साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नाडाको कुम्भ मेलामा चिनियाँ गाडीको वर्चश्व : कति छ मूल्य र के–के छन् विशेषता ?

काठमाडौँ । भृकुटीमण्डपमा आयोजित नाडा अटो शो, २०२४ यतिबेला गाडी पारखीहरूका लागि कुम्भमेलाका रूपमा चर्चित छ । सवारी साधन प्रदर्शनको विशाल मेलाका रूपमा लिइने अटो शोमा यसपटक ईभी सवारीको दबदबा छ । त्यसमा पनि चिनियाँ ब्रान्डका सवारी साधनको एकलौटी प्रदर्शन भइरहेको भान हुन्छ ।

त्यसो त केही पुराना ईभी ब्रान्ड लगायत यसपटकको नाडा अटो शोमा करिब १ दर्जन हाराहारी नयाँ ईभी ब्रान्डले प्रवेश पाएको छ । जसमध्ये स्काइवेल, जिकर, एक्सपेङ, जेको, लिपमोटर्स, अवतार, नामी, रिडारा, बीएडब्लू, ट्राइम्फ, काइवी, कामा, स्काईवोर्थ, हाइगरजस्ता नयाँ ईभी ब्रान्ड नाडा अटो शोकै अवसरमा नेपाल भित्रिएको देखिन्छ ।

सो अटो शोमा ई–क्युट १९ लाख ९६ हजार रुपैयाँदेखि एमजीको साइवस्टर १ करोड ७० लाख रुपैयाँसम्मका गाडी उपलब्ध छन् । यो प्रदर्शनीमा विशेषगरी विद्युतीय सवारी (ईभी) ब्रान्डका ‘स्काईवेल’ नाडा अटो शोको विशेष आकर्षण बनेको छ ।
स्काईवेलले ६२० किलोमिटर, ५२० किलोमिटर र ४१० किलोमिटर रेन्जका दुई मोडलका तीन भेरियन्ट राखेको छ । उक्त गाडीमध्ये बीई ११ को रेन्ज ४१० किलोमिटर र ५२० किलोमिटरको भेरियन्टमा उपलब्ध रहेका छन् ।

जी मोटर्सले यी तीनवटै प्रिमियम ईभी एसयूभीको खरिदमा नाडा अटो शो अवधिमा खरिद गरे ५ लाख रुपैयाँ छुट दिने बताएको छ । अटो शोकै अवसरमा चिनियाँ नयाँ ईभी ब्राण्ड ‘नामी’ नेपाल भित्रिएको छ । एमएडब्लू वृद्धिले औपचारिक रूपमा नामीलाई नेपाल प्रवेश गराएको हो । अटो शोमा प्रदर्शन गरिएको यो कार अवलोकनकर्ताको आकर्षण केन्द्र बनिरहेको छ । नामी ई–१, ई–२ र ई–३ गरी तीनवटा भेरियन्टमा सार्वजनिक भएको गाडीको मूल्य क्रमशः २९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै अटो शोमा काइवीको ह्याचब्याक सेग्मेन्टका दुईवटा मोडल ‘काइवी ईक्यु ०२ र ईक्यु ०४’ सार्वजनिक भएका छन् । ४० किलोवाट मोटर क्षमताको यी मोडलको मूल्य क्रमशः २३ लाख ९६ हजार रुपैयाँ र २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी एलआरआर ग्रुपले बेइजिङ अटोमोबाइल वर्क (बीएडब्लु) को ईभी उत्पादन ‘ब्रम्बी’ ह्याचब्याक गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । १७.२८ किलोवाट आवर ब्याट्री क्षमता र ३० किलोवाट पिकपावर मोटर रहेको ब्रम्बीको मूल्य २१ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

शोमा बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले ‘अट्टो ३ को ब्ल्याक कसमस’ सार्वजनिक गरेको छ । नाडा अटो शोको अवसरमा अट्टो कसमस सार्वजनिक गरेको कम्पनीले १०० किलोवाट मोटर पावरमा दुई वटा ब्याट्री अप्सन दिएको छ ।

यसपटकको अटो शोमा तीनवटा नयाँ र तीनवटा पुराना ईभी ब्रान्डसहित सीजी समूहले कुल छ वटा ब्रान्डको दमदार प्रदर्शन गरिरहेको छ । सीजी ग्रुप अन्तर्गत एक्सपेङ, रेडारा, अवतार नयाँ ब्रान्ड हुन् भने कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको नेटा, जीएमसी एवोन र किंलङ माइक्रोबसलाई समेत नयाँ भेरियसनका रूपमा अटो शोमा उतारेको छ ।
लिपमोटर्स सी–१० ग्रुप अन्तर्गतको सांग्रिला मोटर्सले बहुचर्चित ईभी ब्रान्डको लिपमोटर्सको सी–१० लाई नेपाली बजारमा उतारेको हो । ६९.९ किलोवाट आवर ब्याट्री क्षमतामा १६० किलोवाट पावर मोटरसहितको पावरफूल एसयूभी सी–१० को मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

अटो शोकै दौरानमा टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी मोटर्सले टाटा पन्च सार्वजनिक गरेको छ । बहुप्रतिक्षित मानिएको टाटा पन्चलाई कम्पनीले सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा बजारमा उतारेको छ ।

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि मोटर्सले बजारमा महिन्द्रा एक्सयूभी ४०० ईभी ल्याएको छ । नाडा अटो शोअघि आएको यस सेग्मेन्टमा ३४.५ र ३९.४ किलोवाट आवर ब्याट्री क्षमतामा ३९.४ किलोवाट पावर मोटर जडान गरिएको छ । यी दुई भेरियन्टले सिंगल चार्जमा ३५९ देखि ४५६ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ६ : १३ बजे