‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रकाशलाई भोलिको दिनमा हात फिजाएर हैन नङ्‍ग्रा खियाएर बाँच्न सिकाऊ ?

यति बेला सामाजिक संजालमा विद्या चापागाईले उत्पादन गर्ने हेर्ने कथाको ‘हराएका वर्षहरू’ खुबै भाइरल बनिरहेको छ । विषय र सन्दर्भ उठान प्रत्येक भागमा समाजको बेथिती ओकल्ने खालकै हुन्छन् । समाजको विषमान परिस्थितिसँग जुझिरहेका अल्पसंख्यक मध्येका प्रतिनिधि पात्रको छनोट उत्कृष्ट छ । जीवन संघर्षका कथाहरूले जोसुकैको पनि मन जित्न सक्छन् ।
अब कुरा गरौं काले तामाङ (मोक्तान) उर्फ प्रकाशको । काठमाडौँको जोरपाटीबाट १० वर्षको उमेरमा २०५१ सालमा हराएपछि चौरीगोठको दुःखद बसाइ, परिवारविहीन जिन्दगीको यथार्थ चित्रण ज्यादै मार्मिक र सान्दर्भिक छ । पारिवारिक विछोड र ३५ वर्षपछिको मिलनसँग चौरीगोठ, झापा हुँदै भोजपुरमा गएर टुंगिन्छ । विगत र वर्तमानको दर्दनाक कथा उत्कृष्ट फिल्मी शैलीमा प्रस्तुत छ ।

सेन्मिखाको कथा, चेपाको कथा, दिदीबहिनीको कथा, राउटेको कथा, भेँडीगोठको कथा, कोइला खानीको कथा, असफलताको कथा, गाउँको कथा, औषधीको अस्पताल यात्रा, कुमाउको कथा, हराएको बाटोको कथा लगायत उनले प्रकाशमा ल्याएका विषयवस्तु नेपाली समाजमा दैनिकजसो उब्जने प्रतिनिधि प्रश्नहरू हुन् ।

कान्छी दिदीसँग गलैँचा बुन्न भनेर बालखैमा काठमाडौँ आएका तामाङ जोरपाटीबाट हराए । पूर्वी तराईको मान्छे कसरी हिमालमा पुगे, उनी स्वयं अनुत्तरित छन् । आफ्नो उमेरको ३५ वर्ष काला पहाडले घेरेको कुना–कन्दरामा चौरी र भेँडाको गोठालो गर्दैमा बित्यो । हिउँ परेपछि मात्र सेता हुने ती अनकन्टार पहाडमा भेँडा, चौरीगाई र कहिलेकाहीँ भेट हुने गोठालाबाहेक उनले केही पनि देखेनन् । दिनभर भनौँ या विपनामा प्रकृतिको छटा, वन्यजन्तु, पशुपन्छीबाहेक सपनामा कहिलेकाहीँ जन्मदिने बाआमा मात्रै देख्ने प्रकाशको कथाले हृदय विदारक अवश्य बनाउँछ ।

