साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सीमा क्षेत्रमा खटिँदा इमान्दारिताको प्रतीक बन्न महानिरीक्षक अर्यालको निर्देशन

सुनसरी । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दारिताको प्रतीक बन्न निर्देशन दिनुभएको छ ।

भदौ १३ गते सशस्त्र प्रहरी बल, नेपाल नंं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी मातहत सीमामा तैनाथ सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुको निरीक्षण भ्रमणका क्रममा महाननिरीक्षक अर्यालले सो निर्देशन दिनुभएको हो ।

सीमा सुरक्षामा खटिँदा सशस्त्र प्रहरी कर्मचारीहरु विशेष चनाखो भई कार्य गर्न निर्देशन दिनुहुँदै उहाँले सीमामा हुने अवैध क्रियाकलापहरुलाई रोक्न तथा राजस्व संकलनमा समेत अहम् भूमिका निर्वाह गर्दै उत्कृष्ट कार्य गर्न निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले झापा र मोरङका सीमा इलाकामा तैनाथ विभिन्न युनिटहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न लोभलालच भन्दा माथि उठेर राष्ट्र र संगठनको सान, मान, प्रतिष्ठा र इज्जत बढाउनको लागि उत्कृष्ट तवरमा परिचालित रहन निर्देशन दिनुभयो ।

सोही अवसरमा महानिरीक्षक अर्यालले मेची भन्सार कार्यालय झापाका प्रमुख लगायत अन्य कर्मचारीहरुसँग राजस्व संकलन वृद्धिका विषयमा छलफल गर्नुभएको थियो । उहाँले चोरीनिकासी तथा पैठारी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालयका कर्मचारी लगायत सम्बन्धित अन्य सरोकारवाला निकायहरुसँगको सहकार्य र समन्वय कायम राख्दै यसलाई अझै प्रभावकारी रुपमा कार्य गर्नुपर्ने बताउनुभयो ।

यसैगरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापाको समेत निरीक्षण गर्नुभई प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरु अनुशासनमा रही इमान्दारितापूर्वक देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्षेत्रमा खटिँदा बर्दीको आडमा हुने कुनै पनि गल्ती क्षम्य नहुने बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो, ‘बर्दीको इज्जत राख्दै इमान्दारिताका साथ कार्य गर्नुस्, असहज परिस्थितिमा स्थापना भएको फौजले असहज परिस्थितिमा नै कार्य गर्ने हो ।’

उहाँले जस्तोसुकै अवस्था र परिस्थितिमा पनि काम गर्न सक्छु भन्ने भावना लिएर अगाडि बढ्दै देश र जनताको सेवा र सुरक्षाका लागि सीमा इलाकामा तैनाथ रहँदा राष्ट्र र संगठनको आवश्यकता र हितलाई ध्यानमा राखी कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ११ : २२ बजे