खड्का, दावा ग्याल्त्सेन लामा, छ्याप्ते लामा र पवित्रा तामाङ उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की, प्रथम उपाध्यक्षमा दावा लामा तामाङ, द्वितीय उपाध्यक्षमा निशेष थापा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा हुनुहुन्छ । वैदेशिक रोजगारीका लागि विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्न पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले २०३५ सालमा बनेको पर्यटन ऐन समयानुकूल संशोधन गर्न आवश्यक भएकोमा व्यवसायीहरु एकमत देखिएकाले अहिले सत्तारूढ उम्मेदवारहरुलाई निर्वाचन जित्न सहज हुने चर्चा व्यवसायीबीच चलेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ३ : ४५ बजे