कथाले अति नै भावुक बनाउँछ । उनले लज्जावती झारले आँखा चिम्लेको देख्छन्, आँपको स्वाद लिन्छन्, रसबरीलाई आलु भन्छन्, बिग्रेर फालेको मोटरसाइकललाई मरेको भन्छन्, सूर्यमुखी फूललाई देखेर अचम्म मान्छन्– मानौं कि कुनै एक अबोध बालकले सोध्ने अनेकन अपुष्ट प्रश्नजस्तै । बेलाबखत फिल्म र त्यसका एक लाइन गीत पनि सम्झन भ्याउँछन् । क्यामेरावाला मोबाइलको भरपुर सदुपयोग गर्न पनि पछि पर्दैनन् । जीवनको यथार्थ चित्रण यति गम्भीर देखिन्छ कि यसको शब्दकोशमा शब्दको बयान कम हुन्छ । दशकौँपछि डोजर देखे, ठुला सडक, ठुला घर, ठुला खोला र नदी देखे । आफ्ना बाआमा जिउँदै छन् या मृत, आफन्त भेटिन्छन् कि भेटिँदैनन् भन्दै लेकबाट चिसिएको मनमा आशाको दियो बालेर गाडीमा सवार आफूलाई पाउँछन् । झिनो अनि न्यानो किरणको गर्मीसँगै जीवनको पहिलो अनुभव सफा होटलमा बास बस्छन् । आफैँ अनौठो मान्दै प्रकृति चिन्ने सौभाग्यशाली व्यक्ति बन्न खोजे जस्तो पनि गर्छन् । उनले गोलभेँडा झैँ देखिने करेलाका बोट देख्छन्, जाँड÷छ्याङझैँ लाग्ने नरिबल पानीको स्वाद लिन्छन्, लामो घाँटी भएको बकुल्ला देख्छन्, बालखैमा दाउराको भारी बिसाएको पीपलको रूख सम्झिन्छन्, चिहान घारीको याद दिन्छन् र चारैतिर काला पत्थर देख्ने आँखाले दिदीबहिनी, बाआमा सम्झेर दुई थोपा आँसु पनि खसाउँछन् । विद्याजीको टिम र प्रकाश तामाङ झापाको तीनकट्ठे पुगेर बाटामा एकजना पाका मान्छेलाई सोध्दा आमा मरिसकेको कुरा बताउँछन् । तीनकट्ठेमा भएको आफन्तको घरमा पुग्दा आमा मरिसकेको कसैले भन्दैनन् बरु बाआमा भोजपुरमा भएको कुरा बताउँदै उनीहरूको फोटो देखाउँदा उनले बालाई चिनिहाल्छन् ।

कथाले भावुक र रोचक मोड लिन्छ । पाका ‘प्रकाश’ को उमेर कालापत्थर बीच बितिरहँदा आशाका केही किरणले उनलाई आफ्नो जन्म गाउँ हुँदै परिवारसम्म डोहोर्‍याएर पुर्‍याउँछ । भोजपुर पुग्छन्, आफूसँग गुच्चा खेल्ने साथी मतलव बालसखा भाइ रिट्ठेसँगको संवादले एक ढिक्का आँसु जोसुकैको पनि खस्छ । भाइलाई प्रश्न गर्छन्– झाँक्री बाजेको घर यही हो ?
म तेरो दाइ हो त ! भनेर परिचय दिएपछिको उत्पन्न सन्नाटा बयान गरी साध्य छैन । करिबकरिब ४४÷४५ वर्ष पछि उनले जन्मदिने बाआमा भेट्छन्, अगाडि भएकी आमालाई चिन्दैनन्, आमाले मै हुँ आमा भन्छिन्…..! बाउको अनुहार याद भएका प्रकाशलाई आमाको अनुहार चैँ थाहा रहेनछ ….! बच्चाजस्तै बनेर क्वाँ क्वाँ रून्छन् । वर्षौं हराएको समय न आए पनि उनको जीवनमा बालापन आएको महसुस गर्छन् । उपस्थित सबै आफन्तसँग एकैछिनमा परिचित बन्दा उनको मुहारको चमकले वास्तवमा प्रकाश बनेको अनुभूति गर्छन् । माछा मार्ने, पौडी खेल्ने दिनको याद गर्छन्, च्यानघारी, देउरी खोला र सगरमाथा बजारको स्वरूप देखेर तिनछक पर्छन् । साथीभाइसँग खेलेका याद, दाजुभाइ, दिदिबहिनी, बाआमाको काखबाट हराएको व्यथाले विरक्तिएको मुहारमा फेरि उही बालखैको उमेर फिरेको प्रचुर अनुभूत गर्छन् । जन्मँदा उनको घर थियो, थर थियो, परिस्थितिले कुहिरोको कागजस्तै हराउनुपर्‍यो ।

हराएसँगै नाम, थर र घर पनि हरायो ।

कसैको सहारामा नाम, घर र थर खोज्ने क्रममा अहिले कालेको नाम भेट्टिएको छ । थर भेट्टिएको छ । घर भेट्टिएको छ । परिवार भेट्टिएको छ । कालेको धुम्म अनुहारमा प्रकाश आएको छ । विद्याजीको खोज पत्रकारितालाई हामीले बिर्सनु हुँदैन ।
अब विषय फेरि मोड्छु– सवाल छ डेमागगहरूको ?

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यो सन्दर्भ सामग्री हेरेपछि सामाजिक सञ्जालमा यसो भन्नुहुन्छ–
‘शुभ बिहानी !! हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि विद्या चापागाईं र प्रकाश तामाङसँग सचिवालयको सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

देशको शक्तिशाली वा कार्यकारी व्यक्ति प्रधानमन्त्रीले भनेपछि प्रकाशले न्याय पाउलान् भन्नेमा आशा गरौं । प्रकाश एक प्रतिनिधि पात्र मात्रै हुन् भन्ने उहाँले भुल्नु हुँदैन जस्तो लाग्छ मलाई । टेलिभिजन र युट्युबबाट अहिले आउने सामाजिक न्याय सम्बन्धका के कति मुद्दाले किनारा पाए भन्ने महत्त्वपूर्ण विषय छ । विद्याले नै उत्पादन गर्ने हेर्ने कथाकै कैयन भागहरू जस्तै ः सेन्मिखाको कथा, चेपाको कथा, दिदी–बहिनीको कथा, राउटेको कथा, भेँडीगोठको कथा, कोइला खानीको कथा, असफलताको कथा, गाउँको कथा, औषधीको अस्पताल यात्रा, कुमाउको कथा, हराएको बाटोको कथा आदिका पात्रहरूले विगतमा भोगेको कष्टकर जीवनबाट छुटकारा पाए ?

उल्लिखित विषयमा प्रकाशनमा ल्याएका विषयवस्तु नेपाली समाजमा दैनिकजसो उब्जने प्रतिनिधि प्रश्नहरू हुन् । यिनीहरूको जीवन भोगाइमा केही परिवर्तन आएको छ ? यो अनेकौं प्रश्नमध्येको एक हो ।
प्रधानमन्त्री फेरि लेख्नुहुन्छ–

‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ । चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ ।

हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान) को परिवारसँग मिलनको दृश्यले आँसु आयो । सोचेँ– यस्ता कति प्रकाशहरू वर्षौंदेखि हराएका होलान् ! एकपटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु । विद्या प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरू कयौं कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्नेछु । यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकामा हेर्ने कथा टिमलाई धन्यवाद !!’
प्रकाशका मातापिता जिउँदै छन् । रेडियो र टेलिभिजनमा २०५१ सालमै बालक हराएको सूचना प्रकाशित भइसकेको प्रमाण र अहिले स्वयं उनी सम्बन्धित निकायमा जाँदा उनले वंशजको आधारमा नागरिकता पाउनेमा कुनै शंका छैन । यदि समस्या हुन्छ भने के कसरी हुन्छ ? तर प्रधानमन्त्रीले मानवीय संवेदना पक्रनुभयो र नागरिकतालाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित निकायलाई तत्कालै निर्देशन पनि दिनुभयो । केपी ओली शर्माले नागरिकताका बारेमा गृह सचिवलाई निर्देशन दिँदैगर्दा ३५ वर्षसम्म उनले काम गरेको भेँडीगोठ÷चौरीगोठ सञ्चालकसँग पारिश्रमिक बापतको रकम दिलाउनका निमित्त श्रम सचिवलाई निर्देशन दिनुभयो ? उनको हकको बारेमा चैँ खोई चासो दिनुभएको ? प्रकाशलाई तत्काल चाहिएको आफ्नो पहिचानसहितको परिचय हो । आंकुशे सही ठाउँमा लगाउनुभयो प्रधानमन्त्रीले । अब प्रकाशले बुझ्नेछन् नागरिकता केपी ओली शर्माले दिलाइदिनुभयो । मैले प्रधानमन्त्रीको कामको विरोध हैन लोकप्रियतासँग जोडेको ।

प्रधानमन्त्रीसँग मेरो विनम्र अनुरोध छ– ३५ वर्षदेखि बन्धक बनाएर काम गराउने भेँडीगोठ/चौरीगोठ सञ्चालकलाई सो समयमा श्रम ऐन बमोजिम पाउने तलब भत्ताको उचित ब्याजसहित ज्याला र जरिवाना भराउन आदेश दिनुहोला ? उनका साहुबाट प्राप्त हुने रकमले उनको एकल जीवन धान्न पर्याप्त हुनेछ । मेरो आशय के भने हरेक विषयमा समवेदनाको राजनीति गर्न बन्द गरौँ ?
सधैँ लोकप्रियताको पछि दगुर्ने पूर्व पर्यटनमन्त्री अर्थात् भोजपुरका सांसद सुदन किराँती सामाजिक सञ्जालमा लेख्नुहुन्छ–
(हुबहु) ‘उँभैउँभो उडी गएको बेठेगान बादलजस्तै, हिमालसँगै आधा जीवन बाँचेर
पग्ली झरेको पानीजस्तै बग्दैबग्दै फेरि आइपुगेको छ आफ्नै समुद्रमा ऊ !

विद्या चापागाईं र उहाँको टिमले ‘हेर्ने कथा’ को माध्यमबाट भोजपुरे प्रकाश तामाङ ‘काले’ लाई भोजपुर फर्काउनुभएकामा हामी भोजपुरेको तर्फबाट शिर झुकाएर नमन ज्ञापन गर्छौं । प्रकाशको यो अनौठो कथाले विश्वभरि रहेका नेपालीको मन एकै ठाउँमा तानेको छ । साथै विभिन्न पहलहरू पनि सुरु भएको होला तर पहिलो सर्त प्रकाशलाई हामीले तत्काल पुनःस्थापना गर्नुपर्ने भएकाले स्थानीय साथीहरूको सक्रिय पहलमा मेरो संयोजकत्व रहने गरी नेकपा (माओवादी केन्द्र) को तर्फबाट श्रमदानबाटै एउटा घर, एउटा शौचालय, केही लत्ताकपडा र छ महिना खाने (गाँस, बास र कपास) जस्ता आधारभूत कुरा पहिलो चरणमा बन्दोबस्त गर्ने निर्णय भएको छ । यो जिम्मेवारी म कुनै पनि हालतमा पुरा गर्नेछु । अन्तमा ठूलो हृदय बोकेर बाँच्ने जग्गा दाता, समाजसेवी हाम्रो पार्टीको केन्द्रीय सदस्य एवं गोर्खा भूपू सैनिक (गेसो) को अध्यक्ष ऐजन निवासी ’कृष्ण कुमार राई’ प्रति आभार व्यक्त गर्दछौं । पहिला पुनःस्थापना गरौँ, बाँकी अरू सल्लाह गर्दै जाउँला !

नेपाली उखान छ, ‘एक थुकी सुकी, सय थुकी नदी’ मन भएका सबै साथीहरू सम्पर्कमा बसौँ, भौतिक रूपमा मसँगै खट्न चाहने साथीहरूलाई पनि हृदयदेखि नै स्वागत गर्दछु ।’

सुदन किराँतीमाथि म अहिलेलाई एउटा प्रश्नको जवाफ माग्दै छु । ‘चखेवा भन्ज्याङमा भेँडा चराउने सेन्मिखा राईको जीवनमा केही परिवर्तन आएको छ ?’ दुई÷तीन वर्षअघि विद्याजीले नै प्रसारण गरेको सेन्मिखाको कथा पश्चात् उनी अहिले कुन अवस्थामा छन् ? सायद किराँतीलाई थाहा नहुन सक्छ ।

घर बनाइदिइहाल्नुपर्ने, बैंक खाता खोलिहाल्नुपर्ने, नोकरीमा भर्ती भइहाल्नुपर्ने के को हतार छ ? प्रकाशलाई श्रमको शिक्षाको खाँचो देख्छु मचाहिँ । देशमा अझै कति प्रकाश जस्ता आफैँसँग हराएका पात्र तराई पहाडी र हिमाली भेगको गर्मी÷चिसोमा छाती चिरेर तातो÷चिसो बताससँग लुछाचुडी गरिरहेका होलान् । प्रकाश तामाङ (काले मोक्तान) प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै आवाज विहीनको आवाज बनेर सकिन्छ भने,
–अब प्रकाश जस्ताको नागरिकता नहराओस् ।
– सञ्चालकबाट हराएका वर्षहरूको मूल्य मिलान होस् ।
– आफ्नाहरूको भिडमा परिचय र पहिचान होस् ।
– आफ्नो सीप अनुसारको गरिखाने बाटो होस् ।
– राज्यले नहराएका र हराएकाहरूको वर्षको स्मरणमा कथा भन्नु नपरोस् ।

साधारण रूपमै हुने कुराहरूमा अनावश्यक स्टन्ट गरेर भाइरल बेगमा बग्न खोजेका छन् सहयोगको नाममा लोकप्रियता बटुल्नेहरू । अहिले प्रकाश तामाङलाई सहयोग गर्नेको लर्को लागेको छ । मानौँ उनी रोडपतिबाट करोडपति बन्दै छन् । कसैले नोकरी दिने, कसैले आर्थिक सहयोग गर्ने, कसैले घरजग्गा दिने । अब जीवनभर निःशुल्क श्रम गरेर बसेको एक पात्र भाइरल भएपछि उसका पक्षमा वकालत सुरु भएका छन् ।

षडानन्द नगरपालिका–१० छाप्ले गाउँका हुन् प्रकाश । त्यहाँका पालिकाप्रमुखले अबको चार–पाँच दिनमा प्रकाशको नागरिकता बन्ने र अहिले बिरामी अवस्थामा रहनुभएका प्रकाशका बुबाको उपचार र घर निर्माणको कार्य अगाडि बढाउने प्रतिबद्धता केन्द्रीय नेताकै भाषामा जाहेर गरे ।

लोकप्रियताको निम्ति सहयोगको वचन दिनेको लहड नै चलेको छ यतिबेला । कोशी प्रदेशका मुख्यमन्त्रीले उनलाई कृषि क्षेत्रमा आवश्यक सहयोग जुटाउने प्रतिबद्धता सार्वजनिक रूपमै उद्घोष गर्न पछि परेनन् ।

यति लेख्दै गर्दा म पनि सकेको सहयोग उनलाई गरौँला तर मैले गरेको सहयोगले उनलाई अल्छी बनाउँछ । आशामुखी बनाउँछ । परनिर्भर बनाउँछ । पैसा संकलन गर्ने कुरामा म सहमत छैन भन्छु । किनकि उनी अहिलेसम्म मज्जाले काम गर्न सक्छन्, दह्रा छन्, हातखुट्टा चल्छन्, कडा परिश्रम गर्न सक्छन् । त्यसैले उनलाई आत्मनिर्भर बन्ने काम दिऊँ ।

किन पैसा उठाएर दिने ? भन्ने विषयमा मेरो मत भिन्न छ । उनले साढे तीन दशक जुन ठाउँमा पसिना बगाए त्यहाँबाट मेहनतको फल असुल्न सहयोग गरौँ । राज्यले तोकेको न्यूनतम पारिश्रमिक दिलाउने हो भने उनको घर आफ्नै रकमले बन्छ । गाउँमा खेतबारी जोडिन्छ । गाईभैँसी किन्न पुग्छ । अनि आनन्दको जिन्दगी चलाउने रकम पनि उनीसँग थोरबहुत हुन्छ ।

डीगोठ÷चौरीगोठ सञ्चालकले गरेको बालश्रम शोषणको कुरा उठाऔँ र उनलाई न्याय दिलाऊँ । आफ्ना छोराहरूलाई स्वदेश विदेश पठाउने, त्यो अबोध १० वर्षको बच्चालाई बिनापारिश्रमिक काममा लगाउने लाई न्यायिक निकायमा उभ्याउन सहयोग गरौँ जसका कारण भोलि हजारौं प्रकाशहरू शोषणमा पर्ने छैनन् ।

मेरो आग्रहचाहिँ के हो भने डेमागग प्रवृत्ति यसैलाई भनिन्छ । यो तत्काललाई फाइदा हुन्छ तर दीर्घकालीन असर कुनै क्यान्सरभन्दा भयानक हुन्छ । अरू सस्तो लोकप्रियता कमाउन अग्रसरता देखाउने निजी नाम उल्लेख गर्ने हो भने यो आलेख हैन पुराण बन्छ । त्यसैले म भन्छु– प्रकाशलाई उनको श्रम शिक्षा र गरेको पेसामा समाहित गर्न लागी परौँ । ताकि भोलिको दिनमा हात फिजाएर हैन नंग्रा खियाएर बाँच्न सिकाऊँ ?

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १ : ०६ बजे